सम्पादकीय। जेन्जी आन्दोलनको राजनीतिक प्रभाव, सत्ता गुमाएको पीडा, फागुन २१ को निर्वाचनमा व्यहोरेको अपेक्षाभन्दा ठूलो पराजय र त्यसपछि देखिएको आन्तरिक असन्तुष्टिले नेकपा (एमाले) यतिबेला आफ्नो राजनीतिक यात्राको एउटा संवेदनशील मोडमा उभिएको छ । विगतमा संगठन, अनुशासन र नेतृत्व क्षमताका कारण नेपाली राजनीतिमा प्रभावशाली शक्ति बनेको एमाले अहिले आत्मसमीक्षा, पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहसको केन्द्रमा पुगेको छ । गत वर्ष भदौ २० देखि २२ गतेसम्म गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको भावी दिशाबारे महत्वपूर्ण निर्णयहरू गरेको थियो । त्यही महाधिवेशनबाट ७० वर्षे उमेर हद र प्रमुख पदमा दुई कार्यकालको सीमा हटाउने निर्णय भयो । आज पार्टीभित्र उठिरहेका अधिकांश प्रश्नहरू त्यही निर्णयसँग जोडिएका छन् । विडम्बना के छ भने, अहिले देशभर सञ्चालन भइरहेको सुझाव संकलन अभियानमा सुझाव दिने अधिकांश व्यक्ति तिनै हुन्, जसले विधान महाधिवेशनमा ती निर्णयलाई स्वीकार गरेका थिए । उनीहरू नै एघारौँ महाधिवेशनका प्रतिनिधि थिए, उनीहरू नै नेतृत्व चयन प्रक्रियाका सहभागी थिए, र उनीहरू नै पार्टीलाई गत निर्वाचनमा पहिलो शक्ति बन्ने आत्मविश्वास दिलाइरहेका थिए ।
यसर्थ एउटा स्वाभाविक प्रश्न उठ्छ, आज सुझाव दिनेहरू र हिजो निर्णय गर्नेहरू फरक–फरक हुन् त ? यदि त्यतिबेला सबै कुरा सही थियो भने आज यति ठूलो आत्मसमीक्षाको आवश्यकता किन प¥यो ? र यदि त्यतिबेला गल्ती भएको थियो भने त्यसको जिम्मेवारी कसले लिने ?निर्वाचन अभियानका क्रममा पार्टीका अध्यक्ष तथा भावी प्रधानमन्त्रीको विषयमा समेत खुलेर बोल्न नसक्ने वातावरण देखिएको थियो । कतिपय स्थानमा अध्यक्षको नाम लिएपछि मत घट्ने टिप्पणीसमेत सुनियो । चुनावी कमाण्डरको नाम लिन हिच्किचाउने प्रवृत्ति देखिएको थियो । तर त्यही नेतृत्वको वरिपरि घुमेका व्यक्तिहरूबाट मात्रै आजको यथार्थको पूर्ण चित्र आउला भन्ने विश्वास गर्न कठिन छ । यही कारण सुझाव संकलनको विधिमाथि पनि प्रश्न उठ्नु स्वाभाविक हो । पार्टी पुनर्गठनको उद्देश्य साँच्चै गम्भीर हो भने सुझाव प्रदेशस्तरीय भेलामा सीमित हुनुहुँदैन । पालिका र वडा कमिटीमा दिनरात खटिने कार्यकर्ताबाट सुझाव लिनुपर्छ । चुनावका बेला घरदैलोमा हिँड्ने, मतदाताको असन्तुष्टि प्रत्यक्ष सुन्ने, संगठनको वास्तविक अवस्था भोग्ने कार्यकर्ताले नै ग्राउण्डको यथार्थ भन्न सक्छन् ।
२५ वर्षमुनिका युवासँग सुझाव लिनुपर्छ । किन युवा पुस्ता पार्टीबाट टाढिँदै गएको छ भन्ने उनीहरूले नै बताउन सक्छन् । गाउँमा निस्वार्थ रूपमा पार्टीको झण्डा बोकेर बसिरहेका महिलासँग सुझाव लिनुपर्छ । कृषि कर्ममा जोतिएका किसानसँग सुझाव लिनुपर्छ । शुभेच्छुक, समर्थक र विगतमा एमालेलाई मत दिएर अहिले निराश बनेका नागरिकसँग सुझाव लिनुपर्छ । किनकि पार्टीको वास्तविक अवस्था नेतृत्वको वरिपरि रहनेहरूले भन्दा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनेहरूले राम्रोसँग बुझ्छन् । आज एमालेभित्र उठिरहेको रूपान्तरणको बहस नेतृत्व परिवर्तनको मात्रै बहस होइन । यो पार्टीको संरचना, कार्यशैली र जनतासँगको सम्बन्ध पुनस्र्थापनाको बहस हो । त्यसैले सुझाव संकलन पनि त्यही स्तरको व्यापक हुनुपर्छ । अन्यथा माथिबाट तल झर्ने निष्कर्षलाई तलबाट आएको सुझावका रूपमा प्रस्तुत गर्ने पुरानै प्रवृत्ति दोहोरिन सक्छ । राजनीतिक दलहरू इतिहासका कारण मात्र बलिया हुँदैनन्, आफ्ना कमजोरी स्वीकार गर्ने साहसका कारण बलिया बन्छन् । एमालेले अहिले सञ्चालन गरिरहेको अभियान कर्मकाण्डमा सीमित रहने कि साँच्चै आत्मसमीक्षाको माध्यम बन्ने भन्ने प्रश्नको उत्तर अब सुझावको विषयवस्तुले मात्र होइन, सुझाव संकलनको दायराले पनि दिनेछ ।
