• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

शंखधर सहकारीको अध्यक्षमा राजभण्डारी, ऋण असुली प्राथमिकतामा

बागलुङ | बागलुङका बजारमा बस्ने नेवार समुदायका व्यक्तिहरुमार्फत सञ्चालित शंखधर बहुमुखी सहकारी संस्था लिमिटेड, बागलुङको २३ औं वार्षिक साधारणसभाबाट युुक्तजंग राजभण्डारीको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन भएको छ ।

समितिको उपाध्यक्षमा मनोहरलाल बज्राचार्य, सचिवमा निरज शाक्य, सहसचिवमा बिन्दुसागर राजभण्डारी र कोषाध्यक्षमा राम प्रसाद श्रेष्ठ चयन हुनु भएको छ ।
सञ्चालक समितिका सदस्यहरुमा रेणुका राजभण्डारी, समुनजंग राजभण्डारी, विक्रम शाक्य, नारायणीदेवी राजभण्डारी, जगदिश्वर राजभण्डारी र शिव शाक्य रहनुभएको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा सञ्जिव कुमार श्रेष्ठ तथा सदस्यहरुमा बद्री कुमार श्रेष्ठ र सुनिल श्रेष्ठ चयन हुनु भएको छ ।

संस्थाका नवनिर्वाचित अध्यक्ष युक्तजंग राजभण्डारीले शेयर सदस्यहरुलाई लगानी गरिएको ऋण असुली पहिलो प्राथमिकता भएको बताउनु भएको छ । ऋण समयमा मिलान नगर्ने प्रवृति बढ्दै गएको छ, अझै २० लाखसम्मको ऋण मिनाहा हुन्छ भन्ने गलत प्रचारका कारण समेत केही ऋणीहरु अलमलिएको अवस्था छ, सहकारीमा सदस्यहरुले दुख गरेर जम्मा गरेको शेयर र वचत रकमबाट ऋण लगेर मिनाहा हुन्छ भन्ने, तिर्न पर्दैन भन्नेहरुलाई सबै मिलेर सचेत बनाउनु पर्ने दायित्व आफुमा आएको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

शंखधर सहकारीमा २ करोड ३१ लाख शेयर पूँजि, ४ करोड ९० लाख वचत र ५ करोड ४७ लाख ऋण लगानी रहेको कोषाध्यक्ष टुप्ला प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

२०५८ सालमा स्थापना भएको संस्थाले आफ्नै सुविधा सम्पन्न भवनबाट सदस्यहरुलाई सेवा दिदै आएको छ । सहकारी क्षेत्रमा देखिएको समस्यासंगै ऋण असुलीमा कमी आएका कारण अबको सम्पूर्ण योजना र कार्यक्रम ऋण असुलीतर्फ केन्द्रीत गराउन साधारणसभाले सञ्चालक समितिलाई निर्देशन गरेको जनाइएको छ ।

साधारणसभा संस्थाका अध्यक्ष रतन प्रसाद मलेपतिको अध्यक्षतामा सम्पन्न भएको थियो । सञ्चालक समिति सर्वसम्मत चयन भए पनि सहकारी ऐनमा भएको व्यवस्था बमोजिम ३३ प्रतिशत महिलाको सहभागिता भएको छैन ।

सञ्चालक समिति ९ जनाको बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गरेको निर्देशन तथा सहकारी ऐनमा भएको ३३ प्रतिशत महिला सहभागिताको विषयमा ध्यानाकर्षण भएको संस्थाले जनाएको छ ।