बागलुङ । बागलुङको जैमिनीका स्थानीयले बाँदरको आतंकले गाउँ रित्तिने अवस्था आएको भन्दै स्थानीय जनप्रतिनिधिसँग गुनासो गरेका छन् ।
टेवा नेपालको सहयोगमा सुर्योदय समाज कल्याण मञ्चले जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीमा आयोजना गरेको पालिका स्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जनप्रतिनिधिलाई उनीहरूले बढ्दो बसाइँसराइ रोक्न पालिकाको योजना के छ भनेर प्रश्न गरेका हुन् ।
“पस्केको खाना बाँदरले खोस्छ, घर आँगनमै बाघ चितुवा डुल्न थाले बालबालिका र बुढा बा आमालाई घरमा छोडेर मेलापात जाने वातावरण छैन,” जैमिनी नगरपालिका ७ जैदीकी दुर्गा पौडेलले प्रश्न गर्दै भन्नुभयो, “अर्को चुनावमा भोट माग्न गैडाकोट, नारायणघाट र नवलपुर जाने हो ?”
स्थानीय कमला शर्माले पनि बसाइँसराइले गाउँ रित्तिएको र गाउँमा बाँकी रहेकालाई पनि बाँदरको आतंकले गाउँ छोड्न बाध्य बनाएको बताउनुभयो ।
स्थानीय लक्ष्मी शर्माले स्वास्थ्य चौकीको भवन टाढा हुँदा महिनादिनकी सुत्केरी बच्चा च्यापेर खोप लगाउन घण्टौँ हिँड्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।
नगरप्रमुखसहित विभिन्न शाखाका प्रमुख र वडा अध्यक्षलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको भए पनि महिलाका कार्यक्रममा स्थानीय जनप्रतिनिधिले चासो नदिने र उपस्थित समेत नभएको भन्दै सहभागीहरूले गुनासो गरेका थिए ।

टेवा नेपालको सहयोगमा गठित सामुदायिक सुरक्षा जालो महिलावादी आन्दोलनको सुदृढीकरण दोस्रो चरणको परियोजना अन्तर्गत महिलाहरूले स्थानीय तहमा महिलाका लागि के कस्ता कार्यक्रम, योजना र बजेट विनियोजन गरिएको छ, महिलालाई सीप, रोजगारी, उद्यमशीलतासँग जोड्न के–के प्रयास गरिएको छ, स्थानीय नीतिमा महिलाको आवाज बुलन्द बनाउन के गरिएको छ भन्ने विषयमा सरोकारवालालाई सजग र जवाफदेही बनाउन सार्वजनिक सुनुवाइ आयोजना गरिएको भए पनि स्थानीय सरकारको प्राथमिकतामा आफ्नो कार्यक्रम नपर्ने गरेको भन्दै गुनासो गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका स्थानीयका प्रश्नको जवाफ दिँदै जैमिनी नगरपालिका ७ जैदीका वडा सदस्य अर्जुन शर्माले महिलाको सशक्तिकरणका लागि बीउविजन वितरण, सिलाईकटाई तालिम, कुखुरापालन तथा बाख्रापालनका लागि सहयोग र अनुदान प्रदान गर्दै आएको बताउनुभयो। उहाँले बाँदर नियन्त्रणका लागि नगरपालिकाले बाँदरपार्क निर्माण गर्ने प्रयास गरेको भए पनि सफल नभएको भन्दै बाँदर नियन्त्रणका लागि केन्द्रीय नीतिनै परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो ।
सार्वजनिक सुनुवाइमा गण्डकी प्रदेश सभाका पूर्व सांसद सावित्रा राना, जैदी स्वास्थ्य चौकी प्रमुख झलकराज आचार्य, प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा टेवा नेपालका कार्यक्रम संयोजक रुपा उदासले टेवा नेपाल र सामुदायिक सुरक्षा जालो महिलावादी आन्दोलनको सुदृढीकरण दोस्रो चरणको बारेमा जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रम सुर्योदय समाज कल्याण मञ्चका अध्यक्ष मञ्जु क्षत्रीको अध्यक्षता, सचिव लक्ष्मी बोहराको स्वागत तथा नेपाल पत्रकार महासङ्घ बागलुङका उपाध्यक्ष सिर्जना पन्तको सहजीकरणमा सम्पन्न भएको थियो ।
