सम्पादकीय । ‘इतिहासमा उस्तै घटनाहरू पहिलो पटक नाटकका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा दोहोरिन्छन्’– कार्ल माक्र्सको यो भनाइ यतिबेला नेपालको वाम राजनीतिमा फेरि सम्झनुपर्ने अवस्था आएको छ । काठमाडौंमा पुराना वामपन्थी नेताहरूको जमघट भयो । संयोग यस्तो रह्यो कि चार दशकअघिको राजनीतिक यात्राका प्रमुख पात्रहरू फेरि एउटै मञ्चमा देखिए । जननेता मदन भण्डारीको विचार, जनताको बहुदलीय जनवाद (जवज) र लोकतान्त्रिक कम्युनिष्ट आन्दोलनको चर्चा भयो । तर प्रश्न उठेको छ, मदन भण्डारीको विचारको चर्चा गर्ने पात्रहरू र त्यो विचारको वास्तविक अभ्यासबीचको दूरी कति छ ? एमाले महासचिव शंकर पोखरेलले यही सन्दर्भमा इतिहासको पुनरावृत्तिमाथि प्रश्न उठाउँदै माक्र्सको भनाइ उद्धृत गर्नु भएको छ । उहाको संकेत थियो, समय बदलिएको छ, परिस्थिति बदलिएको छ, अब विगतका नारा र शैलीलाई हुबहु दोहो¥याएर राजनीतिक भविष्य निर्माण गर्न सकिँदैन । मदन भण्डारीको योगदानमाथि विवाद गर्न सकिँदैन । उहाँले विश्व कम्युनिष्ट आन्दोलन संकटमा परेको समयमा नेपालमा कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रतिस्पर्धाको बाटोमा लैजाने वैचारिक साहस गर्नुभयो । ‘कम्युनिष्टहरू पनि बहुदलीय लोकतन्त्रभित्र जनताको समर्थनबाट सत्तामा पुग्न सक्छन्’ भन्ने विश्वास निर्माण गर्नुभयो । यही कारण जबज केवल एउटा पार्टीको दस्तावेज मात्र नभई नेपालको कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण राजनीतिक प्रयोगका रूपमा स्थापित भयो ।
तर विडम्बना यही छ, आज मदन भण्डारीको नाम लिने धेरै नेताहरूले उहाँले उठाएको पार्टी जीवनको लोकतान्त्रीकरण, आन्तरिक प्रतिस्पर्धा र नयाँ पुस्तालाई स्थान दिने विषयमा कति आत्मसमीक्षा गरेका छन् ? ४० को दशकमा सिद्धान्त प्रतिपादन गर्ने र पार्टीको महासचिव बनेका मदन भण्डारीको योगदान सम्झन ७० कटेका नेताहरूको जमघट हुनु आफैंमा गलत होइन । इतिहास सम्झनुपर्छ, योगदानको सम्मान गर्नुपर्छ । तर इतिहासको सम्मान केवल भाषणबाट होइन, व्यवहारबाट प्रमाणित हुनुपर्छ । मदन भण्डारीले नेतृत्वलाई स्थायी कुर्सी होइन, जनताबाट अनुमोदित जिम्मेवारीका रूपमा हेर्नुभयो । तर आजका धेरै शीर्ष नेताहरूको राजनीतिक यात्रा हेर्दा प्रश्न उठ्छ, के उनीहरूले मदनको विचारलाई आत्मसात् गरेका छन् वा केवल नामलाई राजनीतिक पूँजीका रूपमा प्रयोग गरेका छन् ? एकातिर नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र आन्तरिक लोकतन्त्रको कुरा गरिन्छ, अर्कोतिर पार्टी नेतृत्वमै निरन्तरताको मोह देखिन्छ । कुनै समय ‘एक व्यक्ति, एक पद’, ‘नयाँ पुस्तालाई अवसर’ जस्ता विषय उठाउने नेताहरू नै व्यवहारमा पुरानै शैलीमा अडिएको देखिन्छ । मदन भण्डारीको वास्तविक सम्मान भनेको उहाँको तस्वीरमा माला लगाउनु मात्र होइन । उहाँले देखाएको बाटोमा पार्टीभित्र लोकतान्त्रिक संस्कार विकास गर्नु हो । जनताको बदलिँदो अपेक्षा बुझ्नु हो । युवाको प्रश्न सुन्नु हो । आफूभित्रका कमजोरी स्वीकार गर्ने साहस गर्नु हो ।
जबजको मूल भावना नै सिर्जनात्मक विकास हो, जडता होइन । समयसँगै विचारलाई परिमार्जन गर्न सक्ने क्षमता हो । त्यसैले आजको प्रश्न मदन भण्डारीको विचार सही थियो कि थिएन भन्ने होइन, प्रश्न हो, उहाँका उत्तराधिकारी भनिनेहरूले त्यो विचारलाई आफ्नो आचरणमा कति उतारे ? पुराना नेताहरूको जमघटले सम्झना त गरायो, तर अबको आवश्यकता सम्झनाभन्दा बढी आत्मसमीक्षा हो । मदन भण्डारीलाई साँच्चिकै सम्मान गर्ने हो भने उहाँको नाम होइन, उहाँको राजनीतिक संस्कार बचाउनुपर्छ । नत्र इतिहास फेरि दोहोरिन सक्छ, पहिलो पटक नाटकका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा ।
