बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा पहिलो सिकार याम शुरु भएको छ । यो वर्षको पहिलो सिकार यामका लागि सिकारी नेपाल आउने तरखरमा छन् । ढोरपाटन सिकार आरक्षमा पहिलो सिकार याममा १० नाउर र ७ झारलको सिकार हुँदैछ ।
पहिलोे सिकार यामका रुपमा रहेको असोज–मंसिर याममा सिकार खेल्नका लागि सिकारीहरु वन्यजन्तु विभाग अन्र्तगत ठेक्का पाएका कम्पनीसंग समन्वय गरिरहेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।
पहिलो सिकार याममा खुल्ला गरिएको १० नाउर र ७ झारलको सिकार खेल्ने विदेशी सिकारी नेपाल आउने तरखरमा रहेको बरालले जानकारी दिनुभयो । विश्वका धनाश्य सिकारीहरु ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् । रसियन, अमेरिका, स्पेन, डेनिस, अफ्रिकन र फ्रान्स लगायतका देशबट सिकार खेल्न नेपाल आउने गर्दछन् । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्र्तगत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रतिस्प्रर्धाबाट सिकार गराउनको लागि सिकार कम्पनीहरुका लागि २०८३ भदौं ४ गते पहिलो सिकार यामका लागि दरभाउ पत्र आव्हान गरेको थियो ।
ढोरपाटन सिकार आरक्षमा गत वर्ष दुई सिजनमा २१ नाउर र ११ झारलको सिकार भएको थियो भने रु. ४ करोड १७ लाख सिकार वापतको राजश्व संकलन भएको थियो । यस वर्षको पहिलो सिकार याममा राजश्वक बुझाउने काम भइरहेको छ । “१० नाउर र ७ झारलको सिकार पहिलो याममा चल्ने छ, प्रतिस्प्रर्धाका आधारमा कहिले धेरै र कहिले थोरै राजश्व संकलन हुन्छ, गत वर्ष एउटै नाउरको रु.२० लाख सम्म परेको थियो” प्रमुख संरक्षण अधिकृत बरालले भन्नुभयो “चालु आर्थिक वर्षमा गत वर्ष चितुवा गणनाका लागि राखिएको क्यामेरा झिकेर चितुवाको अवस्था पहिलो पटक पत्ता लगाउनेछौ भने यो वर्ष आरक्ष भित्र रहेको नाउर र झारलको गणना समेत गरिने छ ।”
सिकारीहरु बन्दोबस्तीका सामग्रीसहित सिकारीहरु नेपाल आउने तरखरमा छन् । विदेशी सिकारी हेलिकप्टरमार्फत सोझै सिकार ब्लकमा पुग्ने गरेका छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन् ।
सिकार खेल्ने क्रममा नेपाली सहयोगी सहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिने गरेका छन् । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकार याम असोज–मंसिर र दोस्रो सिकार याम फागुन–वैशाख गरी दुई चरणमा सिकार खेलाउदै आएको छ ।
विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने नियम रहेको छ । विंस २०४४ सालमा स्थापना भएको सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भएपनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । ढोरपाटनमा विदेशी सिकार खेल्न आउने गरेका छन् भने आन्तरिक पर्यटक घुम्न आउने गरेको छ । गत आर्थिक वर्षमा ढोरपाटन सिकार आरक्षमा ३७ हजार आन्तरिक तथा बाह्य पर्यटकहरु पुगेका थिए ।
