बागलुङ । बागलुङको पश्चिम क्षेत्रमा रहेको गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, पर्यटन, जलस्रोत, स्थानीय सीप विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार सम्पन्न १९ औँ नगरसभामा नगरप्रमुख भरत शर्मा गैरेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्ध गलकोट निर्माणका लागि उत्पादन, रोजगारी सिर्जना र दिगो विकासलाई केन्द्रमा राखिएको बताउनुभयो ।
प्रस्तुत नीति तथा कार्यक्रमअनुसार कृषिको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन वृद्धि गरिनेछ भने गलकोटका पर्यटकीय गन्तव्यहरूको पहिचान, संरक्षण र प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना अघि सारिएको छ । जलस्रोतको दिगो उपयोग गर्दै सिँचाइ तथा खानेपानी सेवाको विस्तार र व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको छ ।
नगरपालिकाले स्थानीय सीप र उद्यमलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको ब्रान्डिङ गरी बजार विस्तार गर्ने तथा युवा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको जनाएको छ ।
पूर्वाधारतर्फ सडक सञ्जाल विस्तार, ग्रामीण सडक कालोपत्र, झोलुङ्गे पुल निर्माण तथा खानेपानी आयोजनाहरू सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको नगरप्रमुख गैरेले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम तयार गर्नुअघि सबै वडाबाट तथा विभिन्न सरोकारवालाबाट सुझाव संकलन गरिएको र ती सुझावका आधारमा प्राथमिकता निर्धारण गरिएको उहाँले बताउनुभयो । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीबीच सहकार्य आवश्यक रहने उहाँको भनाइ छ ।
नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै नगरपालिकाले अब आगामी आर्थिक वर्षको बजेट तयारी प्रक्रिया अघि बढाउने जनाएको छ । नगरसभामा सदस्यहरूको छलफल तथा सुझावपछि आवश्यक परिमार्जन गरी नीति तथा कार्यक्रम पारित गरिने अपेक्षा गरिएको छ ।