• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

दसैँको उल्लाससँगै सामाजिक सद्भाव र मानवीयता बढाऔँ

  • २०८३ आश्विन २५, आईतवार

सम्पादकीय । नेपालीको महान् पर्व बडादसैँ आज घटस्थापनासँगै सुरु भएको छ । घरघरमा जमरा राखेर दुर्गा भवानीको पूजा आराधना गर्ने, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने तथा परिवार र आफन्तसँग खुसी साटासाट गर्ने यो पर्व नेपाली समाजको मौलिक सांस्कृतिक पहिचान हो । दसैँ केवल धार्मिक अनुष्ठान र परम्परा निर्वाह गर्ने अवसर मात्र होइन, पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव, आपसी प्रेम र सद्भावना अभिवृद्धि गर्ने महत्वपूर्ण पर्व पनि हो । त्यसैले दसैँको उल्लाससँगै यसले दिने सन्देशलाई व्यवहारमा उतार्न आवश्यक छ । घटस्थापनाका दिन घरघरमा जमरा राखेर सुरु हुने नवरात्रमा नौ दुर्गाको पूजा आराधना गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने दसैँले अन्याय, अत्याचार, अहङ्कार र खराब प्रवृत्तिमाथि सत्य, सदाचार र न्यायको विजय हुने सन्देश दिन्छ । धार्मिक आस्थाका दृष्टिले मात्र होइन, सामाजिक र नैतिक जीवनका दृष्टिले पनि दसैँको यो सन्देश उत्तिकै महत्त्वपूर्ण छ । तर चाडपर्व मनाउने क्रममा हामीले व्यवहारमा कति सत्य, न्याय र सदाचार अपनाएका छौँ भन्ने प्रश्न पनि उत्तिकै सान्दर्भिक छ ।

दसैँको आगमनसँगै रोजगारी, अध्ययन र व्यवसायका सिलसिलामा घरबाहिर रहेका नेपालीहरू आफ्नो जन्मथलो फर्कने क्रम सुरु हुन्छ । टाढिएका परिवारका सदस्य भेटिन्छन्, वृद्ध आमाबुबाले छोराछोरीको प्रतीक्षा गर्छन्, दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयता साटिन्छ र नयाँ पुस्ताले संस्कार तथा संस्कृति बुझ्ने अवसर पाउँछ। व्यस्त जीवनशैली र बढ्दो बसाइँसराइका कारण टाढिँदै गएका पारिवारिक सम्बन्धलाई नजिक ल्याउन दसैँले महत्त्वपूर्ण भूमिका खेल्छ । तर दसैँमा घर फर्कनु र टीका लगाउनु मात्र पर्याप्त हुँदैन । परिवारका ज्येष्ठ नागरिकको सम्मान, बालबालिकाप्रतिको स्नेह, दुःखी र असहायप्रतिको सहयोग तथा आपसी मनमुटाव अन्त्य गर्ने प्रयासले मात्र पर्वको वास्तविक अर्थ स्थापित हुन्छ । यस वर्ष पनि दसैँ मनाउने तयारीसँगै बजारमा खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, यातायात भाडामा मनपरी तथा यात्रुको चापका कारण देखिने असहजताप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । चाडपर्व नागरिकलाई खुसी दिने अवसर हुनुपर्नेमा व्यापारी र यातायात व्यवसायीका लागि अनुचित नाफा कमाउने माध्यम बन्नु हुँदैन । विशेषगरी विपन्न परिवार, ज्यालादारी मजदुर र न्यून आय भएका नागरिकका लागि दसैँको खर्च व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको छ । बजार अनुगमन, मूल्य नियन्त्रण, गुणस्तरीय वस्तुको उपलब्धता र सुरक्षित यातायातको व्यवस्था राज्यको दायित्व हो । चाडपर्वको नाममा हुने ठगी, कालोबजारी र यात्रुमाथिको शोषण रोक्न प्रशासन, उपभोक्ता अधिकारकर्मी र सरोकारवाला सबै सक्रिय हुनुपर्छ ।

वर्षायामको बाढीपहिरो र सडक अवरोधले घर फर्कने यात्रुलाई थप जोखिममा पार्न सक्छ । त्यसैले सडकको अवस्था सुधार, जोखिमयुक्त क्षेत्रमा सावधानी, सवारीसाधनको प्राविधिक परीक्षण तथा क्षमताभन्दा बढी यात्रु नराख्ने व्यवस्था प्रभावकारी बनाउनुपर्छ । यात्रु आफैँले पनि सुरक्षित यात्रालाई प्राथमिकता दिनुपर्छ । पर्व मनाउने हतारमा जीवनलाई जोखिममा पार्नु बुद्धिमानी होइन । दसैँमा देखावटी खर्च, प्रतिस्पर्धा र अनावश्यक तडकभडक बढ्दै जानु अर्को चिन्ताको विषय हो । ऋण लिएर भए पनि महँगा लत्ताकपडा किन्ने, भोजभतेरमा अनावश्यक खर्च गर्ने र अरूसँग तुलना गरेर पर्व मनाउने प्रवृत्तिले परिवारमा आर्थिक भार थप्न सक्छ । आफ्नो आर्थिक क्षमताअनुसार खर्च गर्ने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने र आवश्यकतामा परेकालाई सहयोग गर्ने संस्कार विकास गर्नुपर्छ । दसैँको खुसी महँगो उपहार र ठूलो भोजमा होइन, आत्मीयता, सन्तुष्टि र पारिवारिक एकतामा खोज्नुपर्छ । आज घटस्थापनासँगै सुरु भएको बडादसैँले सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सद्भाव ल्याओस्। धार्मिक आस्था र सांस्कृतिक परम्पराको संरक्षणसँगै सामाजिक विकृति, विभेद र असमानता हटाउने संकल्प पनि यस पर्वले जगाउनुपर्छ । टीका र जमरासँगै मानवीयता, सदाचार र परोपकारको भावना ग्रहण गर्न सक्यौँ भने मात्र दसैँको सन्देश सार्थक हुनेछ । चाडपर्वको उल्लास सबैको घरमा पुग्ने वातावरण निर्माण गर्नु राज्य, समाज र प्रत्येक नागरिकको साझा जिम्मेवारी हो ।

  • २०८३ आश्विन २५, आईतवार