बागलुङ । ‘सद्भावसहित सहकार्य, उद्देश्यसहितको नेतृत्व’ भन्ने मूल नारासहित बागलुङमा ‘लियो युथ क्याम्प २०२६’ सम्पन्न भएको छ ।
लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे, नेपालको आयोजनामा जेठ २ गतेबाट सुरु भएको क्याम्प आइतबार सम्पन्न भएको हो ।
युवा नेतृत्व विकास र सामाजिक गतिविधिप्रति युवाको आकर्षण बढाउने उद्देश्यसहित जिल्ला तहमा यसप्रकारको क्याम्प पहिलोपटक आयोजना गरिएको आयोजकले जनाएको छ ।
क्याम्पका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा लायन्स अन्तर्राष्ट्रिय ३२५ जे नेपालका वरिष्ठ सह–मुख्य सल्लाहकार लायन नरेश कँडेलले ‘आत्मविश्वास’ आफूमाथि विश्वास’ शीर्षकमा प्रशिक्षण दिनुभएको थियो । उहाँले युवाहरूलाई आत्मविश्वासी बन्न, आफ्ना क्षमतामाथि विश्वास गर्न तथा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्नुभएको थियो ।
कार्यक्रममा उत्प्रेरक वक्ता बी.के. रमण भट्टराईले सकारात्मक मानसिकता र भविष्य निर्माण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले सकारात्मक सोचमार्फत अवसर सिर्जना गर्ने र भविष्य निर्माणका लागि आवश्यक सीप विकासबारे सहजीकरण गर्नुभएको थियो ।
यस्तै, मनोसामाजिक परामर्शदाता तथा प्रशिक्षक लायन नारायणप्रसाद आचार्यले मानसिक स्वास्थ्य र युवा सशक्तिकरण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले मानसिक स्वास्थ्य सन्तुलन, तनाव व्यवस्थापन तथा युवाहरूको क्षमता अभिवृद्धिसम्बन्धी विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।
इस्कन नेपालका अध्यक्ष परमेश्वर अच्युत दासले तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले आध्यात्मिक चेतना, सकारात्मक जीवनदृष्टि र आत्मअनुशासनमार्फत तनाव व्यवस्थापन गर्न सकिने विषयमा सहजीकरण गर्नुभएको थियो । दैनिक जीवनमा आउने मानसिक दबाबलाई सन्तुलित रूपमा सामना गर्दै आन्तरिक शान्ति र सकारात्मक ऊर्जा कायम राख्ने उपायबारे उहाँले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
दुई दिने आवासीय क्याम्पमा काठमाडौं, गोरखा, पोखरा र बागलुङका ३५ जना युवाको सहभागिता रहेको थियो ।
कार्यक्रमअन्तर्गत सहभागी युवाहरूलाई बागलुङका पर्यटकीय स्थलहरूको भ्रमणसमेत गराइएको थियो । उनीहरूले बागलुङ कालिका मन्दिर तथा बागलुङ र पर्वत जोड्ने गण्डकी गोल्डेन ब्रिजको अवलोकन गरेका थिए ।

कार्यक्रम संयोजक लियो योगराज कँडेलले सहभागी, प्रशिक्षक, अतिथि तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्दै युवाहरूको नेतृत्व विकास र व्यक्तित्व निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले क्याम्प सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएको थियो ।
लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे, नेपालका डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो बालकृष्ण परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सह–संयोजक लियो प्रमिला कँडेलले गर्नुभएको थियो भने सचिव लियो सरला मगर, कोषाध्यक्ष लियो रेजिना जीसी र आइटी हेड लियो माइकल कँडेललगायतले व्यवस्थापकीय भूमिका निर्वाह गर्नुभएको थियो ।
