• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

बाढीपहिरो पीडितलाई एनआएनएको १२ लाखको राहत

  • २०८३ आश्विन १६, शुक्रबार

बागलुङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बागलुङको निसीखोला र ताराखोलाका बाढी पहिरो पीडितलाई रु.१२ लाख बराबरको राहत सामाग्री सहयोग गरेको छ ।

एनआरएनएले निसीखोला गाउँपालिकाका बाढी पहिरो पीडितलाई सात लाख र ताराखोलाका बाढी पहिरो प्रभावित परिवारलाई पाँच लाख बराबरको खद्यन्न, लत्ता कपडा लगायत आवश्यक सामाग्री जिल्ला प्रशासन कार्यालय मार्फत सहयोग उपलव्ध गराइएको एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

एनआरएनएले निसीखोला गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ का ६८ बाढीपहिरो प्रभावित घरपरिवारलाई करिब ७ लाख बराबरको चामल, दाल, तेल, चिउरा, सोयाबिन, आलु, चाउचाउ, चिनी प्रदान गरेको हो । यस्तै ताराखोला गाउँपालिकाका बाढीपहिरो प्रभावितका लागि ५ लाख मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको सापकोटाले जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ भएपछि जिल्ला प्रशासन मार्फत वितरण गर्नेगरी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचायलाई हस्तान्तरण गरिएको थियो ।

लत्ता कपडासंगै आवश्यक पावर बैंक तथा टर्च लाइट जस्ता अत्यावश्यक विद्युतीय सामाग्री समेत प्रदान गरिएको छ । एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले प्रमुख जिल्ला अधिकारी आचार्यलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो । राहत हस्तान्तरण कार्यक्रममा संसदको पूर्वाधार विकास समितिका सभापति तथा सांसद आशिष गजुरेल, बागलुङका सांसद सोम शर्मालगायत सुरक्षा निकायको उपस्थिति रहेको थियो ।

  • २०८३ आश्विन १६, शुक्रबार