बागलुङ । बागलुङमा एक हप्तादेखि ग्यासको अभाव भएको छ । ग्यासको आपूर्तीका लागि जिल्ला प्रशासनले सहजीकरण गरेर बागलुङमा सोमबार ग्यासको आपूर्ती गरेपनि कालाबजारी गरेको पाइएको छ ।
दुई हजार एक सय ग्यास सिलिण्डर भित्रदासमेत ग्यासको अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ बजारको नौ वटा ग्यासको डिलरको अनुगमन तथा ग्यास लुकाउन सक्ने संकास्पद स्थानहरुको समेत अनुगमन गरिएको छ ।
ग्यासको बिक्री मुल्य भन्दा बढीमा ग्यास बिक्री गरेको आरोपमा न्यू कपुर किचनको जीप सहित चालक प्रहरी नियन्त्रणमा लिइएको छ । ग्यास बिक्रीका नाममा चालकले अनुचित लाभ लिन खोजेकाले कार्वाहीका लागि प्रकृयामा अघि बढाइएको छ । मंगलबार भएको बजार अनुगमनमा सचिना किराना पसल, पञ्चकोट किराना पसल र सर्वसिद्धि फिड सर्भिसले अनुमती बिनै ग्यास बिक्री गरेको र खाली सिलिण्डर संकलन गरेको पाइएकाले कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय बागलुङमा बोलाइएको प्रशासन शाखाका तेजराज गौतमले जानकारी दिनुभयो ।
ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय बागलुङले अनुगमन गर्दा ग्यास डिलरले आपूर्ती भएको ग्यास उपभोक्तामा वितरण गरेको तर अनुमतीबिनै किराना पसलले समेत ग्यासको कारोबार गरेको पाइएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिम बहादुर बिकले जानकारी दिनुभयो ।
सोमबारदेखि भरी सिलिण्डर ग्यास भित्रिन थालेपछि कालोबजारी बढेको, ग्यासको मुल्य बढी लिएको लगायतका विषय बाहिर आएपछि प्रशासनले अनुगमनमा कडाई गरेको हो ।
पुरा सिलिण्डर ग्यास भित्रिएपछि डिपोले स्टक राखेर अनुचित लाभ लिन सक्ने भन्दै डिपोको गोदाम तथा संभावित स्थानमा अनुगमन गरिएको हो । स्टक लुकाउने, धेरै मूल्यमा बिक्री गर्ने तथा कृत्रिम अभाव खडा गर्नेजस्ता अनुचित प्रश्न उठेपछि एकिकृत सेवा कार्यालय, बागलुङ, बागलुङ नगरपालिका र पत्रकार सहितको संयुक्त अनुगमन गरिएको छ ।
बागलुङमा पछिल्लो २ दिनमा शक्ती, नेपाल ग्यास, गृहलक्ष्मी लगायतका दुई हजार १०० भरी ग्यास सिलिण्डर भित्रिएपछि उपभोक्ताहरु लामो लाईनमा बसेर ग्यास लिएका थिए । तत्कालै थप ग्यास आपूर्ती भएमा मात्र ग्यासको अभाव टार्न सकिने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बतानुभयो । प्रशासनको अनुरोधमा आएको ग्यासबाट केही व्यापारीले अनुचित लाभ लिन खोजेकाले पक्राउ गरी कार्वाही गर्न सिफारिस गरिएको आचार्यको भनाई छ ।
आचार्य स्टोर्स, न्यू किचन कपुर, अंकिता ग्यास, खड्का सप्लायर्स र फेमेली स्टोर्स लगायतका ग्यास डिपोको अनुगमन गरिएको थियो ।अनुगमनमा एकिकृत सेवा कार्यालय बागलुङका प्रमुख शिव शर्मा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, ग्यास विक्रेताका अध्यक्ष हरी प्रसाद आचार्य, सचिव राजु गौतम, बागलुङ नगरपालिकाका राजश्व शाखा प्रमुख सरस्वती रेग्मी र नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।
