बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशनबाट गण्डकी प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्यमा निर्वाचित घोषणा भएका सोम शर्माले आफ्नो नाम केन्द्रीय सदस्यको सूचीबाट हटाइएको भन्दै पार्टीको निर्वाचन आयोगमा उजुरी दिनु भएको छ । रास्वपाले महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यको सूची संशोधन गर्दै यसअघि विजयी घोषित दुई जनालाई हटाएर दुई नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेपछि शर्मा असन्तुष्ट देखिनु भएको हो ।
रास्वपा निर्वाचन आयोगले मतपरिणाममा प्राविधिक त्रुटि भएको भन्दै गण्डकीबाट पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा निर्वाचित घोषणा गरेको थियो । यसअघि गण्डकी भूगोलबाट निर्वाचित घोषित शर्मा सूचीबाट बाहिरिनु भएको छ । शर्मा बागलुङ क्षेत्र नं। २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनु भएको छ । शर्माले आइतबार निर्वाचन आयोगलाई पत्र बुझाउँदै आफूलाई हटाउने निर्णय अन्यायपूर्ण र विधानविपरीत भएको दाबी गर्नु भएको छ । उहाले निर्वाचन आयोगले आफूलाई निर्वाचित घोषणा गरिसकेको अवस्थामा कुनै पूर्वसूचना, स्पष्टीकरण वा जानकारी नदिई नाम हटाइएको भन्दै आपत्ति जनाउनु भएको छ ।
गण्डकी भूगोलतर्फ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा शर्मा ९९३ मत प्राप्त गर्दै चौथो स्थानमा विजयी हुनु भएको थियो । गण्डकीबाट पाँच जना निर्वाचित हुने व्यवस्था रहेको उल्लेख गर्दै शर्माले आफूभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई अगाडि ल्याउनु निर्वाचनको आधारभूत मान्यता विपरीत भएको दाबी गर्नु भएको छ ।
उहाले पार्टी विधानको दफा २२९४० क अनुसार समावेशिता सुनिश्चित गर्ने विषयमा पनि प्रश्न उठाउनु भएको छ । गण्डकीबाट पहिलो पाँचभित्रै दुई जना महिला उम्मेदवार पवित्रा थापा र पूजा बास्तोला निर्वाचित भइसकेको अवस्थामा थप क्लस्टर मिलाउन आफूलाई विस्थापित गर्नुपर्ने अवस्था नरहेको उहाको तर्क छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले आफ्नो नाम हटाइएको जानकारी समेत सामाजिक सञ्जालबाटै पाएको उल्लेख गर्नु भएको छ । उहाले पार्टी नेतृत्वलाई सम्बोधन गर्दै लेख्नु भएको छ, “ठिक एक वर्षअघि यही बनस्थलीस्थित पार्टी कार्यालयमा रबि दाइको न्यायका लागि हस्ताक्षर गर्न आएका थियौं । आज त्यही दिन र त्यही ठाउँमा आफ्नै न्यायका लागि निवेदन दिन बाध्य भएको छु ।”
उहाले यो विषय आफ्नो व्यक्तिगत मात्र नभई आफूलाई विश्वास गरेर मतदान गर्ने ९९३ जना प्रतिनिधिको जनमतसँग जोडिएको बताउनु भएको छ । “यो केवल म माथिको अन्याय होइन, मलाई विश्वास गरेर मत दिने सदस्यहरुको अपमान पनि हो,” शर्माले उल्लेख गर्नु भएको छ ।
शर्माले आफू गण्डकी प्रदेश भूगोलतर्फ चौथो सर्वाधिक मत प्राप्त उम्मेदवार भएको भन्दै कुन विधि, विधान र आधारमा कम मत प्राप्त गर्ने उम्मेदवारलाई अगाडि ल्याइएको हो भन्ने प्रश्न उठाउनु भएको छ ।
उहाले पार्टीभित्र लोकतान्त्रिक मूल्य, विधि र संस्थागत विश्वसनीयता कायम राख्न निर्णय सच्याउन माग गर्नु भएको छ । माग सम्बोधन नभए संवैधानिक, राजनीतिक तथा कानुनी अधिकार संरक्षणका लागि उपलब्ध कानुनी बाटो अवलम्बन गर्ने चेतावनी समेत शर्माले दिनु भएको छ ।
रास्वपा निर्वाचन आयोगले भने यसअघि विजयी घोषणा प्रक्रियामा प्राविधिक त्रुटि भएको भन्दै परिणाम सच्याइएको जनाएको छ । अब सोम शर्माको उजुरीमाथि आयोगले गर्ने निर्णयले पार्टीको आन्तरिक निर्वाचन प्रक्रियामाथि थप चासो बढाएको छ ।
