• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

एकता सहकारीको अध्यक्षमा राजभण्डारी र केसी भिड्ने

बागलुङ । एकता सहकारी संस्था लिमिटेड बागलुङको २७ औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा युवराज राजभण्डारी र एक बहादुर केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

संस्थाका वर्तमान उपाध्यक्ष राजभण्डारी र लेखा सुपरीवेक्षण समितिका संयोजक केसीले आइतवार अध्यक्ष पदमा दावी गर्दै उमेदवारी दर्ता गराएको निर्वाचन समितिको संयोजक काजीगाउँले श्रेष्ठले जानकारी दिनुभयो । उमेदवारी फिर्ता लिने समय दिउसो ४ बजेसम्म कायम गरिएकोमा दुवै दावेदारहरुले उमेदवारी फिर्ता नलिएपछि राजभण्डारी र केसीबीच प्रतिस्पर्धा हुने भएको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा रुद्र बहादुर महत, सचिवमा रितादेवी शर्मा र कोषाध्यक्षमा लक्ष्मण प्रसाद शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ । उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा आवश्यक संख्या एक÷एक जनाको मात्रै उमेदवारी परेकोले उहाँहरु निर्विरोध निर्वाचित हुनु भएको हो ।

यस्तै ३ जना महिला सदस्यहरुका लागि हिरादेवी शर्मा, बबिता शर्मा र पार्वती परियारको मात्र उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । महिला सदस्यमा पनि ३ जना नै निर्विरोध निर्वाचित हुनु भएको छ ।

खुल्ला २ सदस्यका लागि शम्मी कपुर श्रेष्ठ, अनुज श्रेष्ठ, ओम बहादुर क्षेत्री र हरि रुचालको उमेदवारी परेको छ । खुल्ला सदस्यमा निर्वाचन हुने भएको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा हरिराम अधिकारी र कृष्ण शर्माको उमेदवारी परेको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा पनि निर्वाचन हुने भएको छ ।

एक जना अध्यक्षका लागि २ जना, २ जना खुल्ला सदस्यका लागि ४ जना र १ जना लेखा सुपरीवेक्षण समितिको संयोजकका लागि २ जनाको उमेदवारी परेकोले सर्वसम्मत बनाउने प्रयास भैरहेको जनाइएको छ । सर्वसम्मत नभएमा अध्यक्ष, खुल्ला सदस्य र लेखा सुपरीवेक्षण समितिको संयोजकमा निर्वाचन हुने भएको छ । सर्वसम्मत नभएमा निर्वाचन समितिले निर्वाचन गराउने तयारी गरेको निर्वाचन समितिका संयोजक काजीगाउँले श्रेष्ठले बताउनुभयो ।

साधारणसभा शनिवारदेखि शुभारम्भ भएको हो । उद्घाटन समारोहमा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्णशंकर श्रेष्ठ, संरक्षक पद्मचन्द्र राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारणसभाले अध्यक्ष ध्रुव प्रसाद शर्माले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पवनलाल राजभण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक एक बहादुर केसीले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष ध्रुवप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष युवराज राजण्डारीको स्वागत र लेखा सुपरीवेक्षण समितिका सदस्य रितादेवी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

एकता सहकारी संस्थामा हाल १ हजार ९ सय शेयर सदस्य, ९ करोड १४ लाख शेयर पूँजि, ३ करोड ५६ लाख कोष, २३ करोड ७५ लाख वचत, २५ करोड २२ लाख ऋण लगानी रहेको संस्थाका प्रवन्धक दिपकजंग राजभण्डारीले जानकारी दिनुभयो ।