बागलुङ । जेनजी आन्दोलनपछि समय नपुग्दै महाधिवेशन गरेर अध्यक्षलाई थप शक्तिशाली बनाउन खोजेको नेकपा एमाले संस्थापन पंक्ति फागुन २१ को निर्वाचन पछि अध्यक्षकै कारण समस्या आयो भन्ने तहमा पुगेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बेला भएको छैन भन्ने ओली समुहकै नेताहरु यतिबेला अध्यक्षले सहज रुपमा मार्गप्रशस्त गर्नु पर्छ भन्ने तहमा पुगेको देखिन्छ । संस्थापनबाट गत महाधिवेशनमा पदाधिकारी, केन्द्रीय सदस्य लगायत विभिन्न तहमा निर्वाचित नेताहरु नै अध्यक्षका विरुद्ध देशव्यापी रुपमा नेता कार्यकर्ताहरुसंग परामर्शमा केन्द्रीत हुन थालेका छन् ।
केपी ओली बिनाको एमाले र एमाले बिनाको देश कल्पना गर्नै सकिदैन भन्ने कोणबाट नीति निर्माण गर्ने, निर्देशन गर्ने र गुटमार्फत दवाव सिर्जना गर्ने नेताहरु समेत फागुन २१ को निर्वाचनपछि झस्किएका छन् । अध्यक्षलाई जोगाएर आफु सुरक्षित हुने योजनामा रहेका नेताहरु पछिल्लो समय अध्यक्षलाई थाम्दा आफै समस्यामा पर्ने निष्कर्षमा पुगेको उनीहरुको गतिविधिबाट बुझ्न सकिन्छ ।
जेनजी आन्दोलनका मृतकहरुप्रति अध्यक्ष ओलीले समवेदना समेत व्यक्त नगर्नुका साथै सरकार प्रमुखले नैतिक जिम्मेवारी समेत नलिने बरु सम्पूर्ण दोष अरुलाई थोपर्ने प्रवृत्तिका कारण समस्या सिर्जना भएको विषयमा बहुमत एमालेजन सहमत छन्, तर अध्यक्ष ओलीलाई त्यो विषयमा सचेत ढंगले बुझाउने भन्दा पनि बाहिरी शक्तिको आडमा अध्यक्ष र पार्टी माथि प्रहार भएको रुपमा हेर्दा क्षति भएको एमालेजनहरुको भनाइ छ ।
एमालेमा दुइवटा समुह छन्, एउटा समुह सारै शक्तिशाली र अर्को समुह सारै कमजोर भएका कारण महाधिवेशनमा संस्थापन समुहले सर्लक्कै जित निकाल्यो, यद्यपी संस्थापन इतर समुहबाट उपाध्यक्ष र उपमहासचिवमा एक एक जनाले जित निकाले भने महासचिवमा शंकर पोखरेललाई सुरेन्द्र पाण्डेले कडा चुनौती दिए । यतिबेला समिकरण बद्लिएको छ, संस्थापनसंग सिधा सिधा टक्कर दिने गरी इतर पक्ष अगाडि बढेपछि र तल्लो तहका कार्यकर्ताहरु नै पार्टी रिफर्मका पक्षमा देखिन थालेपनि नेतृत्वमा रहेकाहरु पनि परिवर्तन हुदैछन् ।
लामो समयदेखि ओलीका खास रक्षक बन्दै आएका शंकर पोखरेल नै यतिबेला ओलीको सहज बर्हिगमनको पक्षमा रहेको चर्चा चलिरहेको छ । उपाध्यक्ष विष्णु पौडेल सहितका नेताहरुको सहयोगमा ओलीलाई विस्थापित गरी नयाँ ढंगले अगाडि बढ्ने योजनामा शंकरको टिम रहेको एमाले स्रोत बताउछ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने तयारी थियो तर अन्तिम समयमा ओली आएनन्, ओली विरामी भएका कारण आउन नसकेको कार्यक्रममा जानकारी गराइएको थियो । उपाध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा अर्का उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल मुख्य वक्ताका रुपमा रहेका थिए । पोखरेल र पौडेल यतिबेला अध्यक्षको बहिर्गमनका पक्षमा रहेको बताइन्छ ।
एमाले महासचिव पोखरेल यतिबेला केन्द्रमा कार्यालय र संगठन विभागको वैठकसंगै प्रदेश स्तरमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुसंग समसामयिक परापर्शमा छन् ।
महासचिव पोखरेलको सहभागितामा शुक्रवारदेखि गण्डकी प्रदेश भुगोलका केन्द्रीय सदस्यहरुसंगको अन्तरक्रिया शुरु भएको छ । २ दिनसम्म सञ्चालन हुने अन्तरक्रियामा शुक्रवार २० जना केन्द्रीय सदस्यले विचार राखेका छन् । ९ वटा विषय तोकेर केन्द्रीय सदस्यलाई बोल्न दिइएको थियो, वैठकका सहभागीहरुले समग्र विषयमा आफना धारणा राखेका छन्, वैठकका एक सहभागीले बताए अनुसार नेतृत्व हस्तान्तरण गरेर अगाडि बढ्न धेरैको सुझाव छ । एमालेको भूमिका, नेताहरुको कार्यशैली र पार्टीका नीति तथा कार्यक्रमहरुलाई जनताले रुचाएनन, सहभागीहरुले भनेका थिए, ‘पार्टीलाई तलदेखि माथिसम्म रिफर्म नगर्ने हो भने जनताकाबीचमा जान सकिदैन ।’
माथिबाट आदेश लाद्ने र तलकाले उक्त आदेश अनुसार काम गरेनन् भन्ने प्रचलन अब अन्त्य गर्नु पर्छ, यतिबेला जनताले के भन्छन्, भुइ तहका कार्यकर्ताले के भन्छन्, तलैसम्म धारणा बुझ्ने काम गरौ, माथिबाट आदेश गर्ने प्रवृतिलाई जनताले होइन, कार्यकर्ताले पनि पत्याएनन्, एक केन्द्रीय सदस्यले भने ।
एक पटक वडा तहका कार्यकर्ताको आवाज सुनौ, धारणा बुझौ, उनीहरुले के भन्छन्, समग्र पार्टी संरचनामा नै परिवर्तन गर्ने कि ?, मुल नेतृत्व वा पदाधिकारीहरु परिवर्तन गर्ने कि ? कसरी जादा उपयुक्त हुन्छ भन्ने धेरैको सुझाव आउछ, त्यही अनुसार अगाडि बढ्नु नै पार्टी र देशका लागि हित हुने सुझावका क्रममा केन्द्रीय सदस्यहरुले भनेका थिए ।
जेनजी आन्दोलनपछि अध्यक्षलाई अगाडि सारेर निर्वाचनमा सफलता हात पार्न सकिदैन भन्ने सन्देश केन्द्रीय नेतृत्वलाई पु¥याएका थियौ, हामीले तलको भावना यही हो भनेका थियौ, तर माथिबाट अध्यक्षलाई प्रधानमन्त्री घोषणा गरेर जाने निर्णय भयो, गण्डकी प्रदेश अन्तरगत एक जिल्ला पदाधिकारीले भने,–‘पार्टी अध्यक्षलाई भावी प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नेहरुले नै निर्वाचनमा अध्यक्षलाई कार्यक्रममा बोलाउन सकेनन्, बोलाए मत घट्छ भने, फोटो समेत राख्न सकेनन् ।’
अहिलेकै अवस्थामा, यही नेतृत्वको अगुवाईमा जनताले पत्याउने अवस्था छैन, जनताले चेतावनी दिएका छन्, सजाय दिन मात्रै बाँकी छ, अब पनि सुध्रिएनौ भने सिधै सजाय दिन्छन् भन्ने कुरा सबै तहको नेतृत्वले बुझ्न पर्नेमा धेरै सहभागीहरुको जोड थियो ।
एमालेमा पछिल्लो समय अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने र वरिपरी झुम्मिएर नेता हुने, लाभ लिने प्रवृति बढ्दै गएको थियो । जनताले के भनिरहेका छन्, पार्टीका तल्ला कमिटिमा काम गर्ने, पार्टी निर्माण गर्नेहरु, पार्टी जोगाउनेहरुले के भनि रहेका छन्, पार्टी सत्तामा हुदा गरिएका कामका बारेमा जनतामा र कार्यकर्तामा कस्तो प्रभाव परेको छ भन्ने विषयमा मूल नेतृत्व र अध्यक्षको वरिपरी बस्नेहरुले वेवास्ता गरेको आरोप भूगोलमा खट्ने नेता कार्यकर्ताले लगाउदै आएका छन् ।
जनता र कार्यकर्तामा जान नपर्ने तर निरन्तर केन्द्रीय सदस्य हुने, पार्टीबाट सुविधा पाइरहने र पार्टीलाई अप्ठेरो पर्दा साथ नदिने प्रवृति बढ्दै गएको एमाले भित्र चर्चा हुने गरेको छ । लामो समयदेखि पार्टी परिचालनमा देखिएको गुटगत मानसिकता र नेतामुखी प्रवृतिको यसपटक अन्त्य भएको हो, अब पनि सुधार नगर्ने हो भने अझै समस्या आउछ, स्थानीय कार्यकर्ताहरुको सुझाव छ ।
बैठकमा सबै खालका विचारहरु आएका छन्, पार्टी नेतृत्वको कमजोरीका कारण समस्या आएको, पार्टी र जनताबीचको सम्बन्धमा गहिरो खाडल परेको, पार्टी र नेतृत्वका विरुद्ध गरिएको षडयन्त्रका बारेमा जनतालाई बुझाउन नसकिएको, विदेशी हस्तक्षेपको प्रभाव परेको लगायतका विषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । अब पार्टीलाई रिफर्म गरेर जनताका आवाज सुन्ने, जनताका गुनासा सुनेर योजना बनाउने, प्रदेश सरकारलाई जनमैत्री काममा लगाउने लगायतका विषयमा सबैले चासो राखेका थिए ।
प्रदेशमा सरकार परिवर्तन किन भयो ? जवाफ हामीले दिनु पर्छ, निर्णय कहाँ बसेर हुन्छ, कसले गर्छ पत्तो हुदैन, एक सदस्यले भने तर पनि नेताहरुका अगाडि यस्ता विषय उठ्दैनन् ? हामी नै कमजोर छौ, नेतालाई प्रश्न गर्दा भोली अवसर पाइदैन कि ? भन्ने डर मनमा भएका कारण विषयवस्तुमा गंभिर छलफल हुदैन, ति सदस्यको भनाइ छ ।
वैठकका सहभागीहरुलाई चुनावको समिक्षा, गण्डकी प्रदेशको पार्टी निर्माण, प्रदेश कमिटि र इन्चार्जको भूमिका, जनतामा पार्टीले गरेका सकारात्मक कामको सन्देश प्रवाह, पार्टी र जनसंगठनबीचको सहकार्य र समन्वय, पालिका कमिटिको प्रभावकारिता, आगामी प्रदेश र स्थानीय तह निर्वाचन लगायतका विषयमा केन्द्रीत भएर बोल्न भनिएको थियो ।
महासचिव पोखरेलले सदाझै पार्टीको नीति र नेतृत्वको रक्षा गर्दै जनतामा देखिएको निरासा र आक्रोशलाई परिवर्तन गर्न निर्देशन दिएका थिए ।
बैठक शनिवार पनि बस्दैछ, बाँकी रहेका सदस्यहरुले सुझाव राख्नुका साथै पार्टीका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल लगायतले पार्टीका आगामी योजना र कार्यक्रमका बारेमा निर्देशन दिने जनाइएको छ ।