• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

बागलुङमा एमाले उम्मेदवार केसी र शर्मालाई जिताउन उपमहासचिव भट्टराईको अपिल

  • २०८२ फाल्गुन १८, सोमबार

बागलुङ

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिक प्रचारको समय आज राती १२ बजेबाट सकिदैछ । चुनाव प्रचारका लागि यतिबेला उम्मेदवारहरुसंगै राजनीतिक दलका नेता कार्यकर्ताहरु मतदाताको घरदैैलोमै छन् ।

पार्टीको केन्द्रदेखि टोलसम्म विभिन्न जिम्मेवारीमा रहेका नेताहरु आफ्ना उम्मेदवारका पक्षमा मत माग्दै मतदाताको घर घरमा पुग्ने तथा सामाजिक सञ्जालको प्रयोग गरेर समेत मत माग्दै छन् । यसैक्रममा बागलुङका एमाले उम्मेदवारहरुलाई मतदान गर्न एमाले उपमहासचिव योगेश भट्टराईले मतदाताहरुसंग अपिल गर्नु भएको छ । एमालेले बागलुङ क्षेत्र नं. १ मा हिरा बहादुर केसी र क्षेत्र नं. २ मा मञ्जु शर्मालाई उम्मेदवार बनाएको छ । भट्टराईले बागलुङ सहित देशभरका एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन अपिल गर्नु भएको हो ।

एमाले मुलुकको बलियो राष्ट्रिय शक्ति बन्दा मात्रै राष्ट्रिय स्वाधीनताको रक्षा हुने र समृद्धिको अभियान अगाडि बढ्ने दावी भट्टराईले गर्नु भएको छ । विगतमा भएका कमी कमजोरीलाई सच्याउर्दै आगामी दिनमा मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणको अभियानलाई थप प्रभावकारी बनाउने प्रतिवद्धताका साथ एमाले अगाडि बढेको भन्दै उहाँले फागुन २१ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउन आव्हान गर्नु भएको हो ।

१ सय ६३ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको नेकपा एमालेले समग्र निर्वाचन परिचालनको जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा (बादल) लाई दिएको छ । बादलको नेतृत्वमा रहेको निर्वाचन परिचालन तथा प्रचार टोलीले उम्मेदवारहरुसंग समन्वय गरेर प्रचार गरेको एमालेले जनाएको छ । एमालेको एघारौ महाधिवेशनमा संस्थापन इतर पक्षबाट उपमहासचिवमा निर्वाचित ताप्लेजुङका निवर्तमान प्रतिनिधिसभा सदस्य भट्टराई यतिबेला एमालेका सबै उम्मेदवारहरुको प्रचार अभियानमा सक्रिय रहनु भएको छ । भौतिक रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा क्षेत्र नं. ५ लगायतका केही क्षेत्रमा पुगेका भट्टराईले सामाजिक सञ्जालमार्फत देशभरका एमाले उम्मेदवारहरुलाई मत माग्नु भएको छ । ताप्लेजुङबाट उम्मेदवारका आकांक्षी भट्टराईलाई पार्टीले उम्मेदवार बनाएन, उम्मेदवार नपाएकोमा गुनासो गर्दै बस्ने अन्य आकांक्षीहरुलाई समेत उत्प्रेरित गर्ने गरी शुरुदेखि नै निर्वाचन परिचालनमा सक्रियता देखाउदै आउनु भएको छ ।

आफ्नो गृह जिल्लाका उम्मेदवार क्षितिज थेवेको प्रचारमा जिल्लाका विभिन्न महत्वपूर्ण स्थानमा पुगेर मत मागेका भट्टराई यतिबेला पार्टी अध्यक्ष जिताउने अभियानमा झापामा सक्रिय हुनुभएको हो । उम्मेदवारको चाहना राखेर नपाएका भट्टराईलाई निर्वाचन परिचालनको मुख्य जिम्मेवारीमा समेत राखिएको छैन, यद्यपी उहाले पार्टीको उपमहासचिवका रुपमा देशभरका विभिन्न ठाउँमा पुगेर उम्मेदवारहरुको पक्षमा मत माग्नुका साथै देशैभरका एमाले उम्मेदवारहरुलाई विजयी गराउन आव्हान गरेको एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

  • २०८२ फाल्गुन १८, सोमबार