• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

बागलुङका स्थानीयतहको पुनरावलोकन गर्न अध्ययन

  • २०८३ श्रावण ८, शुक्रबार

बागलुङ । बागलुङका स्थानीय तहको पुनरावलोकन गर्न अध्ययन थालिएको छ । १० स्थानीय तह र ८५ वडाको सिमाना पुनारावलोकन अध्ययन थालिएको छ ।
बागलुङका स्थानीय तहको सिमाना हेरफेर तथा पुनरावलोकनका लागि अध्ययन भइरहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को सिमना हेरफेर सम्बन्धी व्यवस्था र नेपाल सरकारद्वारा स्वीकृत गाउँपालिका तथा नगरपालिका र वडाको सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड २०८३ का विषयमा बागलुङमा छलफल थालिएको हो ।

बागलुङका १० स्थानीय तहलाई आफ्ना वडा र सीमानामाथी अध्ययन गरेर साउन १५ गतेभित्र जिल्ला समन्वय समितिमा सुझाव पठाउन आग्रह गरिएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले जानकारी दिनुभयो । बुधबारको बैठकले स्थानीय तहले अध्ययन सहितको सुझाव पेश गर्न आग्रह गरिएको थापाले बताउनुभयो ।
बागलुङका १० वटै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नेपाल पत्रकार महासंघका प्रतिनिधि, भूमी प्रशासन कार्यालयका प्रमुख तथा नापी कार्यालयका प्रमुख सहित बसेको बैठकले गाउँपालिका तथा नगरपालिका सिमाना आवश्यकता अनुसार सिमाना मिलाउने वा नयाँ नामाकरण गर्ने, विभागीय वर्गिकरण पुनरावलोकन गर्ने, जिल्ला समन्वय समितिको सचिवालयमार्फत सबै स्थानीय तहलाई अध्ययन समिति गठन गरि अध्ययन गर्न थालिएको थापाले बताउनुभयो ।

पालिकाको सिमाना हेरफेर, नयाँ नगरपालिका वा गाउँपालिका नामाकरण, केन्द्र निर्धारण, वडा संख्या पुनरावलोकन लगायतका विषयमा विस्तृत अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याएर १५ दिनको समय निर्धारण गरेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले जानकारी दिनुभयो ।

वैठकमा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, ताराखोला गाउँपालिकाका प्रमुख धनबहादुर विक(हिमाल), बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले स्थानीय तहको पुनरावलोकनका लागि अध्इयन सहित सुझाव पठाउनेगरी तयारी थालिएको जनाएका छन् ।

बैठकमा जिल्ला समन्वय समिति बागलुङका निमित्त समन्वय अधिकारी कृष्णहरि आचार्यले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारि गरिएको गाउँपालिका तथा नगरपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्डका अनुसार पालिका घटाउने, वडा घटाउने तथा पालिका गाभ्ने लगायतको विषय प्रस्तुत गर्नुभएको थियो ।

स्थानीय तहको जनसङ्ख्या, भूगोल, प्रशासनिक सुगमता, पूर्वधार विकासको अवस्था, आर्थिक सक्षमता, प्राकृतिक स्रोत साधनको उपलब्धता र भाषिक, साँस्कृतिक तथा सामुदायीक बनौटका आधारमा स्थानीय तह हेरफेर वा एकआपसमा गाभिन सक्ने निमित्त समन्वय अधिकारी आचार्यले बताउनुभयो । जिल्लामा ६ गाउँपालिका र ४ नगरपालिका रहेका छन् । जिल्ला सदरमुकाममा रहेको बागलुङ नगरपालिकासंग छिमेकी गाउँपालिका जोडेर उपमहानगरपालिका बनाउन सकिने समेत कतिपयले सुझाव दिइरहेको समितिले जनाएको छ ।

  • २०८३ श्रावण ८, शुक्रबार