• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

बागलुङमा मोहीको ब्राण्डिङ : स्थानीय उत्पादनको प्रयोग गरौँ

सम्पादकीय । परनिर्भरताबाट कुनै पनि व्यक्ति तथा मुलुकको आर्थिक उन्नति अगाडि बढ्न सक्दैन । त्यसका लागि स्थानीय उत्पादन बढाउने र आयात प्रतिस्थापन पहिलो शर्त हो । तर पछिल्लो समय बजारदेखि गाउँसम्म आयातित वस्तुको उपभोग ह्वात्तै बढेको छ । खानपानमा मात्रै होइन, हाम्रा रीतिरिवाज, चाडपर्व, मेला महोत्सवमा प्रयोग हुने अधिकांश सामग्री आयात हुन थालेका छन् । गाउँमा यसै पनि उत्पादनसँग जोडिएको जनशक्ति कम हुँदै गएको छ, त्यसैमाथि स्थानीय उत्पादनको उपभोग कम हुनुले उत्पादनका क्षेत्रमा लागेका कृषकहरूको उत्पादनको प्रशोधन हुन नसक्दा, बजारीकरण हुन नसक्दा उत्पादन बढाउने अवस्था कम हुँदै गएको छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले बागलुङ बजार र आसपासका १५ वटा दुग्ध सहकारीमा आवद्ध कृषकहरूले उत्पादन गरेको दूध संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको छ । विगत साढे दुई दशकदेखि दूध र दुग्धजन्य पदार्थको उत्पादनलाई प्रभावकारी बजारीकरण गर्दै आएको संघले २६ औँ स्थापना दिवसको अवसर पारेर मोहीको ब्राण्डिङ अभियान सुरु गर्न लागेको छ । कृषकको उत्पादनलाई प्रशोधन गरेर मोहीको ब्राण्डिङ गर्नु केवल नयाँ उत्पादन बजारमा ल्याउने काम मात्र होइन, स्थानीय उत्पादन, किसानको श्रम, स्वास्थ्य र आत्मनिर्भरतासँग जोडिएको महत्वपूर्ण कदम हो ।

लामो समयदेखि दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन र बजारीकरणमा सक्रिय संघले अहिले थालेको यो अभियानले परम्परागत नेपाली खाद्य संस्कृतिलाई आधुनिक बजारसँग जोड्ने अवसर सिर्जना गरेको छ । मोही नेपाली समाज अझै ग्रामीण क्षेत्रका जनताको पुरानो र स्वास्थ्यवद्र्धक पेय पदार्थ हो । तर पछिल्ला वर्षहरूमा आयातित तथा कृत्रिम पेय पदार्थको प्रभाव बढ्दै जाँदा स्थानीय उत्पादन ओझेलमा पर्दै गएका छन् । यस्तो अवस्थामा सहकारीमार्फत स्वदेशी, गुणस्तरीय र स्वास्थ्यकर मोहीलाई ब्राण्डिङ गरेर बजारमा स्थापित गर्ने प्रयास प्रशंसनीय छ । यसले किसानको दूध बिक्रीलाई स्थायित्व दिनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पु¥याउनेछ । संघले दूध बिक्रीबाट सुरु गरेको अभियान अन्तर्गत प्रशोधनमार्फत ९ वटा उत्पादन बजारमा पठाउँदै आएको छ ।

गाउँमा युवा कम छन्, पशुपालन क्षेत्रमा लाग्नु पर्ने युवाहरूको अभावमा पशुपालन व्यवसाय क्रमशः कम हुँदै गएको अवस्थामा दुग्ध क्षेत्रमा देखिएको सबैभन्दा ठूलो चुनौती भनेको उत्पादनशील जनशक्ति घट्दै जानु हो । युवाहरू अन्य पेशा तथा वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन् । यस अवस्थालाई रोक्न राज्यले दुग्ध किसानलाई अनुदान, बीमा, सहुलियत ऋण, आधुनिक प्रविधि र बजार सुनिश्चितताको नीति प्रभावकारी रूपमा लागू गर्न आवश्यक छ । साथै स्थानीय तह, सहकारी, निजी क्षेत्र र उपभोक्ताबीच सहकार्यको वातावरण निर्माण गरिनुपर्छ । आयातित पेय पदार्थभन्दा गाउँको उत्पादन मोहीको प्रयोगका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलगायत सरोकारवालाहरूले सहजीकरण गर्न सके स्थानीय उत्पादन बढ्ने र बजारीकरणमा सहयोग पुग्न सक्छ, यसले थोरै भए पनि गाउँको उत्पादन बजारमा बढ्न गई उत्पादकको आयआर्जन र उपभोक्ताको स्वास्थ्यलाई फाइदा पुग्नेछ ।