बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङस्थित तित्याङ माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
स्वर्गीय दुर्गादत्त आचार्य स्मृति अक्षयकोषको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामग्री, झोला लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
स्वर्गीय आचार्यको स्मृतिमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले शैक्षिक सामग्री वितरणले विद्यार्थीको अध्ययनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले शैक्षिक क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहकार्य र सद्भाव आवश्यक रहेको बताए ।
कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष मनबहादुर थापा, विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद उपाध्याय तथा अक्षयकोषका सदस्य दयाराम रिजालले शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमको महत्वबारे धारणा राखेका थिए ।
अक्षयकोषका सदस्य चन्द्रराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक दिनेश अधिकारीले गरेका थिए भने सञ्चालन टिका थापाले गरेका थिए ।