बागलुङ । बागलुङ नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका अधिकांश विवाद समाधान गरेको छ । समितिमा कुल ३८ वटा मुद्दा रहेकोमा ३५ वटा फछ्र्योट गरिएको छ भने तीन वटा मुद्दा अझै प्रक्रियामा रहेका छन् । न्यायिक समिति संयोजक तथा बागलुङ नगरपालिकाकी उपप्रमुख राजु खड्काका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ बाट आठ वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए । चालु आर्थिक वर्षको अन्त्यसम्म तीन वटा मुद्दा प्रक्रियामै रहेका छन् ।
समितिले फछ्र्योट गरेका मुद्दामध्ये २५ वटा मेलमिलापमार्फत समाधान भएका छन् भने तीन वटा मुद्दामा न्यायिक समितिले फैसला गरेको छ । सात वटा मुद्दा तामेली वा फिर्ता भएका छन् । दुई वटा मुद्दा समितिको प्रक्रियामा छन् भने एउटा निवेदन मेलमिलापका लागि सम्बन्धित वडामा पठाइएको छ ।
समितिमा सबैभन्दा धेरै गाली–बेइज्जती र रुख हटाइपाऊ सम्बन्धी नौ–नौ वटा निवेदन दर्ता भएका थिए । त्यसपछि घरजग्गा विवादका पाँच, खान–लाउन नदिएको सम्बन्धी दुई, बाटो निकासका दुई, घरबहालका दुई तथा अन्य एक विवाद सम्बन्धी निवेदन दर्ता भएको संयोजक खड्काले जानकारी दिनुभयो ।
वडागत विवरणअनुसार वडा नं. ४ बाट सबैभन्दा धेरै आठ वटा निवेदन दर्ता भएका छन् । वडा नं. ३ बाट छ, वडा नं. २ र १० बाट तीन–तीन, वडा नं. ७, १२ र १४ बाट दुई–दुई तथा वडा नं. १, ६, ८ र ९ बाट एक–एक वटा निवेदन परेका छन् । वडा नं. ५, ११ र १३ बाट भने कुनै पनि निवेदन दर्ता भएन ।
न्यायिक समितिले नगरपालिकाका १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी कानुनी परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै कक्षा ११ र १२ मा अध्ययनरत २० जना विद्यार्थीलाई कानुन विषय अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ ।
समितिलाई कानुनसम्मत र संस्थागत बनाउने उद्देश्यले बागलुङमा गण्डकी प्रदेशस्तरीय न्यायिक सम्मेलन आयोजना गरी अनुभव आदान–प्रदान तथा अन्तरसम्बन्ध विस्तार गरिएको थियो । सो अवसरमा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका न्यायिक समितिको प्रोफाइल प्रकाशन गरिएको थियो । उपप्रमुख तथा न्यायिक समिति संयोजक खड्काका अनुसार गत आर्थिक वर्षका तथ्यांक समेटेर यस वर्ष पनि न्यायिक समिति प्रोफाइल प्रकाशन गरिनेछ ।