बागलुङ ।नेकपा एमालेले केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको नयाँ कार्यविभाजन सार्वजनिक गरेको छ । जेठ १० गते सम्पन्न सचिवालय बैठकले गरेको निर्णयअनुसार जेठ १५ गते जारी अन्तरपार्टी निर्देशन ९अपानि० मार्फत प्रदेश, जिल्ला, विभाग र विभिन्न मोर्चाहरूमा जिम्मेवारी तोकिएको हो । कार्यविभाजन हेर्दा पार्टीको नेतृत्व तहमा महिलाको उपस्थिति कमजोर देखिएको छ । भूगोलतर्फको जिम्मेवारीमा पनि महिलाको सहभागिता न्यून रहेको पाइएको छ । प्रदेश इन्चाजमा महिला सहभागिता शून्य छ भने ७७ जिल्लामा १४ प्रतिशत भन्दा केही बढी मात्र छ ।
एमालेको १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला छन् । सचिव पदमा रहेकी पद्मा अर्याल एक मात्र महिला पदाधिकारी हुन् । अघिल्लो कार्यकालमा लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालेकी अर्याललाई यसपटक भूगोलको जिम्मेवारी नदिई संसदीय मामला विभागको प्रमुख बनाइएको छ । प्रदेश इन्चार्जको जिम्मेवारी भने सबै पुरुष नेताहरूले पाएका छन् । कोशी प्रदेशमा शेरधन राई, बागमतीमा महेश बस्नेत, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा छविलाल विश्वकर्मा र कर्णालीमा यमलाल कँडेललाई जिम्मेवारी दिइएको छ । मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ तथा सुदूरपश्चिम प्रदेशमा दामोदर भण्डारीलाई इन्चार्ज तोकिएको छ । यससँगै सातवटै प्रदेशमा महिला इन्चार्जको उपस्थिति शून्य बनेको छ ।
विभागीय जिम्मेवारीतर्फ पनि महिला नेतृत्व सीमित छ । पद्मा अर्यालले संसदीय मामला विभागको नेतृत्व पाएकी छन् भने केही विभागमा मात्र महिलालाई प्रमुखको जिम्मेवारी दिइएको देखिन्छ । अधिकांश विभाग र मोर्चाहरूको नेतृत्व पुरुष नेताहरूकै हातमा रहेको छ । जिल्ला इन्चार्जतर्फ भने ११ जना महिलाले जिम्मेवारी पाएका छन् । एमालेले बागलुङमा मनकुमारी जिसी ९केसी०, म्याग्दीमा नरदेवी पुन, स्याङ्जामा सीमाकुमारी क्षेत्री, धनुषामा जुलीकुमारी महतो, खोटाङमा उषाकला राई, डोल्पामा बद्मी क्यारी बुढा, तेह्रथुममा विष्णुमाया विक, कैलालीमा कमला कुमारी ओली, भक्तपुरमा सकुन्तला श्रेष्ठ, नवलपरासीमा सरिता भुसाल खनाल र बाँकेमा शान्तिदेवी ढकाललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।
एमालेले आसन्न स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सदस्यहरूलाई प्रदेश, जिल्ला तथा जनसंगठनहरूमा इन्चार्जको जिम्मेवारी तोकेको जनाएको छ । तर नयाँ कार्यविभाजनले पार्टी नेतृत्वमा लैङ्गिक समावेशिताको अवस्था अझै सन्तोषजनक बन्न नसकेको देखाएको छ ।
