बागलुङ । नेपालकै पुरानो मेला मध्येको एक चैते दशैँ मेलाको बागलुङमा तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासंग जोडिएको चैते दशैं मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ ।
चैते दशैंको अवसरमा हेरक वर्ष बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष आगामी चैत १० गतेदेखि १४गतेसम्म आयोजना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।
देशकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा चिनिएको बागलुङ कालिका भगवती मन्दिर परिसरमा कालिका मन्दिर स्थापनापछि मेला लाग्दै आएको छ । कालिका मन्दिर स्थापनाको डेढ÷दुईसय वर्षपछि मेला आयोजना गरिदै आइरहेको छ । ३०० वर्ष भन्दा पुरानो बागलुङको चैते दशँै मेलालाई परम्पराको निरन्तरता दिन गरिदै आइएको खड्काले जानकारी दिनुभयो ।
चैते दशैं मेलामा कालिका मन्दिर परिसरमा दर्शनार्थीको लाखौं भीड लाग्ने गरेको छ । मन्दिर परिसरमा स्थानीय तथा आयातित बस्तुको खरिद बिक्रका लागि स्टलहरु राखिनेछ भने लोक दोहोरी गीत, भलिबल लगायत विभिन्न सास्कृतिक झाकी समेत प्रदर्शन गरिने छ ।
“विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गरेको र राजकुमारीले आफुसंगै दाईजोको रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा बिसाइयोे” अध्यक्ष भुपेन्द्र खड्काले भन्नुभयो “भोलीपल्टपछि मूर्ति सहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापना भयो, चैते दशैमा मन्दिरमा आउने भक्तजनहरुले स्थानीय उत्पादनको खरिद बिक्री गर्ने चलन बढ्दै गयो र चैते दशैँको मेलाका रुपमा अहिले सम्म निरन्तरता छ ।”

बागलुङ कालिका भगवती मन्दिरमा पूजा अर्चना गर्दा मनोकाँक्षा पूरा हुने जनविश्वास रही आएको छ । त्यही विश्वासका आधारमा यहाँ हजारौं खसी बोका, राँगा तथा हाँस कुखुराको बलि दिने गरिन्छ ।
मेलामा करोडको कारोबार गरिने लक्ष्य रहेको छ भने ५५ लाख खर्च हुने आयोजकले जनाएको छ । पहिला पहिला चैते दशैलाई वर्षभरी रकम जम्मा गरेर घरायसी सामाग्री खरिद गर्ने प्रचलन रहेको छ । पहिला डाली, नाङ्ला, ठेका ठेकी, आसी र बाउसा खरिद गर्ने काम चैते दशैँमा हुँदै आएको थियो ।
चैते दशैँ मेलामा तीन लाख पुरस्कार राशिको कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, एक लाख पुरस्कार राशीको खुल्ला महिला भलिबल प्रतियोगिता, दुई लाख पुरस्कार राशीको राष्ट्रिय लोक दोहोरी गित प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, रथ यात्रा र रामाइलो मेला लगायतका कार्यक्रम गरिने भएको छ । प्रसिद्ध ऐतिहासिक कालिका भगवति मन्दिर तथा परम्परागत चैत्राष्टमी मेलालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चिनाउन, बागलुङ जिल्लाको ऐतिहासिक धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदा र स्थानीय उत्पादनको संरक्षण र प्रर्बद्धन गर्ने लक्ष्य राखिएको छ । २० लाख सम्म धार्मिक तथा आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको छ ।
