• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

जैमिनीका ४१८ योजना मध्ये ३६७ सम्झौता

बागलुङ । जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई वडा नम्बर ७ को जैदीमा सम्पन्न भएको छ । कार्यक्रममा पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण पौडेलले हालसम्म ४० प्रतिशत वित्तीय प्रगति भएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा ६६ लाख बढी आन्तरिक राजश्व संकलन भएको उनको भनाइ छ । नगरपालिकाका ४१८ वटा योजना मध्य हालसमम ३६७ वटा सम्झौता भएर कार्यान्वयनमा गएको पौडेलले बताउनुभयो । उहाँले नगरकी छोरी कार्यक्रम अन्तरगत २४ जनालाई रु दुई हजार ५०० मन दरले खातामा जम्मा गरि दिने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाईमा स्थानीयहरुले बाँदर आतङ्कका कारण गाउँ रित्तिदै गएको गुनासो गर्नुभएको थियोे । कृषि बाली उत्पादन वन्यजन्तुले नष्ट गरि दिँदा ठूलो नोक्सानी व्यहोर्नु परेको उनीहरुले बताउनुभयो । नगरपालिकाले बाँदर नियन्त्रण सम्बन्धी योजना नलिएर गाउँमा बस्ने वातावरण नहुने स्थानीयहरुले बताउनुभयो ।

स्थानीय इन्दु शर्मा, सरस्वती शर्मा चालिसे, कमल नेपाली, तिलकबहादुर थापा, दुरबहादुर नेपाली, किरण चालिसे टंक राना, लोकराज शर्मा, तमसम राना लगायतले किसानले समयमै मल बिउ पाउन नसकेको र नगरपालिकाले विपदमा परेका नागरिकलाई उचित राहतको व्यवस्थापन गरि दिनु पर्ने माग गर्नुभएको थियोे ।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरुको जैमिनी नगर प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेल लगायतले जवाफ दिनुभएको थियोे । कार्यक्रममा बोल्दै नगर प्रमुख नरबहादुर पुनले सुशासन र पारदर्शीताका लागि घुम्ती रुपमा सार्वजनिक सुनुवाई गरिरहेको जानकारी गराउनु भएको थियोे । उहाँले कृषि एम्बुलेन्सले किसानले गरेको उत्पादनलाई बजारीकरणमा सघाउने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख हरिहर शर्माले पालिकाले नागरिककै हितमा काम गर्दै आएको सुनाउनु भएको थियोे । सीमित स्रोत साधनका बापजुत नागरिकको आवश्यकता र चाहाना पूरा गर्ने कार्यमा लागेको बताउदै अनुगमन, राजश्व संकलन लगायतका विषयमा सक्रिय भएको बताउनुभयो ।

जैमिनी नगरपालिका सुशासन समितिका संयोजक एवं जैमिनी नगरपालिका–२ का वडाध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका सह–सचिव नवराज नेपालीले नागरिक सन्तुष्टी सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पत्रकार महासंघका उपाध्यक्ष सुवास आचार्यले कार्यक्रमको टिप्पणी र सह–सचिव डम्मर बुढामगरले सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियोे ।