• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

दरमखोलामा बग्यो वडा कार्यालय

  • २०८३ आश्विन १७, शनिबार

बागलुङ । गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन बनेको पाँच बर्ष मात्रै भएको थियो । तीन रोपनी जग्गामा बनेको वडा कार्यालय भवन रङ्ग समेत बिग्रिएको थिएन । स्थानीयको सहयोगमा जग्गा खरिद गरेर रु. ८० लाख लागतमा निर्माण गरिएको वडा कार्यालय भवन असोज ११ गते आएको बाढीले दरमखोलामा मिसाएको छ ।

दरमखोलामा आएको बाढीको कटानले वडा कार्यालयलाई दरमखोलामा पु¥याएर क्षति बनाएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयको कागजपत्र सहित सबै कुरा खोलामा मिसिएको पीडा व्यक्त गर्नुभयो । स्थानीयको श्रम, जनप्रतिनिधिको पहल र सरकारी लगानीमा निर्माण भएको भवन अहिले खोलाको बगरमा पल्टिएको छ ।

“विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएपछि थापाले स्थानीयवासीसँगको सहकार्यमा वडा कार्यालय भवन निर्माणको पहल गरेकोे थियो, नगरपालिकाको रु.८० लाख बजेट र स्थानीयवासीको सहयोगमा तीन रोपनी जग्गा खरिद गरी निर्माण गरिएको भवन वडाको प्रशासनिक केन्द्र मात्रै थिएन, स्थानीयको साझा सम्पत्ति समेत थियो” थापाले भन्नुभयो “यत्रो बाढी आउला भन्ने कल्पना थिएन, वडा कार्यालयपछि ग्याबिन जाली समेत संरक्षणका लागि थियो, बाढीले आफ्नै नौ रोपनी खेत बगर बनाएको छ, अव वडा कार्यालय अस्थायी रुपमा सञ्चालनमा ल्याउछौं ।”

दरमखोलाको निरन्तर कटानले ११ गते आइतबार साँझ करिब ४ बजे भवनलाई जगैदेखि बगाएर खोलामा पु¥याएको छ । भवनसँगै सरकारी लगानी, स्थानीयको योगदान र वर्षौँको मेहनत खोलाको धारमा मिसिएको छ ।

वडाध्यक्ष थापाका लागि भवन ढल्नु व्यक्तिगत क्षतिभन्दा पनि सामूहिक उपलब्धि गुमेको बताउनुहुन्छ । भवनलाई सुविधायुक्त बनाउन दोस्रो कार्यकालमा समेत उनले स्रोतसाधन जुटाएका थिए । भवनमा जडान गरिएको झण्डै रु १५ लाखको सौर्य ऊर्जा प्रणालीमा समेत क्षति पुगेको छ ।

भवनमा नदी कटानको जोखिम बढ्दै गएपछि स्थानीयवासीले कम्प्युटर, ल्यापटपलगायत केही महत्वपूर्ण उपकरण र अभिलेख सुरक्षित स्थानमा सारेका थिए । उनीहरूको यो प्रयासले केही सरकारी सामग्री जोगिए पनि भवन र त्यसमा गरिएको लगानी जोगाउन, सोलार प्यानल सहित भवनसंग जोडिएका अन्य भौतिक संरचना क्षति भएको हो । स्थानीय अमृता ढकालले भवनको जग नै कमजोर हुने गरी खोलाले कटान गरेपछि संरचना बगाएर आफ्नो घरमा समेत जोखिम तुल्याएको बताउनुहुन्छ ।

दरमखोलाको कटानले वडा कार्यालय भवन मात्रै बगाएको छैन । बाह्रमुखी, टिमुरबोटलगायतका फाँटमा पाक्नै लागेको धान बगाएपछि किसान मर्कामा परेका छन् । वडा कार्यालय नजिकै रहेको स्थानीय अमृता ढकालको घरसमेत जोखिममा परेको छ ।
“वडा कार्यालय भन्दा तल समेत जमिन थियो, अहिले वडा कार्यालय बगाएपछि हाम्रो घरमा जोखिम पु¥याएको छ, राती सुत्न सकिदैन” ढकालले भन्नुभयो ।

गलकोट नगरपालिकाले बाढीपहिरोबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गरिरहेको जनाएको छ । प्रारम्भिक विवरणअनुसार नगर क्षेत्रभित्र २२ घरगोठमा क्षति पुगेको छ । रिसोर्टलगायत व्यावसायिक संरचनामा समेत क्षति पुगेको छ । दरमखोला रिसोर्ट लगायतमा क्षति पु¥याएको छ ।

नगरप्रमुख भरत शर्मा गैरेले सरकारी तथा निजी क्षेत्रको करोडौँ रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको बताउदै तथ्याङ्क संकलनको क्रममा रहेको बताउनुभयो । जन्मदर्ता, मृत्युदर्ता, नागरिकता सिफारिस, सामाजिक सुरक्षा भत्ता तथा अन्य प्रशासनिक कामका लागि वडावासीले केही समय सास्ती खेप्ने देखिएपनि अस्थायी रुपमा सेवा सञ्चालन गर्ने तयारी नगरपालिकाको छ । बाढीपहिरोबाट गलकोटसहित बागलुङका अधिकांश स्थानीय तह प्रभावित बनेका छन् । जिल्लामा पहिरोमा परी १३ जनाले ज्यान गुमाएका छन् भने ठूलो भौतिक क्षति भएको छ ।

 

  • २०८३ आश्विन १७, शनिबार