बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशनबाट पुनम शर्मा सभापतिमा चयन हुनु भएको छ । शनिवार गलकोटमा आयोजित अधिवेशनमा निर्वाचन समितिले शर्मालाई अध्यक्ष घोषणा गरेको हो । संघीय सांसदहरु सुशिल खड्का, सोम शर्मा र रास्वपा गण्डकी प्रदेश समितिका सदस्य चित्र बहादुर थापा सहितको निर्वाचन समितिले अध्यक्षका आकांक्षीहरु मध्ये शर्माको नाम घोषणा गरेको हो ।
उपसभापतिमा ढालेन्द्र रायमाझी, सचिवमा लाल बहादुर खत्री (बबिन), सहसचिवमा पुष्पा आचार्य र कोषाध्यक्षमा डुक मल्ललाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका सदस्यत तथा सांसद सोम शर्माले जानकारी दिनुभयो । समितका सदस्यहरुको बारेमा छलफल भैरहेको उहाँको भनाइ छ ।
सभापतिका दावेदार ढालेन्द्र रायमाझीलाई निर्वाचन समितिले उपसभापतिमा घोषणा गरेको छ । रायमाझीले आफु सभापतिको दावेदार भएकाले उपसभापति नबस्ने भन्दै निर्वाचन समितिको घोषणालाई एकपक्षीय भएको बताउनु भएको छ । सचिवका उम्मेदवार रहेका लिल बहादुर खत्री (बबिन) निर्वाचन समितिले जवरजस्ती पदाधिकारी घोषणा गरेको भन्दै असहमति व्यक्त गर्नु भयो । निवर्तमान सभापति महेन्द्र खड्का नेतृत्वको कार्यसमितिको आज बिहान बसेको बैठकले ढालेन्द्र रायमाझीको नेतृत्वमा नयाँ टिम सर्वसम्मतीका लागि प्रस्ताव गरेको थियो ।
समितिको उपसभापतिम पुनम शर्मा, सचिवमा लिल बहादुर खत्री (बबिन), सहसचिवमा बालकृष्ण शर्मा र कोषाध्यक्षमा डुक मल्ल तथा सदस्यहरुमा कमल खरेल, देवुजंग बुढा, संगिता भण्डारी थापा र सुनिता विकलाई प्रस्ताव गरेको थियो । बन्द सत्र शुरु भएपछि अध्यक्षमा खिमानन्द पौडेल, ढालेन्द्र रायमाझी, पुनम शर्मा र मनोज खड्काले दावी गरेको सचिव खत्रीले जानकारी दिनुभयो । ४ जनाले दावी गर्नु भएको थियो, निर्वाचन समितिले पुनम शर्मालाई सर्वसम्मत भन्दै घोषणा गरेपछि ढालेन्द्र रायमाझी लगायतका उम्मेदवारहरुले असहमति व्यक्त गरेको उहाँले बताउनुभएको छ ।