• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

अन्ततः परिवारले मार्‍यो आश, कुशको शव बनाएर गरियो अन्तिम संस्कार

बागलुङ । भोटेकोशी बाढीमा बेपत्ता भएका इन्जिनिर दम्पती सहित चार वर्षीय छोरा–छोरी फेला नपरेपछि परिवारले आज बिहीबार कुशको प्रतीक (शव) बनाएर अन्तिम संस्कार गरेको छ ।

बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला पाठक त्रिशुली ‘३ बी’मा काम गर्दथे भने उनसंगै थिए छोरा–छोरी । बाढीमा चारजना वेपत्ता भएपनि परिवारले सकुशल फेला पर्ने आश गर्दै आएको थियो । १६ दिनसम्म सम्पर्कमा नआएको र शव समेत फेला नपरेकाले अन्तिम संस्कार गर्न थालिएको परिवारका आफन्त लक्ष्मण रिजालले बताउनुभयो ।

इन्जिनियर ३३ वर्षीय राजेश शर्मा पौडेल, उहाँकी ३१ वर्षीया श्रीमती इन्जिनियर प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोराछोरी आदित्य शर्मा पौडेल र आदिती शर्मा पौडेलको १६ दिनमा परिवारले आश मारेको हो । एकै परिवारका चार जना भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीमा परी बेपत्ता भएपछि परिवार, आफन्त र गाउँ शोकमा डुबेको छ ।

जीवितै भेटिने आशा मरेपछि हिन्दु परम्परा अनुसार काजकिरिया सुरु गरिएको आफन्तको भनाइ छ । घटना लगत्तै दाजुभाई तथा आफन्त खोज्नका लागि प्रभावित क्षेत्रमा गएको भए पनि कुनै पत्तो नलागे पछि अन्तिम संस्कार गरिएको हो । चारजनाकै कुशको प्रतीक (शव) बनाएर पशुपती आर्यघाटमा अन्त्यष्टी गरिएको हो ।

आफन्त विष्णु शर्मामा अनुसार बाढी आउनुअघि छोरा–छोरी विद्यालय समेत नगएको पाइएको छ । उनिहरु आमा बुबासंगै विद्युत गृह नजिकैको क्वाटरमा बस्दै आएका थिए । इन्जिनियर राजेश शर्मा पौडेल परिवारका एक्ला छोरा हुनुहुन्थ्यो । आमा गिता देवि शर्मा बुबा भिम प्रसाद शर्माका चार जना सन्तानमध्ये कान्छो सन्तानको रुपमा इन्जिनियर शर्मा हुनुहुन्थ्यो । शर्माका तीन दिदी हुनुहुन्छ ।

बाढीमा परेर रसुवाको त्रिशुली हाइड्रोपावर, हाकुवेशीमा काम गर्न गएका तमानखोला गाउँपालिकाका ९ जना, ढोरपाटन नगरपालिकाका २ जना, गलकोट नगरपालिकाका १ जना र नुवाकोटको त्रिशूली–३ बी जलविद्युत् आयोजनामा काम गर्दै आएका बागलुङ नगरपालिकाका २ जना इन्जिनियर र २ बालबालिका गरि १६ जना वेपत्ता रहेको र उनिहरुको अवस्था अहिले सम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र प्रसाईले बताउनुभयो ।