• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

बाढीपहिरो : ५० करोडको सडक पूर्वाधारमा क्षति

“तथ्याङ्क संकलनको क्रममै छौ, सडक पूर्वाधारमा रु. २० करोडको क्षतिको अनुमान गरिएको छ” थापाले भन्नुभयो “ठेक्काको अवधि रहेको हरिचौर–ताराखोला सडक पुननिर्माणका लागि ठेकेदारलाई पत्र पठाएका छौं ।”

बागलुङमा बाढी पहिरोबाट मानवीय क्षति संगै ठूलो भौतिक क्षति समेत भएको छ । १३ जनाको ज्यान गएको पछिल्लो विपद्मा मुख्य सडकहरुमा मात्रै रु. ५० करोडको क्षति पुगेको छ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट बागलुङमा सबैभन्दा बढी क्षति सडक पूर्वाधारमा पुगेको छ ।

सडक डिभिजन कार्यालय अन्र्तगतका राष्ट्रिय र सहायक राजमार्ग तथा पूर्वाधार विकास कार्यालय अन्र्तगतका प्रदेशस्तरीय सडक पूर्वाधारमा बाढी पहिरोका कारण रु. ५० करोडको क्षति आकलन गरिएको छ । उक्त सडकलाई दीर्घकालिन समाधान गर्न रु.एक अर्ब भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । सबैभन्दा बढी क्षति मध्यपहाडी लोकमार्गको निसी र गलकोट खण्ड र प्रदेश सरकार अन्र्तगतको गलकोट–हरिचौर–ताराखोला खण्डमा ठूलो क्षति पुगेको छ । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरी सुवेदीका अनुसार सडक डिभिजन कार्यालय अन्र्तगतको कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, बागलुङ–बेनी सडक लगायतका राजमार्गमा रु.३० करोडको क्षति भएको बताउनुभयो ।
मध्यपहाडी लोकमार्गको निसीखोलाको कानाबगर र झिवाखोला क्षेत्रमा ४०० मिटर सडकको ट्रयाकनै बगाएर बगरमा परिणत भएको छ । यस्तै घोडाबाधेदेखि हटिया सम्मको लोकमार्गको सडक समेत एक दर्जन भन्दा बढी स्थानमा पहिरो गएको र भाँसिएको छ ।

कालीगण्डकी करिडोरको कालाखोला बगर, बेलबगर र जैमिनीघाट लगायतमा पहिरोले क्षति बनाएको छ । “रु. ३० करोडको सडक पूर्वाधारमा क्षति बनाएको आकलन गरेका छौं, पुलको पहुँचमार्गदेखि कालोपत्र सडक, सडकको ट्रयाक तथा पहिरो लगायतमा बढी क्षति भएको छ, दिर्घकालिन समाधान सहित पुरानै अवस्थामा ल्याउन रु.५० करोड सडक डिभिजन अन्तरगतका मुख्य राजमार्गमा खर्च लाग्ने देखिन्छ” डिभिजन प्रमुख हरी सुवेदीले भन्नुभयो । बागलुङ बजारहुँदै सिगाना जाने सडक तथा बागलुङ बजारदेखि तित्याङ जाने सडकमा समेत पहिरोले क्षति पु¥याएको छ । यस्तै पूर्वाधार विकास कार्यालय बागलुङको प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेश सरकार मातहतमा काम भइरहेका क्षेत्रीय सडकहरुमा रु. २० करोडको क्षति भएको अनुमान गरिएको छ ।

कार्यालयका प्रमुख अनुप थापाका अनुसार सबैभन्दा बढी क्षति हरिचौर–ताराखोला सडकमा भएको बताउनुभयो । उहाँले ८ किमि सडकमा एक दर्जन ठाउँमा पहिरो र तीन ठाउँमा ताराखोलाले कालोपत्र सडकको ट्रयाकनै बगाएर ठूलो क्षति बनाएको बताउनुभयो । यस्तै शालग्राम संग्रहालय–मालिका–पञ्चकोट सडक तथा कुश्मिसेरा–राङ्खानी सडकमा समेत क्षति पुगेको छ । “तथ्याङ्क संकलनको क्रममै छौ, सडक पूर्वाधारमा रु. २० करोडको क्षतिको अनुमान गरिएको छ” थापाले भन्नुभयो “ठेक्काको अवधि रहेको हरिचौर–ताराखोला सडक पुननिर्माणका लागि ठेकेदारलाई पत्र पठाएका छौं ।”

जिल्लामा बाढीपहिरोबाट सबैभन्दा धेरै क्षति सडक पूर्वाधारमा भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । उहाँका अनुसार खोला किनारबाट बनेका पक्की सडकहरु बगर बनेको बताउनुभयो ।
अहिले तत्काल सडक सुचारु गर्ने योजना अनुसार करिडोर तथा मध्यपहाडी लोकमार्ग र सडक सम्पर्क टुटेको ताराखोलामा शहिदमार्ग खुलाइएको प्रजिअ आचार्यले बताउनुभयो । बाढी पहिरोका कारण ६ वटा सिँचाइ योजना, २०० बढी सिँचाइ कुलो, दर्जन बढीमा तटबन्धन बगाएको छ । यस्तै खानेपानीका १६ योजनामा क्षति पुगेको छ ।