• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

सहकारी बैंकको अध्यक्षमा उप्रेती निर्वाचित

बागलुङ। राष्ट्रिय सहकारी बैंक लिमिटेडको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित हुनु भएको छ । ७ जना सञ्चालक समितिका सदस्यहरुकाबीच भएको मतदानमा उप्रेतीले ५ मत पाएर अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अध्यक्षका प्रत्यासी परितोष पौड्यालले २ मत पाउनु भएको सञ्चालक समिति स्रोतले जनाएको छ । बैैंकको जेठ ९ गते सम्पन्न निर्वाचनबाट सात प्रदेशका सात जना सञ्चालक निर्वाचित हुनु भएको थियो । सञ्चालक समितिका सदस्यहरुको बहुमतबाट अध्यक्ष चयन गर्ने पछिल्लो पटक संशोधित विनियम अनुसार बिहीवार भएको सञ्चालक समितिको वैठकमा मतदान भएको थियो । मतदानमा उप्रेतीको पक्षमा ५ जना र परितोष पौड्यालको पक्षमा २ जनाले मतदान गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी महासंघको सञ्चालक रहेका पौडेल बैंकको अध्यक्ष बन्नका लागि सहकारी बैंकको सञ्चालक बन्न आउनु भएको थियो । तीन राजनीतिक दलहरुको सहमतिमा बागमती प्रदेशबाट निर्वाचित पौड्याललाई अध्यक्ष बनाउने सहमति भएको थियो, तर बैंकका निर्वाचित सञ्चालकहरुले बैंकका निवर्तमान लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीलाई निर्वाचित गरेको जनाइएको छ । उप्रेती कोशी प्रदेशबाट सर्वसम्मत निर्वाचित हुनु भएको थियो । २०७० मा लेखा सुपरीवेक्षण समिति सदस्य तथा २०७५ र २०७९ मा लेखा सुपरीवेक्षण समितिका संयोजक रहेका उप्रेती बैंकको आगामी कार्यकालका लागि अध्यक्ष चयन हुनु भएको हो ।

तीन राजनीतिक दलबीच गठबन्धन भएर सहकारी बैंकको निर्वाचनमा दुइ समुहमा विभाजन भएका छन् । एमालेका आधिकारीक उम्मेदवार पौड्याललाई जम्मा दुइ मत परेको छ ।
चुनावी तालमेल अनुसार एमालेलाई कोशी, बागमती र गण्डकी प्रदेश, नेपाली कांग्रेसलाई मधेश र सुदुरपश्चिम प्रदेश तथा नेकपालाई लुम्बिनी र कर्णाली प्रदेश परेको थियो ।
चुनावी नतिजा हेर्दा बागमती र गण्डकीको परितोष पौड्याललाई तथा अन्य प्रदेशको उप्रेतीलाइ मत परेको देखिन्छ, कांग्रेस र नेकपाका तर्फबाट विजयी सञ्चालकहरुले उप्रेती रोजेका छन् ।