बागलुङ । दिल निसानी भन्दा साथ धेरै मान्छेको दिमागमा ‘फ्याट्ट लेख्ने, प्याच्च बोेल्ने, टुच्च दिने’ लेखकको मंगोलियन अनुहार अघि आउँछ । धेरैले सामाजिक सञ्जालमा गर्ने टिप्पणीबाट दिल निशानी एउटा अनुदार खालको, आफुलाई मन पर्नेलाई दिल भित्रैबाट खुलेर प्रशंसा र मन नपर्नेलाई खुल्लम खुल्ला विरोध गर्ने पात्रका रुपमा चित्रित गरेको पाइन्छ, उनले बेला–बेला पार्टी र नेताप्रति गर्ने फरक–फरक लेखन र प्रस्तुतिबाट त्यस्तो प्रतीत हुन्छ ।
निसानीले कहिले तत्कालीन नेकपा माओवादीका अध्यक्ष (हाल नेकपाका संयोजक) प्रचण्डको खेदो खनिरहेका हुन्छन्, विप्लप र वैद्यहरुको समर्थन गरेको जस्तो देखिन्छ, कहिले प्रचण्डलाई मुलुक निर्माणको एकमात्र विकल्पका रुपमा प्रस्तुत गरिरहेका हुन्छन्, अरु सबै सहयोगी पात्र हुन् कि जस्तो भान हुन्छ ।
द्वन्द्वकालको अन्तिमतिर बागलुङमा कविता, लेख रचनाहरु लेखेर दैनिक पत्रिकामा छपाउन दौडिने निसानी गणतन्त्र प्राप्तिपछि रेडियोमा कार्यक्रम सञ्चालन गर्ने, समाचार लेख्ने लगायतका काममा होमिए । स्पष्ट वक्ता निसानीले बेला–बेला जिल्लास्तरका नेता, प्रहरी, प्रशासन लगायत राज्यका विभिन्न ओहोदामा बसेकाहरुकाबारेमा तिखो ब्यङ्ग्य प्रहार गर्ने गर्दथे ।

पार्टीका नेताहरुका बारेमा प्वाक्क लेख्न सक्ने, लागेको कुरा स्पष्टताका साथ भन्न सक्ने निसानी बागलुङमा फरक धार अर्थात् सशक्त आलोचक पत्रकारका रुपमा परिचित हुदै गए । आफूले काम गरेको संस्थाले नेपाल पत्रकार महासंघको सदस्यताका लागि सिफारिस नगरेपछि महासंघको केन्द्रीय समितिमा सिधैं आवेदन दिएर महासंघको सदस्य बनेका निसानी नेपाल पत्रकार महासंघ बागलुङको कार्यसमिति सदस्य पनि भए ।
बागलुङ छोडेपछि केन्द्रका विभिन्न मिडियामा बेला–बेला आगो ओकल्ने निसानी कहिले काठमाडौं, कहिले विदेश त कहिले जिल्लातिर पनि निस्कने र आफ्नो वाणीहरु, लेख तथा रचनाहरु प्रस्तुत गरिरहन्छन् । उनलाई मन पराउने पनि लाखौं छन्, गाली गर्नेहरु पनि धेरै नै देखिन्छन् । कुनै पनि विषयमा आफ्नो प्रष्ट धारणा राख्दा समर्थन र विरोधको आँकलन गरेर उनी लेख्दैनन्, उनले जे लेख्छन्, उनको मनको कुरा लेख्छन्, उनलाई लागेको कुरा लेख्छन्, उनले लेखेका कुरा कत्तिलाई पटक्कै मन पर्दैनन्, कत्तिले वाह निशानी पनि भन्छन् । समर्थन र विरोधको मझधारमै रहेका निसानी केही वर्ष यता विदेशमा छन् । विदेशबाटै उनले पछिल्लो एक सातादेखि एउटा सशक्त मिसन शुरु गरेका छन्, जुन मिसनले आज पूर्व सत्तारुढ दलहरु (जेनजी आन्दोलन पूर्वका सबै) का सत्तारुढ दलका नेता, कार्यकर्ताको मनोबल बढाएको छ भने सत्तारुढ बन्ने तरखरमा रहेको पार्टीका लागि उनी कटु आलोचक र प्रतिपक्षीका रुपमा देखिएका छन् ।
जेनजी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अत्यन्तै रक्षात्मक रहेको समयमा एमालेका युवा नेता महेश बस्नेतले ओलीलाई स्थापित गर्न जसरी गुण्डु गड्गडाए, सबै पार्टीको त्राणका रुपमा महेश देखिए, ठिक त्यसैगरी चुनाव पछि मुर्छित भएका दलहरुलाई जल सिञ्चित गर्ने काम यतिबेला निसानीले गरिरहेका छन्, जेनजी आन्दोलन पहिलाका प्रमुख ३ दल (हालका दोस्रो, तेस्रो र चौथो) लाई एकल प्रवक्ताका रुपमा सान्त्वना र उर्जा दिइरहेका छन् ।

विशेष गरी जेनजी आन्दोलनपछि रक्षात्मक भएका पूर्व सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) ले सत्तामा रहदा गरेका राम्रा कामहरुको बारेमा फोटो, भिडियो सहित सामाजिक सञ्जालमार्फत निरन्तर सार्वजनिक गरेर उनले पुरानाहरुले कामै गरेनन्, केही नगरेका कारण नयाँ आएका हुन् भन्ने भाष्यलाई चुनौती दिएका छन् ।
खासमा एमाले, कांग्रेस र नेकपाका नेता कार्यकर्ता (उनीहरुकै दावी अनुसार लाखौको संख्या) ले गर्नु पर्ने काम थियो यो, तर उनीहरु विगतमा भएका राम्रा कामको प्रचार गर्ने भन्दा पनि नेताको गुणगान गाउन, गुटका वरिपरी रमाएर बस्न, पद र प्रतिष्ठा, नेतृत्व र टिकटका लागि दौडधुप गर्न मात्रै व्यस्त भएकै कारण आज ३ पार्टीले सत्ता चलाउँदा गरेका राम्रा कामको प्रचार बागलुङे पत्रकार÷लेखक दिल निसानीको ठेक्का जस्तै देखिएको छ । यद्यपि, यो काम निसानीलाई दलहरुले लगाएर, जिम्मा दिएर, ठेक्का दिएर गरेका होइनन्, उनलाई पुरानाले केही गरेनन् भन्ने भाष्य मन परेन, अनि त्यसको प्रतिवादमा लागे ।
केही भएको छैन, हामी चुड्कीको भरमा देश स्वर्ग बनाउछौ भन्ने भाष्य गलत छ, धेरै राम्रा काम भएका छन्, केही कमजोरी पनि भएका छन्, कमजोरी सच्याएर अगाडि बढ्दा दलहरुलाई फेरी पनि विश्वास गर्ने अवस्था आउछ, निशानीले भने, – ‘सत्य लुक्दैन, विकासका काम जनताले देख्ने गरी सक्कली फोटो सहित सार्वजनिक गर्न थालेको छु ।’

पुरानाहरुले केही गरेनन्, ३५ वर्ष केही भएन, त्यसकारण पार्टी होइन, मत फेर्ने हो भन्ने लहरकाबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाइ मत प्राप्त गरेपछि झन् रक्षात्मक बनेका दलहरुलाई निशानीले उर्जा दिएका मात्र छैनन्, उनीहरुका कामका बारेमा प्रचार गरेर विगतमा केही भएको थिएन होइन, धेरै काम भएको थियो तर, प्रचार हुन सकेन भन्ने तथ्य आम जनताकाबीचमा लैजाने प्रयत्न गरेका छन् ।
निसानीले पछिल्लो एक साता आफ्नो सामाजिक सञ्जाल फेसबुकमा विगतमा भएका विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकूद लगायतका विषयमा निरन्तर पोष्ट गरिरहेका छन् । उनको पोष्टलाई एमाले, कांग्रेस र नेकपाका कार्यकर्ताहरुले शेयर गर्ने, कमेन्ट गर्ने र विकास भएकै थिएन भन्नेहरुले हेर ? भन्दै प्रचार गरेको देखिन्छ । आफूले गर्नु पर्ने काम निसानीले गरिदिएकोमा हिनताबोध त के होला र ? तर पनि हिम्मत गरेपछि सकिँदो रहेछ भन्ने पक्कै भएको होला ।
एक साता अघि निसानीले पोखरा–बागलुङ सडक खण्ड अन्तरगत हेम्जाको सडकको फोटो सहितको पोष्ट सार्वजनिक गर्दै लेखे–‘संविधान बनेकै छ, बाटोघाटो बनेकै छ, स्कूल र अस्पताल बनेकै छ, तर आफ्नो देशमा बनेको विकास निर्माणलाई प्रशंसा गर्ने हाम्रो दिमाग बन्न सकेन । आजको भूराजनीति हेर्दा नेपाल विश्वमा नै शान्त र सुरक्षित देखिन्छ । तर पनि खै किन हो ? भारी बोक्न नपाउँदा छट्पटाएको खच्चड जस्तो नेपालीहरू छट्पटाइरहेका छन् । युरोप र अमेरिकामा गर्भधारण गर्न नसकेका दिदी–बहिनीहरू नेपाल गएर पाठेघरको उपचार गरी बच्चा बोकेर फर्किन्छन् । विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार हुन नसकेका आँखाहरू, मुटुहरू, दाँत अनि मृगौलाहरू नेपालको डाक्टरको हातबाट निको बनाउँछन् । तर, नेपालको अस्पताल राम्रो छ भन्दै धन्यवाद दिन कसैको मुख बोल्दैन, हात चल्दैन । नेपाल यहाँ भन्दा धैरै कसैले बनाउनु पर्दैन । थप नबिगारिदिए मात्रै पुग्छ । निर्माण सम्पन्न हुँदै गरेका फास्ट ट्रयाक र बिद्युत आयोजनाहरू समयमा नै पूरा हुनुपर्छ । बनिसकेका दुई ओटा ठूलो विमानस्थलहरू सुचारु गर्ने तर्फ लाग्नुपर्छ । आजको युवा शक्तिलाई विदेशी ब्राण्डको फेसन तिर ढकेल्ने नभई Made in Nepal तर्फ आकर्षित गरिनुपर्छ ।

उनले नेपालमा केही भएको छैन भन्ने होइन, धेरै भएको छ र त्यसलाई प्रचार गरिएन, सकारात्मक रुपमा लिइएन भन्ने सन्देश प्रवाह गरेका छन् । पछिल्लो एक सातामा निसानीले पूर्व सत्तारुढ दलहरुले गरेका थुप्रै कामको बारेमा फोटो सहित जानकारी गराएका छन् । मिसनकै रुपमा निसानीले पोष्ट गर्न थालेपछि देशका विभिन्न ठाउँबाट आफनो गाउँ–ठाउँमा भएका विकास निर्माणका फोटासहितका विवरणहरु आउन थालेको निसानीले जानकारी दिएका छन् । उनले जति पोष्ट गर्दै जान्छन्, त्यति नै भएका विकास निर्माणका गतिविधिहरु आउन थालेको देखिन्छ पनि ।
निशानीले आइतवार बिहान यो अभियान एक महिना चल्ने जानकारी गराउदै फोटाहरु क्रमश सार्वजनिक हुने बताएका छन् । निसानीले ३५ वर्षमा केही भएन भन्नेहरुलाई अर्को एउटा पोष्ट मार्फत गतिलो जवाफ दिएका छन्, उनले भनेका छन््–‘३५ वर्षमा नेपालका नेताहरुले केही गर्न सकेनन् भन्नेहरू हो, ५ वर्षमै युक्रेन तहसनहस भयो, ६ महिनामा प्यालेस्टाइन खरानी बन्यो, एक हप्तामै साउदी, कतार पनि लथालिङ्ग हुने अवस्थामा पुगेका छन् । सिंहदरबार लगायत देशका खरबौँका भौतिक संरचना एक दिनमै जलेर नष्ट भयो । देशको विकास गर्नका लागि हजारौँ दिन चाहिन्छ, तर ध्वस्त पार्नका लागि एक दिन काफी हुन्छ । नेपालका नेताहरूले डोनाल्ड ट्रम्पले जसरी अरुको देशका राष्ट्र प्रमुखलाई रातारात गएर आँखामा पट्टी बाँधेर अपहरण गर्न सकेनन् होला, अरुको देशको आस्थाको प्रतिकलाई बसिरहेको ठाउँमा बम खसाएर मार्न सकेनन् होला, अरुको देशका स्कुल, अस्पताल र सुपर मार्केटमा क्षेप्यास्त्र प्रहार गर्ने सामथ्र्य पनि राखेनन् होला । तर, नेपाली जनताको लोकतन्त्रको रक्षाका लागि गर्नु सम्म योगदान गरेका छन् । विकास भनेको बाँच्नु पनि हो ।’
नेपालका प्रमुख पूर्वाधार विकासका कार्यक्रमहरु केवलकार, काठाडौं तराई फाष्ट ट्रयाक, पृथ्वी राजमार्गको पोखरा मुग्लिङ सडक, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल भैरहवा सडक, नागढुंगाको सुरङमार्ग सहित घोडा हिड्न डराउने, डोकोमा चामल बोकेर हिँडेको आफ्नै ताराखोला गाउँपालिकाका सडक चिल्ला भइसकेका र त्यहाँ मारुती कार दौडने लगायतका विषय उठान गरेका छन् । उनले ६ सय ७८ जना गर्भवती र सुत्केरी महिलालाई हेलिकप्टरमार्फत अस्पतालमा लगेर उपचार गरिएको, नेपाल टेलिकमले दुर्गम ठाउँहरुमा समेत टावर राखेर सेवा दिएको लगायतका विषयलाई प्राथमिकताका साथ उठान गरेका छन् ।

निसानीले सामाजिक सञ्जालमार्फत् विगतका सरकारका तर्फबाट भएका भौतिक पूर्वाधार लगायत विकास निर्माणका कुराहरु सार्वजनिक गरिरहँदा तत्कालीन सत्तारुढ दलका नेता, कार्यकर्ता र समर्थक शुभेच्छुकहरु भने अलमलमै छन् । अहिले पनि दलका नेताहरु, कार्यकर्ताहरु विगतका कमी कमजोरीप्रति आलोचित हुने, कमजोरी स्वीकार गर्ने भन्दा पनि एकले अर्कोलाई दोषी देखाउने, गुट बलियो बनाउने र पार्टी कब्जा गर्नमै व्यस्त देखिन्छन् ।
कति नेता, कार्यकर्ताले त आफै सत्ताको वरिपरि हुँदा गरेका राम्रा काम देखेकै छैनन्, बुझेकै छैनन्, सम्झेकै छैनन्, गुटका कारण, व्यक्तिगत आग्रह पूर्वाग्रहका कारण कतिपय राम्रा कामको प्रचार भएको छैन, बरु कमजोरीलाई छताछुल्ल पार्ने काम पार्टीकै कमिटिमा बसेका, जिम्मेवार पदमा रहेकाहरुले गर्दै आएका छन् ।
निसानीले पूर्व सत्तारुढ दलहरुले गरेका राम्रा कुराहरु सार्वजनिक गरिरहदा उनीहरुका कमजोरी केही थिएनन् वा कमजोरी नभए पनि नयाँहरुले विभिन्न आरोप लगाएर, ३५ वर्ष केही गरेनन् भन्ने भाष्य निर्माण गरेका हुन् त ? दलहरुले विगतमा राम्रो गरेको भए, निसानी लगायतका युवाहरुले विदेशमा बसेर दलको गुनगान गाउनु पर्ने बाध्यता किन आयो ? प्रश्न यसरी पनि उठ्छ र उठेको छ ।
विगतमा केही पनि भएको थिएन भन्ने भाष्य पनि गलत छ, विगतको योगदानलाई चटक्कै बिर्सेर नकरात्मक कामको मात्र प्रचार गर्ने एकाथरी बलियो टिम देखियो भने सकारात्मक कामका बारेमा प्रचार गर्ने दलहरुको संयन्त्र, पार्टीका संरचनाहरु, पार्टीका कमिटिका जिम्मेवार नेता कार्यकर्ताहरु कमजोर सावित भएका छन् ।
गणतन्त्रपछि प्रमुख तिन दलहरुले बहुपदीय व्यवस्थामा दललाई त लगे र नेतृत्व चाही एकल बनाए, ओली, प्रचण्ड र देउवाका वरिपरी पछिल्लो डेढ दशकको राजनीति अलमलियो, उनीहरुले जे बोल्छन्, जे गर्छन, त्यही पार्टीको नीति हो भन्ने जस्तो गरियो, उनीहरुको गुणगान नगाउनेहरुले टिकट नपाउने, अवसर नपाउने मात्रै होइन, पल्लो छेउ पुग्नु पर्ने भएपछि थुप्रै क्षमता भएकाहरु पनि छेउ लाग्न पर्ने अवस्था सिर्जना भयो । यो विषयमा दलहरु गंभिर बन्न जरुरी छ ।
सबै भन्दा महत्वपूर्ण कुरा प्रमुख तिन दलले पछिल्लो २ दशकमा सत्तालाई गोटी बनाएका कारण, गठबन्धनका नाममा कहिले यता, कहिले उता गरेका कारण, पार्टीमा गुटवन्दी गरेर इमान्दार नेता कार्यकर्तालाई भन्दा प्रायोजित व्यक्तिहरु, जे भने पनि, जे गरेपनि हस् हजुर भन्ने खालका व्यक्तिहरुलाई वरिपरि राखेर भजन संस्कृतिको विकास गरेका कारण आम जनतामा निराशा छाएको हो ।
दलहरुले लामो समय सत्ता सम्हाल्दा जनताको भावना, पार्टीका तल्लो तहका कार्यकर्ताको भावना, पार्टीका बहुसंख्यक नेताहरुको चाहना भन्दा विपरित सिमित कोटरीबाट चल्ने, विदेशीलाई दोष देखाएर सत्तामार्फत भ्रष्टाचार, अनियमितता गर्ने जस्ता गतिविधिका कारण जनताले यसपटकको निर्वाचनमा मत फेरेका छन् ।
विगतमा केही पनि भएको थिएन भनेर जनतालाई अब हामी गर्छौ भन्दै सत्तारुढ बनेको नयाँ दलका तर्फबाट बन्ने आगामी सरकारले विगतका सबै कमी कमजोरीलाई गहिरोसंग मनन गरेर जनतामा आशा जगाउने, विकास निर्माणमा गति दिने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने तरिकाले काम गर्न जरुरी छ । हिजोकै जस्तो सत्ता चलाउनका लागि बिचौलिया, कमिसनतन्त्रको आड लिने अवस्था आएमा जनताले दिएको अभिमतले फेरि एक पटक धोका खानेछ ।
