• २०८३ कार्तिक २०, बिहीबार
  • 2026 November 05, Thursday

जुवातास नियन्त्रणमा प्रहरीको निगरानी सबैमाथि समान होस्

  • २०८३ कार्तिक २०, बिहीबार

सम्पादकीय । कानुनको दृष्टिमा सबै नागरिक समान हुन्छन् । व्यक्तिको पद, प्रतिष्ठा, आर्थिक हैसियत वा राजनीतिक पहुँचका आधारमा कानुनी व्यवहार फरक हुनुहुँदैन । कानुन कार्यान्वयन गर्ने निकायको निष्पक्षता र विश्वसनीयता पनि यही मान्यतामा निर्भर हुन्छ । बागलुङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई नियन्त्रणमा लिएपछि फेरि एउटा प्रश्न उठेको छ,– जुवातास नियन्त्रणको प्रहरी अभियान सबै ठाउँ र सबै व्यक्तिका हकमा समान रूपमा अघि बढ्छ कि बढ्दैन ? जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित एक घरमा छापा मारेर घरधनीसहित नौ जनालाई नगद एक लाख ६४ हजार ९२५ रुपैयाँ र ४३८ पत्ती ताससहित नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा गरेको यो कारबाहीलाई अवैध जुवातास नियन्त्रणको प्रयासका रूपमा सकारात्मक मान्न सकिन्छ । तर, पक्राउ पर्नु र कानुनी रूपमा कसुर प्रमाणित हुनु फरक विषय हुन् । त्यसैले घटनाको निष्पक्ष अनुसन्धान र प्रचलित कानुनअनुसारको प्रक्रिया महत्वपूर्ण हुन्छ । बागलुङ बजार र आसपासका क्षेत्रमा जुवातास खेल्ने तथा खेलाउने गतिविधि हुने गरेको चर्चा नयाँ होइन । विशेषगरी दसैँ, तिहारजस्ता चाडपर्वमा जुवातास खेल्ने प्रवृत्ति बढ्ने गरे पनि कतिपय स्थानमा यसलाई नियमित गतिविधिका रूपमा सञ्चालन गर्ने गरिएको चर्चा सुनिन्छ । समाजमा राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको जमघटमा समेत यस्ता गतिविधि हुने गरेको जनगुनासो सुनिने गरेको छ । यस्ता सूचना र गुनासोको सत्यतथ्य अनुसन्धान गर्नु प्रहरीको जिम्मेवारी हो । कुनै पनि व्यक्तिको सामाजिक हैसियत वा पहुँचका आधारमा अनुसन्धानको दायरा साँघुरो हुनुहुँदैन ।

प्रहरी प्रमुख परिवर्तनसँगै अवैध मदिरा उत्पादन तथा बिक्री, लागुऔषध र जुवातास नियन्त्रणका अभियान सुरु हुने गरेका उदाहरण छन् । केही समय प्रहरी सक्रिय देखिन्छ, पक्राउ र बरामदका समाचार आउँछन्, तर समयक्रमसँगै ती अभियानको प्रभावकारिता कमजोर हुँदै जाने गरेको गुनासो पनि सुनिन्छ । अपराध नियन्त्रण कुनै व्यक्तिको कार्यकाल वा तत्कालीन सक्रियतामा मात्र निर्भर हुनुहुँदैन । नियमित निगरानी, सूचना संकलन, निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियाको निरन्तरताले मात्रै यस्ता गतिविधि नियन्त्रण गर्न सकिन्छ । जुवातासले व्यक्तिको आर्थिक अवस्था कमजोर बनाउने, पारिवारिक सम्बन्धमा तनाव सिर्जना गर्ने र सामाजिक विकृति बढाउने जोखिम हुन्छ । मनोरञ्जनका नाममा सुरु हुने गतिविधि कतिपय अवस्थामा आर्थिक लेनदेन र पारिवारिक समस्याको कारणसमेत बन्न सक्छ । त्यसैले जुवातास नियन्त्रणलाई केवल प्रहरी कारबाहीका रूपमा मात्र नभई सामाजिक सचेतनासँग जोडेर अघि बढाउन आवश्यक छ । प्रहरीमाथि कहिलेकाहीँ पहुँचवाला व्यक्तिका गतिविधिप्रति पर्याप्त निगरानी नगरेको वा प्रभावशाली व्यक्तिमाथि कारबाही गर्न हिचकिचाएको आरोप लाग्ने गरेको छ । यस्ता आरोपको निरूपण अनुमान वा चर्चाका आधारमा होइन, निष्पक्ष अनुसन्धान र तथ्यका आधारमा हुनुपर्छ । बागलुङमा जुवातास खेलिने गरेको सूचना प्राप्त भएका सबै स्थानमा प्रहरीले समान रूपमा निगरानी गर्नुपर्छ । पछिल्लो घटनालाई आधार बनाएर अन्य सम्भावित गतिविधिको समेत अनुसन्धान अघि बढाउनु आवश्यक छ ।

अपराध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी होइन, नागरिकको पनि उत्तिकै दायित्व हो । चाडपर्वलाई शान्त, मर्यादित र पारिवारिक बनाउन जुवातास तथा मदिराको दुरुपयोगविरुद्ध सामाजिक सचेतना आवश्यक छ । प्रहरीले पछिल्लो कारबाहीलाई एकदिने अभियानमा सीमित नराखी निरन्तरता दिनुपर्छ । पक्राउ परेका व्यक्तिको हकमा पनि कानुनी प्रक्रिया र निर्दोष मानिने सिद्धान्तको सम्मान हुनुपर्छ । जुवातास नियन्त्रणको वास्तविक परीक्षा केही व्यक्तिलाई पक्राउ गर्नु मात्र होइन, यस्ता गतिविधि हुने सबै स्थानमा निष्पक्ष र समान रूपमा कानुन कार्यान्वयन गर्न सक्नु हो । पहुँच हुने र नहुने, प्रतिष्ठित र सामान्य नागरिक सबैका हकमा कानुनको व्यवहार समान हुनुपर्छ । प्रहरीप्रतिको जनविश्वास बढाउने आधार पनि यही हो ।

  • २०८३ कार्तिक २०, बिहीबार