• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

बागलुङ मिडिया मेलाः भित्तेपत्रिका लेखन प्रतियोगितको पुरस्कार आदर्श, विद्यामन्दिर र एभरेष्टलाई

बागलुङ । बागलुङ मिडिया मेलाको अवसरमा आयोजना गरिएको भित्तेपत्रिका लेखन प्रतियोगितामा आदर्श विद्यामन्दिर माध्यामिक विद्यालय प्रथम भएको छ ।

नेपाल पत्रकार महासङ्घ बागलुङले आफ्नो रजतजयन्तीका अवसरमा आयोजना गरेको मिडिया मेलामा बागलुङका १४ विद्यालयका ४२ विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विद्यामन्दिर माध्यामिक विद्यालय द्वितीय र न्यू एभरेष्ट एकेडेमी तृतीय भएको पुरस्कार छनौट समितिका संयोजक रामबहादुर जिसीले जानकारी दिनुभयो ।

प्रतियोगिताका प्रथम द्वितीय र तृतीय भएका विद्यालयका विद्यार्थीलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको भित्तेपत्रिका लेखन प्रतियोगिताका संयोजक सिर्जना पन्तले जानकारी दिनुभयो ।

प्रतियोगितामा सिद्धार्थ शिक्षा सदन, अमर आदर्श माध्यामिक विद्यालय, धवलागिरी इङलिस बोर्डिङ स्कुल, गुराँस विद्या सदन, न्यू ओएसिस एकेडेमी, चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ, होली चाइल्ड माध्यामिक विद्यालय, धवलागिरी विरेन्द्र माध्यामिक विद्यालय, प्रिसियस एकेडेमी, युनिभर्सल सबलाइम एकेडेमी र रुद्रेपिपल माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । सहभागी विद्यालयका विद्यार्थीलाई भित्तेपत्रिका लेखनका लागि अभिमुखिकरण गरिएको थियो ।

नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष रामबहादुर जिसी संयोजक रहेको पुरस्कार छनौट समितिमा निवर्तमान सचिव विजय राना र रामकृष्ण बोहरा रहनु भएको थियो ।