• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

रसुवाको बाढीमा वेपत्ता बागलुङका श्रमिकहरू : “कमजोर आर्थिक अवस्था,परिवारको विचल्ली”

बागलुङ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर वेपत्ता भएका बागलुङका १६ जना मध्ये अधिकाशंको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेको पाइएको छ ।

बाढीमा परेर रसुवाको त्रिशुली हाइड्रोपावर, हाकुवेशीमा काम गर्न गएका तमानखोला गाउँपालिकाका ९ जना, ढोरपाटन नगरपालिकाका २ जना, गलकोट नगरपालिकाका १ जना र नुवाकोटको त्रिशूली–३ बी जलविद्युत् आयोजनामा काम गर्दै आएका बागलुङ नगरपालिकाका २ जना इन्जिनियर र २ बालबालिका गरि १६ जना वेपत्ता हुनुहुन्छ ।

तमानखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष झकबहादुर बुढाका अनुसार बाढीमा वेपत्ता भएका उहाँका वडाका दलप्रसाद बुढा र सञ्जय श्रीपालीमाथी परिवार पूर्णरुपमा आश्रित थियो । ५० वर्षका दलप्रसाद बुढाका ९ वर्षीय १ छोरा, १ छोरी र विरामी श्रीमती, २२ वर्षीय सञ्जयका आमाबाबा र भाइ बहिनी उनिहरुको बाटो हेरिरहेका छन् ।

वडा अध्यक्ष झकबहादुर बुढा दलप्रसाद र सञ्जयको उद्दारको लागि बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढा सहित आफ्ना नागरिकको उद्दारका लागि रसुवा पुगेका वडा अध्यक्ष झकबहादुरले ७ औँ दिनसम्म पनि खोजि कार्य चलिरहेको भन्दै सकुशल भेटिने आशा झिनो बन्दै गएको बताउनुभयो ।

‘बाढीमा हराएकाहरु सकुशल भेटिने आशा कम हुँदै छ,’ उहाँले भन्नुभयो ‘सबैको आर्थिक अवस्था निकै कमजोर छ, सबैजना परिवार पाल्नकै लागि हाइड्रोपावरमा मजदुरी गर्न रसुवा पुगेका थिए, बिहान बेलुका छाक टार्न गाह्रो रहेको परिवारलाई कसरी व्यवस्थापन गर्ने चुनौति देखिएको छ ।’

तमानखोला गाउँपालिकाकै वडा २ बोङ्खानीका भिमबहादुर छन्त्याल र खड्क बहादुर छन्त्यालको परिवारिक अवस्था पनि उस्तै छ । श्रीमती, अपाङ्गता भएका बाबा आमा, छोरा, भाइबहिनी सहित ठुलो संख्यामा आश्रीत रहेका ३७ वर्षीय भिमबहादुरको परिवारमा पनि उनि वेपत्ता भएपछि वज्रपात परेको छ । ५२ वर्षीय खड्कको भरमा वृद्ध बाबाआमा, श्रीमती र छोराछोरी सहित परिवार चल्दै आएको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारले बताउनुभयो ।

तमानखोलाको वडा नम्बर १का मात्र ३ जना बाढीमा परेर वेपत्ता हुनुभएको छ । ३७ वर्षीय पदमबहादुर घर्ती मगर, ३२ वर्षका इन्द्र कुमार विक र २२ वर्षिय विष्णु घर्ति मगर वेपत्ता हुनुहुन्छ । पदमका एक श्रीमती १३ र ७ वर्षका छोराछोरी छन् । इन्द्रका श्रीमती सहित ११ र ८ वर्षका छोराछोरी र विष्णुका श्रीमती, छोरा, बाबाआमा र दाजु समेत उहाँमै आश्रीत रहेको प्रशासकीय अधिकृत परियारले बताउनुभयो ।

वडा नम्बर ४का ५८ वर्षीय लाता कामीका स–साना २ छोराछोरी र शारिरीक रुपमा कमजोर रहेकी श्रीमती हुनुहुन्छ । सोही वडाका भिमबहादुर विकका श्रीमती, ३ सन्तान, वृद्ध आमा सहित भाइको परिवार समेत उहाँमै आश्रीत रहेको वडा अध्यक्ष छवप्रसाद श्रीपालीले बताउनुभयो ।

ढोरपाटन नगरपालिका वडा नम्बर ४का बेजेन्द्र घर्तीकोको पनि आर्थिक अवस्था कमजोर रहेको वडा अध्यक्ष तिलक पुनले बताउनुभयो । आर्थिक अवस्था कमजोर रहेका २३ वर्षीय घर्ती परिवार पाल्नकै लागि हाइड्रोपावरमा मजदुरी गर्न रसुवा पुगेको उहाँको भनाई छ । ढोरपाटन ९ का २० वर्षीय तुलबहादुर सुनारको पनि परिवारको अवस्था उस्तै रहेको छ ।

एक हप्ता पहिलेमात्र मजदुरी गर्न रसुवाको अपर त्रिशुली हाइड्रोपावर पुगेका गलकोट नगरपालिका वडा नम्बर २ का २७ वर्षीय रमेश सुनार बाढीमा परेर वेपत्ता भएपछि परिवार शोकमा डुबेको छ । आर्थिक अवस्था निकै कमजोर रहेको रमेशको परिवारमा वृद्ध बाबाआमा, श्रीमती, २ छोराछोरी र भाइ हुनुहुन्छ । मजदुरी गरेर परिवार पाल्दै आएका रमेश वेपत्ता भएपछि परिवार आत्तिएको वडा अध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो । ‘बाढीमा वेपत्ता भएको ७ दिन वितिसक्यो, सकुशल भेटिने आशा मारेका छैनौँ,’ वडा अध्यक्ष भण्डारीले भन्नुभयो, ‘हामीले सोचेजस्तो रमेश सकुशल नभेटिए परिवारको विचल्ली हुन्छ ।’

बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङ्को एकै परिवारका ४ जना बाढीमा वेपत्ता हुँदा परिवार शोकमा डुबेको छ । इन्जिनियर ३३ वर्षीय राजेश शर्मा पौडेल उहाँका श्रीमती इन्जिनियर ३१ वर्षीय प्रमिला पाठक र दुइ छोराछोरी ४ वर्षका आदित्य शर्मा पौडेल र आदिती शर्मा पौडेल वेपत्ता हुनुहुन्छ ।