बागलुङ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मंसिरमा पार्टी अधिवेशन गर्ने तयारीलाई तीव्रता दिएको छ । अधिवेशनलाई लक्षित गर्दै पार्टीले जिल्लाका पालिका हुँदै वडा तहसम्म संगठन सुदृढीकरण तथा भेला तयारीको अभियान अघि बढाएको हो ।
पालिका तहमा पार्टी एकता बैठक सम्पन्न गर्दै वडा तहका गतिविधिलाई समेत व्यवस्थित बनाउन प्रत्येक वडामा इन्चार्ज, सह–इन्चार्ज र संयोजक तोकिएको छ । वडा तहमा हुने भेला, संगठन विस्तार तथा अधिवेशनको तयारीलाई प्रभावकारी बनाउन जिम्मेवारी बाँडफाँट गरेको छ ।
पार्टीको सांगठनिक एकता तथा आगामी अधिवेशनको तयारीका लागि जिल्ला तहका नेताहरू पालिकास्तरमा पुगेर नेता तथा कार्यकर्तासँग छलफल गरिरहेका छन् । जिल्ला ईन्चार्ज कमल घिमिरे, सह–इन्चार्ज फमलाल निउरे, सह–इन्चार्ज ज्ञामनाथ गैरे ‘अनिल’, जिल्ला संयोजक प्रकाश घर्ती लगायतको टोली विभिन्न पालिकामा पुगेर बैठक तथा छलफलमा सहभागी भएको छ ।

बैठकमा पार्टी अधिवेशनलाई लक्षित गर्दै वडा तहमा भेला आयोजना गर्ने, संगठनलाई थप व्यवस्थित बनाउने, पार्टी सदस्य तथा कार्यकर्तालाई सक्रिय बनाउने लगायतका विषयमा छलफल भएको छ । वडा तहका भेलामार्फत स्थानीयस्तरमा पार्टीको अवस्था, जनसम्बन्ध र संगठन विस्तारका विषयमा समेत समीक्षा गरिने गर्ने गरिएको जिल्ला ईन्चार्ज घिमिरेले जानकारी दिनुभयो ।
गत असार ११ गते गलकोटबाट सुरु भएको पालिका एकता भेला अभियान अन्तर्गत बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, गलकोट नगरपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र साउन ३१ गते तमानखोला गाउँपालिकामा पार्टी समिति एकता बैठक सम्पन्न भएको जिल्ला इन्चार्ज घिमिरेले जानकारी दिनुभयो ।
जिल्लाका १० पालिकामध्ये अब बरेङ, काठेखोला र बडिगाड गाउँपालिकामा एकता बैठक गर्न बाँकी रहेको उहाँले बताउनुभयो । बाँकी पालिकामा पनि एकता बैठक सम्पन्न गरी वडा तहसम्म संगठनात्मक गतिविधिलाई थप गति दिने तयारी भइरहेको छ ।

पालिका एकता बैठकमा सहभागी नेता तथा कार्यकर्ताले कम्युनिष्ट शक्तिहरूबीच एकता गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । पार्टी सत्ता केन्द्रित नभई देश र जनताको पक्षमा केन्द्रित हुनुपर्ने उनीहरूको सुझाव छ । जनताको समस्या, आवश्यकता र विकासका सवाललाई प्राथमिकतामा राखेर पार्टीले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिइएको छ । पार्टी संगठनलाई बलियो बनाउने क्रममा स्थानीय तहका नेता तथा कार्यकर्ताबीच समन्वय, सहकार्य र एकतालाई प्राथमिकता दिइएको नेताहरूले बताएका छन् । वडा तहसम्म संगठनलाई व्यवस्थित गर्दै जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने र पार्टीका गतिविधिलाई स्थानीयस्तरमा प्रभावकारी बनाउने उद्देश्य रहेको उनीहरूको भनाइ छ ।

पार्टी अधिवेशनलाई लक्षित गरी सुरु गरिएको अभियानले जिल्लाको पार्टी संगठनलाई नयाँ ढंगले व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । पालिका एकता सम्पन्न भएपछि वडा तहमा भेला र संगठन निर्माणको कामलाई तीव्रता दिँदै अधिवेशनको तयारीलाई अन्तिम रूप दिने नेकपाको तयारी छ ।