सम्पादकीय
केही दिन यता मधेश धार्मिक विषयमा उब्जिएको विवाद र तनावले अशान्त रह्यो । त्यो पनि एक टिकटक भिडियोको निहुँमा हिन्दु र मुस्लिम धर्मालम्बी बिच विवाद चर्किदै गयो । हिन्दुहरूको रक्षाबन्धन पर्वप्रति दुई युवकले टिकटकमा नकारात्मक भिडियो पोस्ट गरेकै विषयलाई लिएर तनाव सिर्जना भयो । गत शनिबार धनुषाको कमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलस्थित मस्जिदमा तोडफोड र कुरान जलाइयो । जसको बिरोधमा वीरगन्जमा आइतबारदेखि सुरु भएको आन्दोलन सोमबार बिहान झन् चर्किएपछि परिस्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला प्रशासन कार्यालय पर्साले कफ्र्यु समेत लगाउनु प¥यो । धार्मिक सद्भाव खलबल्याउने दुई युवकलाई प्रहरीले पक्राउ गरेर कारबाहीको प्रक्रिया सुरु गरिसकेको छ । बुधवारदेखि मधेश केही शान्त पनि देखिएको छ ।
धार्मिक विषय माथिको कुनै पनि विवाद या टिप्पणी या घटना बडो गम्भीर र संवेदनशील कुरा हो । यसमा दुई युवकले जसरी सामाजिक सञ्जाल टिकटकमा हिन्दुहरुलाई मजाकको पात्र बनाए । यो कुनै खेलवाड गर्ने विषय थिएन । यसमा उनीहरुको हिन्दु धर्म र यसमा आस्थावानहरुलाई गलत र मजाकको पात्र बनाउने, अपमान गर्ने नियत नै थियो कि थिएन ? त्यो प्रहरी अनुसन्धानले देखाउँला । तर, यो सामान्य विषय चाहीँ होइन । त्यही विषयले प्रदर्शन, मस्जिदमा तोडफोड र आगजनी, हिन्दु र मुस्लिम समुदायको समानान्तर प्रदर्शन, प्रशासनद्धारा कफ्र्यु आदेश, त्यसले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा पु¥याएको खलल असामान्य छ । वर्षौँदेखि मिलेर बसेको समाजमा केही व्यक्तिले आफ्ना स्वार्थमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पु¥याउने काम यसअघि पनि नभएका होइनन् । तर, अहिलेको मुलुकको समय अलि जटिल खालको छ । देशमा अन्तरिम सरकार छ, निर्वाचन घोषणा भएको छ, र पनि राजनीतिक अस्थिरताको भय र त्रासमा छ । यस्तो बेलामा यी र यस्ता संदेशनील विषयमा गरिने उश्रृंखल गतिविधिले मुलुकको शान्ति, सुरक्षामा गम्भीर चुनौती पैदा गर्छन् ।
नेपाल अहिले धर्म निरपेक्ष देश हो । जहाँ सबै धर्मालम्बीहरु समान छन् । एकले अर्को धर्मालम्बीलाई सोही अनुसार सम्मान गर्छन्, गर्नुपर्छ । तर, कुनै पनि विषय र बाहनामा एकले अर्को धर्मको खिल्ली उडाउने, मजाक उपहास गर्ने प्रवृत्ति आपत्तिजनक छ । नेपाली समाज सदियौँदेखि आपसी सद्भाव, सहिष्णुता र एक–अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जनजाति, संस्कृति, धर्म एवं सम्प्रदाय एक–आपसमा मिलेर बसेको समाज हो । तर, केही समययता तराई मधेशका केही स्थानमा धार्मिक सम्प्रदायबिच दंगा फैलाउने दुश्प्रयास छिपेको छैन । अतः तत्काल सद्भाव र सहअस्तित्वको समेत रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन सबै पक्ष सचेत हुनुपर्छ । सामाजिक सञ्जाल पछिल्लो समय लोकप्रिय माध्यम भएकाले यस्ता पल्याटफर्महरुको पनि दुरुपयोग गर्ने, अरूको धर्म तथा समुदायप्रति द्वेष फैलाउने जस्ता कार्य रोकिनु पर्छ । आवेग र उत्तेजनाबाट होइन, संवाद र सहकार्यबाटै समस्याको समाधान खोजिनु पर्छ । आपसी सद्भाव र मैत्री कायम गर्न सबै पक्ष संवेदनशील र जिम्मेवार बन्न आवश्यक छ ।
