बागलुङ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री गोबिन्द नेपालीले संघीयताको कार्यान्वयनको बाटो अवरुद्ध भएको टिप्पणी गर्नुभएको छ ।
बागलुङमा आयोजित ढोरपाटन राष्ट्रिय दैनिकको २४औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री नेपालीले पछिल्लो राजनीतिक घटनाक्रमले संविधानले परिकल्पना गरेको संघीयता नै धरापमा पर्ने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो ।
‘सुस्त संघीयता’ विषयमा प्रकाशित विशेषाङ्कको विमोचनपछि मन्त्री नेपालीले संघीयताको सुस्त र अलमलपूर्ण कार्यान्वयनले अवरोधको अवस्था सिर्जना गरेको बताउनुभयो । संघीयता आए पनि राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा रहेको केन्द्रीय मानसिकताका कारण संघीयता असफल हुने खतरा बढेको उहाँको भनाइ थियो ।
देशको विकास, अवसर र समावेशितामा आएको परिवर्तन संघीयताको उपलब्धि भए पनि यसको कार्यान्वयनमा भएको ढिलाइ तथा आवश्यक कानुन निर्माण र कार्यान्वयनमा देखिएको समस्याले संघीयताको मर्म अस्वीकार गरिएको जस्तो देखिएको मन्त्री नेपालीले बताउनुभयो ।
संघीयतालाई सही ढङ्गले कार्यान्वयनमा लैजान पत्रकारिता क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “पत्रकारिताले गरिरहेको खबरदारीले संघीयताको सफल कार्यान्वयनमा सघाउ पुग्छ । प्रदेश र स्थानीय तहले गरेका कामको अपनत्व संघ सरकारले लिन आवश्यक छ,” उहाँले भन्नुभयो, “समाचारले सुस्त कार्यान्वयन भइरहेको संघीयतालाई छिटो दौडिन सहयोग गर्छ ।”
राजनीतिक नेतृत्व, नेता तथा कर्मचारीतन्त्रमा रहेको केन्द्रीकृत मानसिकता अन्त्य हुन नसक्दा संघीयता अलमलमा परेको उहाँको भनाइ थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले संघीयतालाई चुस्त, पारदर्शी र प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभाका पूर्वसदस्य इन्द्रलाल सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’, नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइका अध्यक्ष गीता श्रीष, पत्रकार तथा सम्मानित व्यक्तित्व मुकेशचन्द्र राजभण्डारी र वरिष्ठ साहित्यकार काजी रोशनलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
ढोरपाटन दैनिकका प्रधानसम्पादक हरिनारायण गौतमको अध्यक्षता, कार्यकारी सम्पादक रामकृष्ण बोहरा र संवाददाता अनिष पाठकको सञ्चालन तथा समाचार सम्पादक फडिन्द्र अधिकारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
वार्षिकोत्सवका अवसरमा ढोरपाटन दैनिकले उत्कृष्ट संवाददाताका रूपमा अनिष पाठक र उत्कृष्ट कर्मचारीका रूपमा नलबहादुर थापा मगरलाई सम्मान गरेको छ । दुवैलाई जनही रु. १५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।