सम्पादकीय । एमाले नेता गोकुल बाँस्कोटाले हालै वामपन्थीहरूबीचकै एउटा कार्यक्रममा कम्युनिस्टहरू ‘आर्यघाट र श्राद्धमा भेटिन्छन्’ भनेर गरेको व्यङ्ग्यलाई केवल राजनीतिक ठट्टा मानेर पन्छाउन मिल्दैन । यसभित्र नेपाली वामपन्थी आन्दोलनको वर्तमान अवस्थाको एउटा तीतो सत्य लुकेको छ । जीवित हुँदा एकअर्काको खुट्टा तान्ने, चुनावमा एकअर्कालाई हराउने, सत्ताका लागि एकअर्कासँग सौदाबाजी गर्ने अनि संकट पर्दा मात्रै एकताको कुरा गर्ने वामपन्थी चरित्रमाथिको व्यङ्ग्य हो यो । नेपालमा वामपन्थीको कमी छैन । कम्युनिस्ट पार्टीको नामको कमी छैन । झण्डा रातै छन्, भाषण समाजवादी छन्, घोषणापत्रमा श्रमिक–किसान छन् र चुनाव आउँदा जनताको मुक्ति पनि सम्झिइन्छ । तर व्यवहार हेर्ने हो भने प्रश्न उठ्छ, हामी कहाँ वामपन्थी धेरै छन् कि वामपन्थीको नाम बोकेका राजनीतिक व्यापारी धेरै छन् ? यो प्रश्न आज झन् गम्भीर बनेको छ । राजनीतिक रुपमा आज सबैभन्दा बढी छटपटाहट पनि वामपन्थी दलमै देखिन्छ । किनकि पछिल्ला निर्वाचनहरूले कम्युनिस्ट विचार बोकेका शक्तिहरूलाई क्रमशः कमजोर बनाउँदै लगेका छन् । जनताले उनीहरूलाई प्रश्न गर्न थालेका छन् । पुरानो नाराले नयाँ पुस्तालाई आकर्षित गर्न छाडेको छ । त्यसैले अब अर्को प्रश्न उठ्न थालेको छ, नेपालका वामपन्थी शक्तिहरू पनि भारतको पश्चिम बंगालका वामपन्थीहरूजस्तै क्रमशः राजनीतिक किनारामा पुग्ने त होइनन् ? पश्चिम बंगालमा वाममोर्चाले दशकौँ शासन ग¥यो । संगठन थियो, कार्यकर्ता थिए, विचार थियो, लामो राजनीतिक इतिहास थियो । तर समयअनुकूल आफूलाई बदल्न नसक्दा र जनतासँगको सम्बन्ध कमजोर हुँदै जाँदा सत्ता गयो । सत्ता गएपछि पुरानो जनाधार फर्काउन झन् कठिन भयो । नेपालका वामपन्थीहरूले यो इतिहास पढेका छन् कि केवल परीक्षा पास गर्नका लागि इतिहासको पुस्तक पल्टाएका छन् ?
नेपालको समस्या कम्युनिस्ट नाममा होइन, कम्युनिस्ट चरित्रमा हो । समाजवादको नारा लगाउने, तर पुँजीवादमा चुर्लुम्म डुब्ने । सार्वजनिक शिक्षा र स्वास्थ्यलाई बलियो बनाउने भाषण गर्ने, तर नागरिकलाई महँगो निजी सेवाको भरमा छोड्ने, धेरैजसो बामपन्थी नेताहरु निजी विद्यालय र निजी अस्पतालका मालिक छन् । राज्यको भूमिका बढाउने कुरा गर्ने, तर सार्वजनिक संस्थालाई कमजोर बनाउँदै जाने । श्रमिकको पक्षमा बोल्ने, तर श्रमिककै श्रमको राजनीतिक मूल्यांकन नगर्ने । अनि यस्तो व्यवहारलाई पनि समाजवादकै नाम दिने ! यस्तो समाजवाद कस्तो हो, जहाँ नेता समाजवाद बोल्छन् र कार्यकर्ता नेताका लागि राम्रो रेष्टुरेण्ट खोज्छन् ? कसले राम्रो खाना खुवायो ? कसले राम्रो सुट सिलाइदियो ? कसले राम्रो गाडी मिलाइदियो ? कसले देश दौडाहा गरायो ? कसले चाडपर्वमा खर्च जुटाइदियो ? कसले दैनिक खर्च, पुस्तक छपाइ, मोबाइल रिचार्ज वा पकेट खर्चको जोहो गरिदियो ? अनि चुनावमा टिकट चाहिँदा कसले कति पैसा खर्च गर्न सक्छ ? त्यति मात्रै होइन टिकटका लागि समेत नेताहरुले पैसा लिने गरेका विषय सार्वजनिक भएकै छन् । यदि यिनै प्रश्नले कार्यकर्ताको योग्यता निर्धारण गर्छ भने कम्युनिस्ट पार्टीको सिद्धान्त कहाँ गयो ? विचार कहाँ गयो ? त्याग कहाँ गयो ? श्रमको सम्मान कहाँ गयो ? कम्युनिस्ट आन्दोलनले वर्गविहीन समाजको सपना देखाएको थियो । तर आज कतिपय वामपन्थी पार्टीभित्रै नयाँ राजनीतिक अभिजात वर्ग निर्माण भएको देखिन्छ, नेताको नजिक हुने, सुविधा जुटाउने, पहुँच बनाउने र त्यसको बदलामा राजनीतिक अवसर पाउने वर्ग । झन् विडम्बना त त्यतिबेला हुन्छ, जब सार्वजनिक जग्गा, वन, नदी, बाटो, खानेपानी, विकास आयोजना र राज्यको बजेटमा समेत निजी स्वार्थ खोज्नेहरू नै वामपन्थी राजनीतिका अगुवा बन्न थाल्छन् । जनताको सम्पत्तिमा आँखा लगाउने, विकासमा कमिसन खोज्ने र राज्यको पहुँचलाई निजी सम्पत्ति बढाउने साधन बनाउने व्यक्तिले रातो झण्डा बोकेकै भरमा आफूलाई कम्युनिस्ट भन्न मिल्छ ? वामपन्थी हुनु निजी क्षेत्रको विरोध गर्नु होइन । तर शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षाजस्ता आधारभूत विषयमा राज्यको दायित्व स्थापित गर्नु वामपन्थी राजनीतिको न्यूनतम जिम्मेवारी हो । बजारलाई समाजमाथि हावी हुन दिनु र त्यसलाई समाजवादको नाम दिनु राजनीतिक शब्दको दुरुपयोग मात्र हो ।
अझ ठूलो विरोधाभास पार्टीभित्रको लोकतन्त्रमा छ । बाहिर लोकतन्त्रको रक्षा गर्ने भाषण, भित्र नेतृत्वको आलोचना गर्नसमेत डराउनुपर्ने अवस्था । जनतालाई लोकतन्त्र सिकाउने पार्टीभित्र नेतृत्व परिवर्तनको ढोका बन्द । पार्टी चोइटिएर सानो होस्, संगठन खिइएर कमजोर होस्, जनाधार घटोस्, तर कुर्सी नछोड्ने संस्कार ! यो कस्तो लोकतन्त्र हो ? आफ्नो पार्टीमा लोकतन्त्र नचाहनेले देशमा लोकतन्त्रको ठेक्का कसरी लिने ? हरेक समस्या आयो भने विदेशीको हात, प्रतिक्रियावादीको षड्यन्त्र, साम्राज्यवादीको चाल, विस्तारवादीको योजना खोज्ने पुरानो शैली पनि अब जनताले पत्याउन छाडेका छन् । पार्टीभित्रको कमजोरीको कारण पनि बाहिरै खोज्ने हो भने आत्मसमीक्षा कहिले गर्ने ? वामपन्थी दलहरूले बुझ्नुपर्ने कुरा सरल छ, जनता अब झण्डा हेरेर मत हाल्दैनन् । व्यवहार हेर्छन् । नेताको भाषणभन्दा उसको जीवनशैली हेर्छन् । घोषणापत्रभन्दा उसको शासन हेर्छन् । समाजवादको नारा होइन, सार्वजनिक विद्यालयको अवस्था हेर्छन् । अस्पतालमा नागरिकले पाएको सेवा हेर्छन् । रोजगारी खोज्दै विदेशिने युवाको संख्या हेर्छन् । अब वामपन्थीका लागि सबैभन्दा ठूलो विपक्षी अर्को पार्टी होइन, आफ्नै चरित्र हो । समयमै सुधारिएन भने इतिहास कठोर हुन्छ । पश्चिम बंगालमा जस्तै एकदिन संगठन बाँकी रहला, झण्डा बाँकी रहला, कार्यालय बाँकी रहला, नेता बाँकी रहला, तर जनताको मत बाँकी नरहन सक्छ । त्यसैले नेपाली वामपन्थीका लागि अब चेतावनीको समय हो । नाममा वाम भएर पुग्दैन, व्यवहारमा पनि वाम हुनुपर्छ । रातो झण्डाले विचारको प्रमाणपत्र दिँदैन । समाजवादको भाषणले समाजवादी चरित्र बनाउँदैन । निर्णय अब वामपन्थी दलहरूले गर्ने होइनन्, जनताले गर्नेछन् । र जनताको निर्णय कहिलेकाहीँ निकै ढिलो आउँछ, तर आएपछि इतिहास बदलिदिन्छ ।