• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

मञ्जुलाई जिताउन निसीमा ‘टंक’ चुनावी कमाण्डर

बागलुङ । पश्चिम बागलुङमा नेकपा एमालेका उम्मेदवार मञ्जु शर्मा चालिसेलाई जिताउनका लागि निशीखोला गाउँपालिकामा सञ्चालन हुने चुनावी अभियानको नेतृत्व गण्डकी प्रदेश कमिटि सदस्य टंक चालिसेले लिनु भएको छ ।

पार्टीका केन्द्रीय सदस्य मञ्जु शर्मालाई एमालेले पश्चिम बागलुङ (क्षेत्र नं. २) को उम्मेदवार बनाएको छ । क्षेत्र नं. २ क्षेत्रीय कमिटिले सर्वसम्मत रुपमा चालिसेको मात्र नाम सिफारिस गरेका कारण पनि मञ्जुको चुनावी अभियानमा पार्टीको सम्पूर्ण पंक्ति एकाकार भएर जुटेको छ ।

चुनावी अभियान सञ्चालन गर्ने क्रममा एमालेले बुधवार निशीखोलामा पालिका स्तरीय विस्तारित बैठक गरेको छ । बैठकले गण्डकी प्रदेश कमिटिका सदस्य पौडेल संयोजक तथा पालिका कमिटिका अध्यक्ष भूमिराज घर्ति सदस्य सचिव रहेको ३११ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

युवा परिचालनका लागि सन्तोष रेग्मी संयोजक र नविन थापा सहसंयोजक रहेको ५१ सदस्यीय युवा परिचालन समिति, भोटु चन्द संयोजक र रुपादेवी पौडेल सहसंयोजक रहेको १११ सदस्यीय महिला परिचालन समिति गठन गरिएको पालिका अध्यक्ष भूमिराज घर्तिले जानकारी दिनुभयो ।

एमालेले निर्वाचन परिचालनका लागि निर्वाचन क्षेत्र स्तरीय परिचालन समिति, पालिका स्तरीय परिचालन समिति र वडा स्तरीय परिचालन समिति गठन गरी निर्वाचन अभियानमा कार्यकर्ता परिचालन गर्ने भएको छ । निशीखोला वडा नं. १ मा थम बहादुर घर्ति, वडा नं. २ मा जुन विक्रम शाही, वडा नं. ३ मा भोटु चन्द, ४ मा रुद्र पौडेल, ५ मा भूमिराज घर्ति, ६ मा लिल बहादुर बुढा र ७ मा खुमनलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नं. २ का उम्मेदवार मञ्जु शर्माले भौगोलिक रुपमा पछि परेको बागलुङ क्षेत्र नं. २ को समग्र आर्थिक विकासका लागि मध्यपहाडि लोकमार्ग केन्द्रीत विकास योजना बनाउनका लागि एमालेको एकल सरकार आवश्यक रहेको बताउनुभयो । एमालेको नेतृत्वमा मुलुकको समृद्धि संभव छ, एमालेसंग नीति, नेतृत्व, कार्यक्रम, योजनासंगै कार्यान्वयन गर्ने तत्परता र अनुभव रहेकोले मतदान गर्दा सचेत हुन आम निसीवासीलाई आव्हान गर्नु भयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटि सदस्यहरु भीम प्रसाद शेरचन (सुनिल), बाबुराम नेपाली, जिल्ला उपाध्यक्ष तथा क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटिका संयोजक विष्णु भुषालले एमाले नेतृत्वको सरकारले गरेका उपलब्धीहरु आम जनताका बीचमा लैजान सके मात्रै जनताले एमालेलाई जिताउने चर्चा गर्नु भएको थियो । कार्यक्रम पालिका अध्यक्ष भूमिराज घर्तिको अध्यक्षता र लोकिश्वर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।