• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

गलकोट नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण

  • २०८३ बैशाख ४, शुक्रबार

बागलुङ । बागलुङको गलकोट नगरपालिका क्षेत्रका तीन वटा छोटा सडक र वडा कार्यालय भवन एकसाथ सम्पन्न गरिएको छ ।

गलकोट नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय भवन निर्माण सम्पनन गरिएको छ भने झण्डी साडे दुई किमि सडक कालोपत्र र ढलान गरिएको हो ।

उक्त भवन तथा तीनवटा सडकहरु एकमुष्ट सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङको आर्थिक सहयोगमा निर्माण गरिएको हो । गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले वडा कार्यालय नयाँ भवन, गलकोतघर जाने सडक, नरेडाँटी सडक लगायतका पूर्वाधारहरु समयमै सम्पन्न भएको बताउनुभयो ।

उहाँले निर्माण सम्पन्न भएका सडक तथा वडा कार्यालयले स्थानीय तहबाट प्रदान गरिने सेवा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएको बताउँदै सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताउनुभयो ।

वडा कार्यालय भवन जग्गा व्यवस्थापन समिति गठन गरी जग्गा व्यवस्थापन गरिएको थियो । बागेश्वरी मल्टिप्रपोज निर्माण प्रालिले २०८१ भदौ १३ गते वडा कार्यालय र तीन वटा सडकलाई एक मुष्ट २०८२ फागुनमा सम्पन्न गर्नेगरी सम्झौता गरी निर्माण थालिएको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङ अन्तर्गत गलकोट क्षेत्रका तीन वटा छोटा सडक तथा वडा कार्यालय निर्माण सम्झौता मितिमै सम्पन्न गरिएको हो । गलकोट नगरपालिका–१ र २ नरेठाँटी जोड्ने एक किमि सडक कालोपत्रे, वडा नम्बर ३ मा अवस्थित कोतघर जोड्ने एक किमि सडक कालोपत्रे तथा वडा नम्बर ५ हरिचौर क्षेत्रमा ३०० मिटर सडक ढलान लगायतका कार्य एउटै बजेटबाट सञ्चालन गरिएको हो ।

तीन वटा सडक तथा वडाकार्यालय भवन रु. ७ करोड ६५ लाख ८४ हजार १४९ लागतमा निर्माण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका इन्जिनियर गोपिचन्द्र आचार्यले जानकारी दिनुभयो ।

 

  • २०८३ बैशाख ४, शुक्रबार