बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका वडा नम्बर ४ विसौनाकी देवी घर्तीलाई पेट दुख्न थालेको थियो । देवीलाई साँझ एक्कासी सुत्केरी व्यथाले च्याप्यो ।
मुसलधारे पानी परेको थियो । गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराएकी देवीलाई स्वास्थ्यकर्मीले ‘ग्राहो अफ्ट्यारो परे गाउँपालिकामा एम्बुलेन्स छ, तुरुन्तै सम्पर्क गर्नु’ भनेका थिए । देवीका परिवारले गाउँपालिकाको स्वास्थ्य शाखालाई फोनमार्फत जानकारी गराए । गाउँपालिकाले तुरुन्तै एम्बुलेन्स पठायो ।
३५ वर्षीया देवीले गाउँकै हिल स्वास्थ्य चौकीमा सोही रात तेस्रो सन्तानको रूपमा छोरालाई जन्म दिनुभयो । यसअघि दुई सन्तान हिँडेर स्वास्थ्य संस्था पुगेर जन्माउँदा स्टेचरमा घर फर्किएकी देवीलाई यसपटक भने गाउँपालिकाको एम्बुलेन्सले नै घर पु¥याइदियो ।
बागलुङको ताराखोला गाउँपालिकाले पालिका भित्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । देवीले पालिकाबाट सोही सेवा प्राप्त गर्नुभएको हो ।
गाउँपालिकाबाट निशुल्क एम्बुलेन्स सेवा लिने देवीजस्तै ६५ जना महिलाहरू छन् । गाउँपालिकाका गर्भवती र सुत्केरी महिलालाई घरबाट स्वास्थ्य चौकी, स्वास्थ्य चौकीबाट सदरमुकामको धौलागिरी अस्पताल र पोखराका विभिन्न अस्पताल, अस्पतालदेखि घरमै पु¥याउने गरेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताउनुभयो ।
गाउँपालिकालाई २०६७ सालमा स्थानीय पोषक सापकोटा र उहाँका दाजुभाइले एम्बुलेन्स दिनुभएको थियो । २०७७ सालमा गलकोट समाज जापानले अर्को एम्बुलेन्स उपलब्ध गरायो । सापकोटा र उहाँको परिवारबाट प्राप्त एम्बुलेन्स पुरानो भएर राम्रोसँग काम नगरे पनि गलकोट समाज जापानले उपलब्ध गराएको एम्बुलेन्सबाट सेवा प्रदान गरिरहेको स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताउनुभयो । नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न पालिकाले ३ वटा स्वास्थ्य इकाई सञ्चालन गरिरहेको छ । गाउँपालिकाका ५ वटै वडामा सुविधा सम्पन्न वर्थिङ सेन्टरसहितका स्वास्थ्य चौकी छन् ।
भौगोलिक हिसाबले अफ्ट्यारो र आर्थिक अवस्था कमजोर भएका आफ्ना नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउनका लागि पनि यो सेवा नियमित प्रदान गरिरहेको अध्यक्ष विकको भनाइ छ । गर्भवती र सुत्केरीका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको गाउँपालिकाले अन्य रोगी तथा बिरामीहरूका लागि पनि निश्चित शुल्क लिएर बागलुङ सदरमुकाम, पोखरा, काठमाडौं र देशका जुनकुनै अस्पतालमा पुर्याउँदै आएको विकले बताउनुभयो ।
‘डिजेलको मात्र निश्चित शुल्क लिएर अन्य बिरामीहरूलाई पनि सम्बन्धित अस्पताल पुर्याउँदै आएका छौँ,’ अध्यक्ष विकले भन्नुभयो, ‘सवारी रिजर्भ गरेर अस्पताल पुर्याउँदा हुने ठूलो खर्चले नागरिकले उपचार गर्न पाएका छन् ।’
