बागलुङ । बागलुङ नगरपालिकाको ४ स्थित नियरघाटमा आगामी मंसिर ३ देखि ५ गते सम्म ऐतिहासिक एकादशी मेला संचालन हुने भएको छ ।
मेला व्यवस्थापनका लागि मानव सेवा आश्रमको निरयधाम गुरुयोजना विकास समितिको भेलाले बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काको संयोजकत्वमा १ सय १ सदस्यीय मूल समिति गठन गरेको छ । समितिमा जलजला गाउपालिकाका उपाध्यक्ष दिपक आचार्य र मानव सेवा आश्रम अभिभावक समितिका संयोजक निर्मल श्रेष्ठ सह संयोजक तथा खुशी मन बागलुङका अध्यक्ष नारायण प्रसाद आचार्य सदस्य सचिव रहनु भएको छ । भेलाले राम प्रसाद आचार्यलाई तोरण व्यवस्थापन उप समिति संयोजक, हरी प्रसाद शर्मालाई पुजा संचालन उप समिति संयोजक, टेक बहादुर क्षेत्रि संगमलाई भजन संचालन उप समिति संयोजक तथा किशोर थापालाई भलिबल संचालन उप समिति संयोजक लगायतका उप समितिहरु गठन गरी जिम्मेवारी दिइएको संयोजक राजु खड्काले जानकारी दिनुभयो ।
मेलाको अवसरमा तुलसी बिवाह, अन्तरपालिका भलिबल प्रतियोगिता, प्रसादी तथा भोजन सेवा, भजन लगायत सास्कृतिक गतिविधीहरु संचालन गरिने संयोजक खड्काले जानकारी दिनुभयो । मेलाको मुख्य दिन मंसिर ४ गते हरिवोधिनी एकादशीको विशेष दिन आयोजकबाट कालिगण्डकी नदीमा तोरण तार्ने कार्यक्रम रहेको छ ।
सो दिन विभिन्न स्थानहरुबाट भक्तजनहरुले तोरण तार्नका लागि बाजा गाजा तथा भजन किर्तन सहित निरयघाटमा स्नान, जप, ध्यान तथा पुजा अर्चनाका लागि जाने परम्परा रहेको छ ।