• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

कांग्रेस बागलुङ नगरको नेतृत्वमा रस्साकस्सी : ‘नवीन कांग्रेस’ दावेदारका एजेण्डा

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न गर्दै पालिका तहको नेतृत्व चयनतर्फ अघि बढिरहेका बेला बागलुङ नगरपालिकामा सभापतिका दावेदारबीचको प्रतिस्पर्धा चासोको विषय बनेको छ । जिल्ला सदरमुकामसमेत रहेको बागलुङ नगर कांग्रेसको नेतृत्वका लागि वर्तमान उपसभापति नारायण पौडेल र सचिव आशिक राजभण्डारीले सशक्त दाबी प्रस्तुत गरेसँगै नगरको राजनीतिक माहोल तातेको हो ।
दुवै दावेदारले संगठन सुदृढीकरण, पार्टीलाई एकताबद्ध बनाउने र नयाँ पुस्तालाई प्राथमिकतामा राख्ने विषयलाई आफ्नो नेतृत्वको एजेण्डा बनाएका छन् । पौडेलले अनुभवसहितको नेतृत्व र राजभण्डारीले युवामैत्री नेतृत्वको आवश्यकतामा जोड दिँदै सभापतिको दाबी गर्नु भएको छ । उनीहरूको दाबी अब केवल पद प्राप्तिको प्रतिस्पर्धामा सीमित नरही कांग्रेसलाई स्थानीय स्तरमा कसरी नयाँ ढंगले अघि बढाउने भन्ने बहससँग जोडिएको छ ।

बागलुङ नगरपालिकाका १४ वडामध्ये १३ वडाको अधिवेशन सम्पन्न भई प्रतिनिधि चयन भइसकेका छन् भने ११ नम्बर वडाको अधिवेशन मंगलबार भइरहेको नगर सभापति उमाकान्त शर्मा बाबुले जानकारी दिनुभयो । बुधबारदेखि सुरु हुने गाउँपालिका तथा नगर अधिवेशनको तयारीसँगै नगर सभापतिको नेतृत्वमा को पुग्ने भन्ने विषयमा चर्चा बढेको हो । वर्तमान उपसभापति नारायण पौडेलले उपसभापतिको जिम्मेवारी सम्हालिसकेकाले सभापतिमा आफ्नो स्वाभाविक दाबी रहेको बताउनुभयो । आफ्नो नेतृत्वमा पार्टीलाई थप एकताबद्ध, जनमुखी र संगठनात्मक रूपमा सुदृढ बनाउने योजना रहेको उहाको भनाइ छ ।

“पार्टीको नगर उपसभापति भएकाले स्वतः सभापतिको दाबेदार छु । अन्य साथीहरूको पनि आकांक्षा होला, सबैको पालो आउँछ । मेरो नेतृत्वमा पार्टीलाई थप एकताबद्ध, जनमुखी बनाउने, विकासका कामलाई अघि बढाउने, युवालाई प्राथमिकतामा राख्ने र संगठन सुदृढीकरण गर्दै नवीन कांग्रेसलाई संस्थागत गर्ने योजना छ ।”

पौडेलले संगठनको अनुभवलाई नयाँ कार्यदिशासँग जोड्ने र नगर विकासका सवालमा राजनीतिक पहल बढाउने विषयलाई आफ्नो दाबीको आधार बनाएका छन् । यस्तै, नगर सचिवका रूपमा काम गरिसकेका आशिक राजभण्डारीले अबको नेतृत्व युवामैत्री हुनुपर्ने बताउनु भएको छ । पार्टीभित्र देखिएको खलबलिएको अवस्थालाई सम्हाल्दै युवालाई प्रोत्साहन र पाका पुस्तालाई सम्मान गरेर अघि बढ्ने आफ्नो एजेण्डा रहेको उहाँले बताउनुभयो ।

“पार्टी सचिव भएको अनुभव छ, नेतृत्वमा स्वाभाविक दाबी हुन्छ । युवालाई अगाडि बढाउने, पाका पुस्तालाई सम्मान गर्ने र अहिले खलबलिएको कांग्रेसलाई सम्हाल्ने मेरो एजेण्डा हो । नगरको पार्टी नेतृत्वसँगै जिल्ला सदरमुकामको विकास र समृद्धिका लागि राजनीतिक एकता र पहल निरन्तर गर्छु ।” राजभण्डारीले नेतृत्वमा पुस्तान्तरणको बहसलाई अनुभवको सम्मानसँग जोड्दै नगरको विकासका लागि राजनीतिक एकता आवश्यक रहेको धारणा अघि सानु भएको छ ।

नगर सभापतिका लागि दुई जनाले दाबी प्रस्तुत गरेपनि जिल्ला तहका नेताहरू भने सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा छन् । नगर सभापति उमाकान्त शर्मा (बाबु)ले आफू पुनः सभापति नदोहोरिने जानकारी दिँदै साथीहरूलाई मिलाएर अघि बढ्ने आफ्नो प्रयास रहने बताउनुभयो । वर्तमान परिस्थितिमा सर्वसम्मतिको बाटो उपयुक्त हुन उहाँको धारणा छ । नगर नेतृत्व चयनमा सहमतिको प्रयास भइरहे पनि पौडेल र राजभण्डारी दुवैको दाबी बलियो देखिएकाले प्रतिस्पर्धाको सम्भावनालाई समेत चासोका साथ हेरिएको छ । नेतृत्व चयनको अन्तिम स्वरूप भने अधिवेशनमा हुने छलफल, सहमति र प्रक्रियाबाट टुंगो लाग्नेछ ।

यसपटक पालिका सभापतिलाई नै महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुने व्यवस्था रहेकाले गाउँ–नगर तहको नेतृत्व चयनलाई विशेष महत्वका साथ हेरिएको छ । पालिका सभापतिको प्रतिस्पर्धा आगामी महाधिवेशनको प्रतिनिधित्व र राजनीतिक समीकरणसँग जोडिएर समेत हेरिन थालेको छ । नगर सभापतिका दुवै दावेदारले नवीन कांग्रेस, एकताबद्ध संगठन र युवाको सहभागिताको विषय उठाएका छन् । तर बदलिँदो राजनीतिक परिवेशमा परम्परागत दलप्रति युवा पुस्तामा देखिएको निराशा, पार्टीभित्रको अन्योल र स्थानीय संगठनको प्रभावकारितासम्बन्धी प्रश्नको जवाफ नयाँ नेतृत्वले कसरी दिने भन्ने विषय महत्वपूर्ण छ ।
नेपाली कांग्रेसको संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । त्यसअघि वडा, गाउँ–नगर, प्रदेश सभा निर्वाचन क्षेत्र तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न गर्ने तयारीमा नेता तथा कार्यकर्ता जुटेका छन् ।

संस्थापन इतर पक्षले भने १५ असोजदेखि वडा अधिवेशन सुरु गरेर २१, २२ र २३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । दुवै पक्षका कार्यतालिकाबीचको अन्तरले कांग्रेसको अधिवेशन प्रक्रियामा देखिएको फरक राजनीतिक अवस्थालाई संकेत गर्छ । बागलुङ नगरको नेतृत्व चयन पनि यही व्यापक महाधिवेशन प्रक्रियाको स्थानीय कडी बनेको छ ।

बागलुङ नगर कांग्रेसको आगामी नेतृत्वले केवल संगठनको जिम्मेवारी सम्हाल्ने कि युवाको विश्वास, कार्यकर्ताको एकता र नगर विकासका मुद्दालाई नयाँ राजनीतिक कार्यशैलीसँग जोड्ने भन्ने प्रश्न अब नेतृत्व चयनसँगै बहसमा आएको छ । पौडेलको अनुभवसहितको दाबी र राजभण्डारीको युवामैत्री नेतृत्वको एजेण्डाबीचको बहसले नगर कांग्रेसको आगामी दिशा निर्धारणमा भूमिका खेल्ने देखिन्छ ।