बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाहीको उदाहरण बनेको छ लोकमार्गको बागलुङ–बिहुँ खण्ड ।
दुई वर्षमा कालोपत्र सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनाको रप्मा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किमि सडक नौ वर्षमा पुन ठेक्का लगाउने तयारीमा जुटेको छ ।
नौ वर्षमा पाँच पटक म्याद थप्दा समेत नसकिएको सडकको ठेक्का रद्द गरेर पुन ठेक्काका लागि अन्तिम मुल्याङ्कनमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । निर्माण व्यवसायीले चरम लापरवाही गरेका कारण उक्त ठेक्का २०८२ पुस १७ गते तोडेर अन्तिम मुल्याङ्कनको काम भइरहेको इन्जिनियर कल्पना मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार निर्माण व्यवसायीले गरेको हाल सम्मको ८० प्रतिशत प्रगतिमध्ये भुक्तानी दिन बाँकी र क्षति पुगेको पूर्वाधारको मुल्याङ्कन भइरहेको बताउनुभयो ।
“ठेक्का रद्दको लामो प्रकृया छ, अर्थ मन्त्रालयले स्विकृत छिटो दिएमा एक वर्ष भित्रमा नयाँ ठेकेदार आउछ, अहिले अन्तिम मुल्याङ्कन भइरहेको र मुल्याङ्कनमा निर्माण व्यवसायीलाई दिन बाँकी बिल भए दिने र आयोजनाले लिन पर्ने भए लिने गरी टुङ्गाइन्छ” मिश्रले भन्नुभयो “पहिलो ठेकेदारसंग हिसाब मिलान भएपनि अहिलेको मुल्यका आधारमा बाँकी कामको लागत अनुमान गरेर अर्थमन्त्रालयमा पठाइन्छ, अर्थले स्विकृत गरेपछि नयाँ ठेक्का खुल्छ ।”
बागलुङ–बिहुँ खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ १४ गते भारत÷सिद्धिसाईसंग दुई वर्षमा सक्नेगरी रु. ४३ करोड ६५ लाखमा सम्झौता भएको थियो ।
निर्माण व्यवसायीले १३ मध्ये ६ किमि सडक कालोपत्र गरेर अलपत्र पारेपछि स्थानीयले आन्दोलननै गरेपछि ठेक्का रद्द गरिएको हो । कालोपत्र गरेको सडक समेत उप्किएर बिक्रिएको छ ।
दुई वर्षमा सक्ने ठेक्का नौं वर्षमा नसकिएपछि ठेक्का पाँचौ पटक म्याद थप्दा समेत ८० प्रतिशत मात्रै भौतिक प्रगति भएपछि म्याद थप नगरी निर्माण व्यवसायीलाई कालोसूचिमा राख्ने प्रकृया थालिएको हो । ठेकेदारले सडक स्तरोन्नती र कालोपत्रका लागि रु.३४ करोड ३१ लाख भुक्तानी लिइसकेको छ ।
