• २०८३ कार्तिक ११, मंगलवार
  • 2026 October 27, Tuesday

विपद् आउनुअघि नै सचेत बनौँ

  • २०८३ कार्तिक ११, मंगलवार

सम्पादकीय ।  प्रकृतिको प्रकोप रोक्न मानिसको हातमा छैन, तर त्यसबाट हुने क्षति न्यूनीकरण गर्न भने समयमै सावधानी अपनाउन सकिन्छ । विपद् आइसकेपछि उद्धार र राहतमा जुट्नुभन्दा विपद् आउनुअघि नै सम्भावित जोखिम पहिचान गरी सतर्कता अपनाउनु बुद्धिमानी हो । अहिले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिनु यसैको उदाहरण हो । मौसमविद्हरूले आगामी दिनमा तीनवटा मौसमी प्रणालीको संयुक्त प्रभाव पर्न सक्ने आकलन गर्दै विभिन्न क्षेत्रमा भारी वर्षाको जोखिम औँल्याएका छन् । यस्तो अवस्थामा सरकारदेखि सर्वसाधारणसम्म सबै सचेत र जिम्मेवार बन्न आवश्यक छ । मौसमविद्हरूको प्रारम्भिक विश्लेषणअनुसार कात्तिक १२ देखि १५ गतेसम्म लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । केही क्षेत्रमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने आकलनसमेत गरिएको छ । यद्यपि, यो प्रारम्भिक पूर्वानुमान भएकाले वर्षाको मात्रा र प्रभावित क्षेत्र परिवर्तन हुन सक्छन् । त्यसैले पूर्वानुमानलाई अन्तिम सत्य मानेर त्रसित हुनु पनि उचित होइन, जोखिमको संकेतलाई सामान्य ठानेर बेवास्ता गर्नु पनि बुद्धिमानी होइन । आधिकारिक मौसम सूचना नियमित रूपमा हेर्ने र त्यसअनुसार आफ्नो गतिविधि व्यवस्थापन गर्नु नै सुरक्षित उपाय हो ।

वर्षा र हिमपातको सम्भावनाले सबैभन्दा बढी असर कृषि, यातायात र दैनिक जनजीवनमा पार्न सक्छ । यतिबेला धेरै किसान धान काट्ने, सुकाउने र भित्र्याउने तयारीमा छन् । खेतमा पाकेको धान पानीले भिजेमा उत्पादन र गुणस्तरमा असर पर्न सक्छ । वर्षभरि गरेको मेहनत र लगानी जोखिममा पर्न नदिन किसानले मौसमको पूर्वानुमानअनुसार कामको योजना बनाउनुपर्छ । सम्भव भएसम्म काटेको धान सुरक्षित ठाउँमा राख्ने, भिज्न नदिने र भित्र्याइसकेको अन्न सुरक्षित भण्डारण गर्ने व्यवस्था मिलाउनुपर्छ । मौसमको प्रतिकूलता किसानको नियन्त्रणमा नहोला, तर उपलब्ध सूचना र स्रोतको उपयोग गरेर क्षति घटाउने प्रयास गर्न सकिन्छ । वर्षासँगै तराईमा डुबान, पहाडी क्षेत्रमा बाढीपहिरो तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम बढ्न सक्छ । सडक अवरुद्ध हुने, नदीको बहाव बढ्ने र पहिरो खस्ने सम्भावना रहने भएकाले लामो दूरीको यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्था बुझ्नुपर्छ । अत्यावश्यक नभएसम्म जोखिमयुक्त समयमा यात्रा स्थगित गर्नु उपयुक्त हुन्छ । विशेषगरी पृथ्वी राजमार्ग, बीपी राजमार्गलगायत पहिरो र बाढीको जोखिम भएका सडकखण्डमा यात्रा गर्दा अतिरिक्त सावधानी अपनाउनुपर्छ । हिमाली क्षेत्रमा पदयात्रा गर्नेहरूले पनि मौसम अनुकूल नभएसम्म यात्रा स्थगित गर्नु बुद्धिमानी हुन्छ । यस्तो अवस्थामा सरकार र सम्बन्धित निकायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । मौसम पूर्वानुमान महाशाखा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय तह, सुरक्षा निकाय र सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय हुनुपर्छ । जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै सूचना पु¥याउने, उद्धार टोली तयारी अवस्थामा राख्ने, आवश्यक सामग्रीको व्यवस्था गर्ने र सम्भावित जोखिमको अनुगमन गर्ने काममा ढिलाइ हुनु हुँदैन । स्थानीय तहले आफ्नो क्षेत्रका जोखिमयुक्त बस्ती, नदीकिनार र पहिरो प्रभावित क्षेत्र पहिचान गरी आवश्यक सतर्कता अपनाउनुपर्छ ।

विपद् व्यवस्थापन सरकारको मात्र जिम्मेवारी होइन । नागरिकले पनि अफवाह फैलाउने होइन, आधिकारिक सूचना साझा गर्ने; जोखिमपूर्ण नदी, खोला र पहिरोको बाटोबाट टाढा रहने; बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिने गर्नुपर्छ । मौसमको चेतावनीलाई सामान्य ठानेर गरिने सानो लापरबाहीले ठूलो मानवीय र आर्थिक क्षति निम्त्याउन सक्छ । प्राकृतिक जोखिमलाई पूर्ण रूपमा रोक्न नसकिए पनि पूर्वतयारी, सूचना र सामूहिक जिम्मेवारीबाट क्षति घटाउन सकिन्छ । त्यसैले अहिलेको आवश्यकता त्रास होइन, सचेतना हो; हतार होइन, सुरक्षित निर्णय हो । विपद् आएपछि पछुताउनुभन्दा विपद् आउनुअघि नै सावधानी अपनाऔँ। आफ्नो ज्यान, परिवार, कृषि उत्पादन र सम्पत्तिको सुरक्षालाई पहिलो प्राथमिकतामा राखौँ ।

  • २०८३ कार्तिक ११, मंगलवार