• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

स्पेनमा नेपाल घर निर्माणका लागि महायज्ञ, तीन दिनमा १ लाख युरो संकलन

बार्सिलोना, स्पेन । स्पेनमा नेपाली घर निर्माणका लागि सञ्चालन भइरहेको आध्यात्मिक महोत्सवमा १ लाख २८ हजार २४४.३४ सेन्ट संकलन भएको छ । महोत्सवको तेस्रो दिनसम्म उक्त रकम संकलन भएको महोत्सवका अध्यक्ष तथा संयोजक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

स्पेनमा रहेका नेपालीका लागि धार्मिक तथा सांस्कृतिक कार्यका लागि मन्दिर निर्माण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको कार्यक्रम अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजकका अनुसार स्पेनका मात्र नभएर अन्य विभिन्न देशबाट नेपाली दाताले सहयोग गरिरहेका छन् । विभिन्न पेशा तथा व्यवसायमा आबद्ध व्यक्तिदेखि भर्खर स्पेन पुगेकाहरुले समेत महोत्सवको खुलेर सहयोग गरेका छन् ।

मेलाको पहिलो दिन समुद्री किनारबाट पञ्चकन्यासहित १०८ भन्दा बढी कलश यात्रासहित महोत्सवस्थल पुगिएको थियो । पञ्चकन्याको पूजाआराधनापछि सुरु गरिएको महायज्ञमा दैनिक रूपमा पूजा, प्रवचन तथा भजनकिर्तन कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

महायज्ञमा प्रविण पण्डित दीनबन्धु पोखरेलद्वारा दैनिक प्रवचन भइरहेको छ । जसले कार्यक्रममा सहभागीहरूको धार्मिक आस्था अझ मजबुत बनाइरहेको छ । आयोजकले यस पवित्र अभियानलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाई एकजुट भई सहयोग गर्न आह्वान गरेका छन् ।