सम्पादकीय। तिहार उज्यालो, उमङ्ग, आपसी सद्भाव र पारिवारिक मिलनको पर्व हो । झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, देउसी–भैलो र लक्ष्मीपूजासँगै तिहारमा मिठाईको विशेष महत्व हुन्छ । दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता साटासाट गर्ने भाइटीकादेखि लक्ष्मीपूजासम्म मिठाईको कारोबार पनि निकै बढ्छ । बागलुङ बजारमा मात्रै होइन, गलकोट, बुर्तिबाङ, कुश्मीसेरा, हटिया र जिल्लाका अन्य बजारमा समेत चाडपर्वको समयमा खाद्यवस्तुको कारोबार बढ्ने गर्छ । तर, यही उत्सवको समयमा उपभोक्ताको स्वास्थ्यभन्दा नाफालाई प्राथमिकता दिने प्रवृत्ति चिन्ताको विषय बनेको छ । पैसा तिरेर बजारबाट किनिएको मिठाई नै स्वास्थ्यका लागि जोखिमपूर्ण हुने अवस्था अन्त्य हुनुपर्छ । विगतका वर्षमा तिहार लक्षित मिठाई पसलको अनुगमन गर्दा सडेगलेका खाद्यवस्तु, म्याद गुज्रिएका कच्चापदार्थ, अखाद्य रङ र पटक–पटक प्रयोग गरिएको तेलबाट मिठाई तयार पार्ने गरेको भेटिएका उदाहरण छन् । बागलुङमा समेत विगतका बजार अनुगमनमा म्याद गुज्रिएका खाद्यवस्तु जफत गर्नुका साथै केही मिठाईमा उत्पादन र उपभोग्य मिति नखुलाइएको पाइएको थियो । यसले स्थानीय बजारमा समेत खाद्य स्वच्छता र उपभोक्ता हितको विषयलाई सामान्य रूपमा लिन नमिल्ने देखाउँछ ।
यस वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई पसलका लागि नयाँ मापदण्ड लागू गर्दै अनुगमन तीव्र बनाएको छ । विभागका अनुसार देशभर ४९७ मिठाई पसलको अनुगमन गर्दा ४३३ पसललाई आवश्यक निर्देशन दिइएको छ । मिठाईको नाम, प्रयोग भएका कच्चापदार्थ, तेल वा घिउको प्रकार, उपभोग्य अवधि र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ । नियम पालना नगर्ने व्यवसायीमाथि कानुनी कारबाही र जरिबानाको प्रक्रिया अघि बढाउने विभागको तयारी छ । यो व्यवस्था उपभोक्ताको अधिकार संरक्षणका लागि सकारात्मक कदम हो । तर, यसको प्रभावकारिता बागलुङका बजारमा समेत देखिनुपर्छ । बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता अधिकारसँग सम्बन्धित निकायले संयुक्त रूपमा बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ । कालिका भगवती मन्दिरमा आउने भक्तजन, पञ्चकोट, लामो पुल र अन्य पर्यटकीय स्थलमा घुम्न आउने पर्यटक तथा स्थानीय उपभोक्ताले खरिद गर्ने खाद्यवस्तुको गुणस्तरमा विशेष ध्यान दिनुपर्छ । चाडपर्वमा मात्रै होइन, वर्षभरि बजारमा बिक्री हुने मिठाई, दूधजन्य पदार्थ, तेल, घिउ, मासु र अन्य उपभोग्य वस्तुको नियमित परीक्षण आवश्यक छ । मिठाईको गुणस्तर कागज वा शोकेसमा विवरण टाँस्दैमा सुनिश्चित हुँदैन । उत्पादनस्थलको सरसफाइ, कच्चापदार्थको गुणस्तर, भण्डारण र बिक्री वितरणको अवस्थासमेत जाँच्नुपर्छ । अनुगमनमा कैफियत भेटिए सुधारका लागि दिइएको निर्देशन कार्यान्वयन भए–नभएको पुनः परीक्षण गर्नुपर्छ । नियम उल्लंघन गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही गर्नुपर्छ । राम्रो अभ्यास गर्ने व्यवसायीलाई प्रोत्साहन पनि गर्नुपर्छ ।
यो जिम्मेवारी सरकार र व्यवसायीको मात्र होइन, उपभोक्ता पनि सचेत हुनुपर्छ । सस्तो मूल्य र आकर्षक देखावटको लोभमा गुणस्तर नखोजी खाद्यवस्तु खरिद गर्ने प्रवृत्ति बदल्नुपर्छ । मिठाईको उत्पादन, प्रयोग भएका सामग्री, मूल्य र उपभोग्य अवधि हेरेर मात्र खरिद गर्ने बानी बसाल्नुपर्छ । शङ्कास्पद वा गुणस्तरहीन खाद्यवस्तु बिक्री भएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउनुपर्छ । चाडपर्वको रमझममा खानपानको सन्तुलन र स्वास्थ्य सुरक्षालाई पनि उत्तिकै महत्व दिन आवश्यक छ । अत्यधिक चिल्लो, गुलियो र अस्वस्थकर खाद्यवस्तुको सेवनले स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ । स्थानीय उत्पादन र स्वच्छ खाद्यवस्तुको प्रयोगलाई प्रोत्साहन गर्दै उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ । तिहारको वास्तविक मिठास आपसी प्रेम, सद्भाव र आत्मीयतामा हुन्छ, मिसावटयुक्त मिठाईमा होइन । उपभोक्ताले पैसा तिरेपछि गुणस्तरीय र सुरक्षित खाद्यवस्तु पाउनु अधिकार हो, व्यवसायीको कृपा होइन । बागलुङका बजारलाई स्वच्छ, व्यवस्थित र उपभोक्तामैत्री बनाउने जिम्मेवारी सम्बन्धित निकायले पूरा गर्नुपर्छ । तिहारको उज्यालोसँगै बजारमा पनि शुद्धता र इमानदारीको उज्यालो फैलिनुपर्छ । दिपावलीको हार्दिक शुभकामना ।