बागलुङ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बागलुङमा नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले शनिबार आफ्ना प्रतिवद्धता सार्वजनिक गर्नु भएको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर केसीले बागलुङको विकास र समृद्धिका लागि आफ्ना प्रतिवद्धता सार्वजनिक गर्नु भएको हो ।
केसीले पूर्वाधार विकास, शिक्षा स्वास्थ्य तथा रोजगार सिर्जना, युवा तथा खेलकुद, पर्यटन, कृषि, वन तथा सहकारी र सुशासन तथा पारदर्शिता गरेर ६ वटा मुख्य बुँदामा आफ्ना प्रतिवद्धता सार्वजनिक गर्नु भएको हो ।
केसीले प्रतिवद्धता पत्रमा बागलुङ नगरमा सिटी हल, प्रत्येक गाउँ र नगरपालिकामा ५ सय जना अटाउने सामुदायीक भवन, धवलागिरी बहुमुखी क्याम्पसलाई नयाँ र प्राविधिक विषयमा पढाई हुने गरि विश्वविद्यालयमा परिणत गर्ने, धौलागिरी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नती गर्ने, बागलुङ बजारलाई प्राचिन सभ्यता र कलाको झल्को दिने गरि अत्याधुनिक प्रविधिमैत्री शहरको रुपमा रुपान्तरण गर्ने उल्लेख गर्नुभएको छ ।
मध्यपहाडी लोकमार्ग आसपासमा उद्योग खोल्न, कृषिको आधुनिकीकरण र पर्यटन विकास गर्न लगानी मैत्री वातावरण सिर्जना गर्दै रोजगारी सिर्जना गर्ने, जेष्ठनागरिकको निशुल्क स्वास्थ्य परिक्षण, प्रत्येक गाउँपालिकामा शिशु स्याहार केन्द्र स्थापना गरिने, फोहोर व्यवस्थापन, बागलुङका धार्मिक स्थलको प्रचारप्रसार र प्रवद्र्दनमा सहयोग गर्ने, कृषकलाई प्रोत्साहन, सहकारी पीडितको बचत फिर्ता ग्यारेन्टी कोष स्थापना गरि बचत फिर्ताको पहल गर्ने, दोषीलाई कारबाही गर्ने, नगरपालिका र गाउँपालिको सेवा प्रणालिलाई पारदर्शी बनाउने, भ्रष्ट्राचार विरुद्ध शून्य सहनशिलताको मान्यता र सदाचारको प्रवद्र्धन गरिने, आर्थिक अनियमितताको नियन्त्रणका लागि प्रभावकारी अनुगनम प्रणाली बनाइने लगाएतका विषय उल्लेख गरिएको छ ।
