• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

तुरतुरे पहिरोको आठ वर्ष अझै बनेन सडक

स्थानीय हेमेन्द्र घर्तिमगरले आठ वर्ष सम्मपनि सडक नबन्दा यस क्षेत्रका बासिन्दालाई कष्टकर बनाएको बताउनुभयो । “स्थानीय सरकार,प्रदेश सरकार तथा केन्द्र सरकारको नजरमा नपरेको हो की ,माथीबाट ढुंङ्गा आउने तलबाट खोलाले खोलेको छ अहिले वान वे मात्र छ यसलाई छिटोभन्दा छिटो सम्बन्धित निकायले ध्यान दिनु पर्छ”उहाँले भन्नुभयो ।

बागलुङ । नेपालको गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ –बुर्तिबाङ खण्डको तुरतुरेमा पहिरो गएको वर्षौ बितिसक्दा समेत निमार्ण नहुदा उक्त सडकका हजारौ यात्रु जोखिम मोलेर यत्रा गर्न बाध्य छन् ।

ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमाना क्षेत्रमा पर्ने तुरतुरेमा पहिरो गएको वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार हुन सकेको छैन । वि.सं. २०७५ साउन १९ गते सुख्खा पहिरो गएपछि क्षतिग्रस्त बनेको सडक आठ वर्ष बितिसक्दापनि जोखिमपूर्ण अवस्थामै सञ्चालन भइरहेको छ । तुरतुरेमा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा करिब एक किलोमिटर सडक क्षतविक्षत भएको थियो । पहिरोले बडिगाड नदीसमेत थुनिएर केही समय ताल बनेको थियो । पछि उक्त ताल आफैं फुटेको थियो ।

मध्यपहाडी लोकमार्गले सडक निर्माण सम्पन्न गरेको केही समयमै पहिरो गएर क्षतिग्रस्त बनेको तुरतुरे खण्ड हालसम्म पनि पुरानै अवस्थामा रहेको छ । बडिगाड नदीको किनारमै रहेको सडकको चौडाइ पछिल्लो समय झन् साँघुरिँदै गएको छ । पहिरोबाट गिट्टी, बालुवा र ढुंगा निकाल्ने क्रम बढ्दा सडक थप जोखिममा छ । सडक घुरिएसँगै वानवे सञ्चालनमा छ । सडक निर्माण तथा संरक्षणका लागि सम्बन्धित निकायले पर्याप्त चासो नदिँदा दैनिक जोखिम मोलेर सवारी सञ्चालन गर्नुपर्ने अवस्था रहेको चालकहरू बताउँछन् ।
“सडकको अवस्थाले चालक तथा यात्रु दुबै जोखिममा छन् ,सडकको अवस्था निकै नाजुक छ,गाडी चिप्लिने,गाडीको पाङ्ग्रा पड्किने तथा गाडी र यात्रुलाई कसरी जोगाउने भन्ने तनाव हुन्छ ” सवारी चालक गणेश कुवँरले भन्नुभयोे ।

उक्त सडक भएर पश्मि नेपालका रुकुम,रोल्पा,तथा डोल्पा,जाजारकोट लगाएतका ठाउँमा पुग्न ठुला तथा साना सहित झण्डै १ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन् ।
सडक साँघुरिँदै गएको र तत्काल वैकल्पिक मार्गसमेत नरहेका कारण बाँकी सडकसमेत नदीले कटान गरेमा पूर्व–पश्चिम लोकमार्गको आवागमन नै प्रभावित हुने जोखिम छ ।
मध्यपहाडी लोकमार्ग आयोजनाले घोडाबाँधे–पातीहाल्नेसम्मको सडकलाई सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसकेको छ । तर तुरतुरे खण्ड भने पहिरो जानुअघिको अवस्थामा नै हस्तान्तरण गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार वर्षायाममा जोखिमका बाबजुद सडक सञ्चालनमा ल्याइए पनि हिउँदमा आवश्यक बजेट विनियोजन गरी निर्माण कार्य अघि बढाइने बताउनु भयो ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले यस आर्थिक वर्षमा पहिरो व्यवस्थापनकालागि बजेट विनियोजन भएको र यसै वर्ष मर्मत सम्भार गर्ने जानकारी दिनुभयो । “तुरतुरे पहिरोले सडक बडिगाड खोला छेउमा छ,बडिगाड खोलाले कटानपनि गरेको छ यसलाई व्यवस्थापन गर्नेगरी स्टकचर बनेको छ”उहाँले भन्नुभयो ।
तुरतुरे सडकखण्डको एकातर्फ चट्टानसहितको भिरालो पहरो र अर्कोतर्फ नदीतर्फ बग्ने माटो मात्रै रहेकाले सडक कटानको जोखिम बढ्दै गएको छ । सडकलाई सुरक्षित बनाउन पहरो काटेर सडक फराकिलो बनाउनुपर्ने अवस्था रहेको प्राविधिक पक्षको भनाइ छ ।

सडकमा पहिरो गएको लामो समय सम्मपनि सडक निमार्णले गति नलिदा स्थानीयलाई निरास बनाएको छ । स्थानीय हेमेन्द्र घर्तिमगरले आठ वर्ष सम्मपनि सडक नबन्दा यस क्षेत्रका बासिन्दालाई कष्टकर बनाएको बताउनुभयो । “स्थानीय सरकार,प्रदेश सरकार तथा केन्द्र सरकारको नजरमा नपरेको हो की ,माथीबाट ढुंङ्गा आउने तलबाट खोलाले खोलेको छ अहिले वान वे मात्र छ यसलाई छिटोभन्दा छिटो सम्बन्धित निकायले ध्यान दिनु पर्छ”उहाँले भन्नुभयो ।

समयमै सडक निर्माण तथा संरक्षण नगरे बडिगाड नदीको सतह बढ्दै जाँदा सडक थप कटानमा पर्ने र रुकुम,रोल्पा,पश्चिम रुकुम, जाजरकोट, सुर्खेत तथा रोल्पाबाट काठमाडौं आवतजावत गर्ने सवारीसाधनसमेत प्रभावित हुने स्थानीयको चिन्ता छ ।

तुरतुरे सडकखण्डलाई तत्काल सुरक्षित र व्यवस्थित बनाउन स्थानीयले सावारीचालकले सम्बन्धित निकायसँग माग गरेका छन् ।