• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

पार्टी परिवर्तनको लहड

सम्पादकीय
संघीय संसदको निर्वाचन नजिकिँदो छ । गत भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलन पश्चात आगामी २०८४ सालमा हुने नियमित निर्वाचन ०८२ मै आइपुगेको छ । निर्वाचनका लागि गैरदलिय अन्तरिम सरकार देशमा गठन छ । यद्यपि, पछिल्लो समय वर्तमान सरकारमा रहेकाहरु पनि प्रत्यक्ष अप्रत्यक्ष नयाँ वैकल्पिक पार्टीहरुमा संलग्न भएकाले सुशिला कार्की नेतृत्वको सरकारको पनि आलोचना भइरहेको छ । भौतिक योजना, उर्जा लगायत तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ त राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति भए पछि राजीनामा दिन बाध्य भएका छन् । अरु दुई मन्त्री सञ्चार मन्त्री जगदिश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ताको पनि राजनीतिमा सक्रियता देखिएकाले राजीनामाको माग भइरहेको छ ।

निर्दलीय सरकार भए पनि विस्तारै दलिय जस्तो देखिन थाल्दा पुरै देश चुनावमय बन्न थालेको छ । चुनाव हुँदैन कि भन्ने संशय क्रमशः हट्दै गएको छ । अर्कोतर्फ चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक गतिविधि बढ्दै गएको छ । बिभिन्न राजनीतिक दलमा सक्रिय, स्वतन्त्र भनिएका व्यक्तिहरु पनि नयाँदेखि पुरानो एक अर्को राजनीतिक दलमा प्रवेश गर्ने होड चल्न थालेको छ । भइरहेकोमा अवसर या टिकट नपाउने, अर्को दलमा जाँदा झ्याप्प अवसर पाउने आशाले धेरैले यतिबेला राजनीतिक दल हेरफेर गर्छन् । चुनाव नजिकिँदै गर्दा यस्तो परिपाटी अझ मधेसवादी दलका नेताहरू एक पार्टीबाट अर्को पार्टीमा जान्छन् । थारुहट आन्दोलनको नेतृत्वकर्ता मध्येका एक लक्ष्मण थारु, सुरेन्द्र चौधरी लगायतका नेताहरू नागरिक उन्मुक्ति पार्टी छाडेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । अहिले सबै भन्दा धेरै आकर्षण र लहर राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिन्छ । अझ स्वतन्त्र राजनीतिबाट उदाएका काठमाडौं महानगरका मेयर बालेन शाह, लोडसेडिङ मुक्त बनाउन भूमिका खेलेका कुलमान घिसिङ वैकल्पिक राजनीति दलको रुपमा उदाएको रााष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे पछि रास्वपामा प्रवेश गर्नेको लहर देखिएको छ । भलै यो कति सम्म टिकाउ हुन्छ ? हेर्न बाँकी छ ।द्वद्व अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संगठन मधेसमा कमजोर छ । त्यहाँबाट चुनाव जित्ने सम्भावना नदेखेपछि राजेन्द्र श्रेष्ठलगायतका नेताहरू प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गरिसकेका छन् भने रेणु यादव, प्रदीप यादवलगायतका नेताहरू जसपा नेपालमा प्रवेश गरेका छन् । मंगलबारमात्रै नेकपा छाडेर सप्तरीका नेता उमेश यादव पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरे । त्यस्तै एमालेमा रहेका बृजेश गुप्तासमेत जसपा नेपालमै प्रवेश गर्ने तयारीमा छन् । संगठनात्मक रूपमा निकै कमजोर रहेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृशेषचन्द्र लालले आ–आफ्नो पार्टीलाई लोसपा नेपालमा विलय गराइसकेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सर्लाहीका प्रमोद साह पनि जसपा नेपाल छाडेर नेकपामा प्रवेश गरेका छन् । बाराका प्रमोद गुप्ता जसपा छाडेर जनमत पार्टीमा प्रवेश गरिसकेका छन् । जसपा नेपालका नेता विकास तिवारी (सप्तरी)े पार्टी छाडेर राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् ।

कुनै राजनीतिक दलमा आस्था राख्नु र त्यसको विचार, सिद्धान्त, निष्ठामा नेतृत्व दृढ नहुँदा दल छोड्नु कुनै अनौठो विषय होइन । तर, हामीकहाँ विचार, सिद्धान्त जस्ता विषयमा भन्दा अरु बिभिन्न स्वार्थहरुको टकराव र महत्वकांक्षाका कारण पार्टी छोड्ने र जोडिने प्रवृत्ति व्यापक देखिन्छ । अझ चुनाव आउँदै गर्दा फेरबदलको खेल अझ बढ्छ । अवसर जहाँबाट पाउने सम्भावना हुन्छ, उनीहरू त्यहीँ जाने धेरै हुन्छन् । चुनावको खेल र अवसरको खोजीका लागि मात्रै पार्टी परिवर्तन गर्ने प्रति गलत हो । यो मुलुकको स्थिरता, विकास र समृद्धिका लागि घातक कदम हो । आज अवसरका लागि जुन दलमा पनि तथानाम भन्दै जाने तर, अवसर नपाए पछि फेरि तथानाम भन्ने प्रवृत्ति पनि गलत छ । यी र यस्ता सवालमा समिक्षा गरेर क्षणिक र व्यक्तिगत स्वार्थमा देश लिप्त बनाउने कुराको साक्षी बस्न सकिदैन । राजनीतिमा सेवा गर्ने सोचभन्दा बढी कमाउने सोच हावी भएकाले अब यस्तो खराब पात्र र प्रवृत्तिलाई क्रमशः निरुत्साहित गर्दै जानुपर्छ ।