• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

धन्यवाद दिँदै मन्त्रालयबाट विदा भए स्वास्थ्य मन्त्री पाठक

बागलुङ । गण्डकी प्रदेशका निर्वतमान स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक धन्यवाद दिँदै मन्त्रालयबाट विदा हुनु भएको छ ।

२०८१ भदौ १७ गते गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका पाठक २०८३ वैशाख २ गते प्रदेश सरकारको पुनर्गठन भएसँगै मन्त्रालयबाट विदा हुनु भएको हो ।

१ वर्ष ७ महिना १५ दिनसम्म प्रदेशमा स्वास्थ्य मन्त्री बनेका पाठकले यस अवधिमा गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा अविस्मरणीय र ऐतिहासिक महत्वका कामहरू भएको बताउनु भएको छ ।

पाठकले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेश अस्पतालहरूको स्तरोन्नति, शैय्या संख्याको वृद्धि, लामो समयदेखि रोकिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) सम्पन्न, विशेषज्ञ तथा विशिष्टीकृत सेवाको विस्तार, औजार उपकरणको व्यवस्थापन, संघीयताको मर्मबमोजिमको संरचनागत सुधार, प्रदेशभित्रै प्राविण्य प्रमाणपत्र तहको चिकित्सा शिक्षा अध्ययनको अन्तिम तयारी, जनस्वास्थ्य सेवा ऐन निर्माण एवं कैयौँ नीतिगत सुधारहरू, विशेषज्ञ जनशक्तिको व्यवस्थापन, अस्पतालहरूको पूर्वाधार निर्माण, आयुर्वेद अस्पतालहरूको स्तरोन्नति लगायत मातृ तथा नवजात शिशु, असहाय, वृद्ध तथा बालबालिका र मनोरोगका बिरामीहरूको निःशुल्क उपचार लगायतका दर्जनौँ क्षेत्रमा उल्लेखनीय काम भएका छन् ।

आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा भएका काम ऐतिहासिक भएको भन्दै निर्वतमान स्वास्थ्य मन्त्री पाठकले बिना कुनै दाग र बिना कुनै विवाद आफ्नो कार्यकाल पूरा गर्न पाउँदा निकै गौरवान्वित र उत्साहित रहेको बताउनु भयो ।

पुनर्गठित मन्त्रीपरिषद्का मन्त्रीहरूलाई बधाई ज्ञापन गर्दै नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य बनेका पाठकले ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने आफ्नो पार्टी, दलका नेता, सहयोग र मार्गदर्शन प्रदान गर्नुहुने मुख्यमन्त्रीज्यू, सचिवालयका साथीहरू लगायत स्वास्थ्य मन्त्रालय अन्तर्गतका सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।