• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

योगले शरीर, मन, व्यवहार र चेतनामा प्रभाव पार्छ : प्रजिअ आचार्य

बागलुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले योगले मानिसको शरीर, मन, व्यवहार र चेतनामा गहिरो प्रभाव पार्ने बताउनु भएको छ ।

पतञ्जलि योग समिति बागलुङले ११औँ राष्ट्रिय योग दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ आचार्यले जीवनलाई सन्तुलित र सचेत बनाउने सबैभन्दा बैज्ञानिक माध्यम योग भएको बताउनु भएको हो ।

मानिसलाई आफु को हुँ भन्ने बोध गराउन समेत योगले मद्दत पुर्याउने भन्दै उहाँले नियमित योग साधना गर्नु पर्ने बताउनु भयो ।

सो अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाशबन्धु अर्यालले आत्म र चेतनाको जागरणका लागि योग जरुरी रहेको बताउनु भएको थियो । उहाँले जीवनप्रति सकारात्मक र अर्थपूर्ण दृष्टि बनाउनका लागि योग, ध्यान र प्रणायमले मार्गप्रसस्त गर्ने बताउनु भएको थियो ।

सो अवसरमा पतञ्जलि योग समिति राधाकृष्ण साधना केन्द्र र उपल्लाचौर साधना केन्द्रका साधक विचमा पतञ्जलि योग समिति गण्डकी प्रदेश सदस्य अमृत कंडेलले योग अभ्यास गराउनु भएको थियो ।

‘स्वस्थ समाज, सवृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रम पतञ्जलि योग समिति बागलुङका प्रभारी हिराबहादुर केसीको अध्यक्षता, महिला पतञ्जलि योग समिति बागलुङका प्रभारी कल्पना श्रेष्ठको स्वागत र मिडिया प्रभारी सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।