सम्पादकीय । २०७९ को स्थानीय तह निर्वाचनबाट विजयी बागलुङ नगरपालिकाका जनप्रतिनिधिहरुले पदबहाल गरेको जेठ ६ गते बुधवार चार वर्ष पूरा हुदैछ । चार वर्ष पुरा गरेको अवसरमा “विकास र समृद्धिको यात्रामा हाम्रो चार वर्ष” शीर्षकमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । जनताका प्रतिनिधिहरुले पद बहाल गरेको दिनलाई सम्झनु, उत्सव मनाउनु स्वाभाविक विषय हो । जनप्रतिनिधिले आफ्नो कार्यकालका उपलब्धि सार्वजनिक गर्नु, नागरिकसमक्ष प्रगति विवरण राख्नु र आगामी योजना सुनाउनु लोकतान्त्रिक अभ्यासकै हिस्सा हो ।
जनप्रतिनिधिले पद बहाल गरेको चार वर्ष पुरा गरेको खुशीयालीमा आयोजित कार्यक्रमका लागि नगरपालिकाले सार्वजनिक विदा नै दिएको विषयमा भने मिश्रित प्रतिक्रिया आएका छन् । प्रमुख प्रशासकीय इश्वरी प्रसाद शर्माले स्थानीय विदा सम्बन्धी सार्वजनिक सूचना जारी गरेर नगरपालिका कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको जानकारी गराउनु भएको छ । प्रश्न यहाँनेर उठेको छ—उपलब्धि सार्वजनिक गर्न विदा नै दिनुपर्ने आवश्यकता किन प¥यो ? अन्य रचनात्मक कार्यक्रमतर्फ नगरपालिकाको ध्यान किन गएन होला ? नगरपालिकाले वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा स्थानीय विदा दिएको निर्णयले धेरैलाई असहज बनाएको छ । अहिले नै सरकारी संरचनामा सार्वजनिक विदाको संख्या धेरै भएको गुनासो बढिरहेको बेला थप विदाले सेवाग्राही, विद्यार्थी र बिरामीलाई प्रत्यक्ष असर पार्छ । विकासको उत्सव मनाउने नाममा जनतालाई सेवा पाउनबाट रोक्नु कति उपयुक्त हुन्छ भन्ने बहस स्वाभाविक हो । यसलाई सिंगो नगरपालिकाले मनन् गर्न जरुरी छ ।
चार वर्षको अवधिमा नगरपालिकाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार लगायत क्षेत्रमा केही काम अवश्य गरेको छ । स्थानीय तह बनेपछि विकास निर्माणका गतिविधि गाउँटोलसम्म पुगेका छन् । तर विकासको मूल्यांकन प्रचार सामग्री, ब्यानर र समारोहबाट होइन, नागरिकको दैनिक जीवनमा आएको सहजताबाट हुनुपर्छ । काम प्रभावकारी भएका छन् भने जनताले आफैं प्रशंसा गर्छन् । त्यसका लागि विदा दिएर औपचारिक उत्सव गर्नु आवश्यक पर्दैन । बरु यही अवसरमा नगरपालिकाले सार्वजनिक सुनुवाइ, खर्चको पारदर्शी विवरण, अपुरा योजना र आगामी चुनौतीबारे खुला बहस गरेको भए अझ अर्थपूर्ण हुने थियो कि ? लोकतन्त्रमा पद दिवसभन्दा सेवा महत्वपूर्ण हुन्छ । जनप्रतिनिधिको सफलताको वास्तविक मापन उत्सवको भीड होइन, जनताको सन्तुष्टि हो । त्यसैले आगामी दिनमा स्थानीय सरकारहरूले औपचारिक खुशीयालीभन्दा जनसेवा, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिनु नै समयसापेक्ष हुनेछ । बागलुङ नगरपालिकाका जनप्रतिनिधिहरुले सफलताका साथ चार वर्ष पुरा गरेको अवसरमा शुभकामना ।
