ओसाका, जापान । प्रवासबाट बाढीपीडितलाई सहयोग गरिएको छ । मालिका समाज जापान क्षेत्रीय समिति कान्साईले बाढीपीडित तथा विपद् प्रभावितको सहयोगार्थ आयोजना गरेको श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रमबाट सङ्कलित रु.दुई लाख ९१ हजार राहत कोषमा जम्मा गरेको छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजित कार्यक्रममा जापानमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व, नेपाली समुदायका अगुवा तथा भक्तजनको सहभागिता रहेको थियो । धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै बाढीपीडितको सहयोगार्थ रकम सङ्कलन गरिएको थियो ।
कार्यक्रमबाट सङ्कलित नेपाली रु. दुई लाख ९१ हजारसँगै जापानी नागरिकबाट सहयोगस्वरूप प्राप्त जापानी येन २३ हजार १५० समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजका सचिव रामजी सापकोटाले जानकारी दिनुभयो ।
समाजका अध्यक्ष नन्दु सापकोटाको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमबाट सङ्कलित बाँकी केही रकम मानव सेवा आश्रमलाई सहयोगस्वरूप प्रदान गरिने अध्यक्ष सापकोटाले बताउनुभयो ।
मानवीय सेवाको उद्देश्यले आयोजित कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, उपस्थित महानुभाव तथा शुभेच्छुकप्रति समाजले आभार व्यक्त गरेको छ । कार्यक्रमले जापानमा रहेका नेपालीबीच सामाजिक एकता, सद्भाव र सहयोगको भावना थप बलियो बनाएको आयोजकले जनाएको छ ।